म्याग्दीको सदरमुकाम बेनीमा जारी आठौं म्याग्दी महोत्सव, माघे संक्रान्ति मेलामा म्याग्दी बहुमुखी क्याम्पसमा बिएड दोस्रो वर्षमा अध्ययनरत अस्मिता भण्डारी चिया बनाएर बेच्छिन् । गत पुस २८ गते सुरू भएको महोत्सवस्थलमा उनी हरेक दिन बिहानै पुग्छिन् । महोत्सवमा स्टल नं १३० नम्बरमा अस्मितासँगै क्याम्पसमा बिएड चौथो वर्षमा अध्ययनरत एलिसा बरुवाल सहितको टोलीले चिया, नास्ता, फलफुल बनाएर ग्राहकलाई पुर्याउन हतारिन्छन्। महोत्सवस्थलमा विद्यार्थीले आफ्नो घरमा उत्पादन गरेको साम्रगीहरू समेत बिक्री गरेका छन् ।
म्याग्दी बहुमुखी क्याम्पसले पढाइसँगै कमाउने सिप हस्तान्तरण गर्ने गरी विद्यार्थीहरुको लागि उद्यमशिलता विकास कार्यक्रममा सहभागि भएका विद्यार्थीहरूको सक्रियतामा सञ्चालित स्टलले उनीहरुलाई उद्यमशिलतामा लाग्न प्रोत्साहन समेत गरेको छ ।
बेनी नगरपालिका–५, डडुवामा मौरीपालन गर्ने एमबिएस चौथो सेमेस्टरमा अध्ययनरत सुजता खत्रीले घरमै उत्पादन गरेको महको प्रवद्र्धन र अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा आफ्नै प्रयासमा गरेको सुन्तलालाई बिएड चौथो वर्षमा अध्ययनरत बिशाल बिकले स्टलमै ल्याएर बिक्री गरेका छन् ।
‘मैले स्वदेशमै केही गर्ने सोच बनाएर उद्यमशिलता तालिम लिएको थिए । अब उत्पादनलाई प्राथमिकता दिन्छौ । यो महोत्सवमा राखेको स्टलबाट धेरैसँग घुलमिल हुने, सिक्ने अवसर पाएको छु’ विद्यार्थी बिशाल बिकले भने । उनले महोत्सवमा बिक्री वितरणसँगै ग्राहकसँग कसरी घुलमिल हुने, ग्राहकको रोजाई लगायत विभिन्न पक्षमा जानकारी लिने अवसर मिलेको बताए ।
प्रभु वैंकको आर्थिक सहयोगमा विद्यार्थीहरुमा उद्यमशिलता विकास गर्न आइडिया स्टुडियो नेपाल र म्याग्दी बहुमुखी क्याम्पसबीच भएको सहकार्यको सम्झौतामा सञ्चालित तालिममा सहभागी भएकामध्ये विद्यार्थीहरुमा व्यवसायिक सोचको विकास गरी आत्मनिर्भर वनाउनको लागि पाँच सदस्य भएको उद्यमशिलता क्लव २०८१ समेत गठन गरिएको थियो ।
उद्यमशिलता सोच, योजना र कार्यान्वयनको भावना विकास गर्न विद्यार्थीलाई सघाउने गरिएको म्याग्दी बहुमुखी क्याम्पस प्रमुख श्रीधर सुवेदीले बताए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले विद्यार्थीलाई व्यवसायिक योजना र कार्यान्वयनमा तालिममा समेत सहभागि भएर जानकारी दिइएको र आगामी दिनमा समेत सघाउने बताए । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ३ महिना भन्दा बढी उद्यमशीलता तालिम र स्थलगत भ्रमण लगायतका कार्यक्रम सञ्चालन गरी तयार पारिएका उत्कृष्ट पाँचवटा व्यवसायिक योजनाहरु प्रतिस्पर्धाको लागि विश्वविद्यालय अनुदान आयोगमा समेत पठाएको छ ।
प्रकाशित: ७ माघ २०८१ १७:३४ सोमबार