अर्थ

‘घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गरौँ’

घरजग्गा व्यवसायलाई पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।  वागमती प्रदेशको राजधानी हेटौंडामा चलेको दुई दिने अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले घरजग्गा व्यवसायलाई उत्पादनमूलक र पूर्वाधार निर्माण उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिएका हुन्। 

उनीहरूले घरजग्गा महासंघले संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी रियल स्टेट व्यवसायलाई सम्मानित र मर्यादित बनाउनुपर्ने आवश्यकता रहेको बताए।  कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडामा अब पनि निजी क्षेत्रलाई समेटेर लगानी प्रवर्द्धन गर्न नसके बागमती प्रदेशको राजधानी नाम मात्रैको राजधानी हुने तर्क गरे। उनले भने, ‘निजी क्षेत्रलाई हेटौंडामा समेट्न नसके हाम्रो प्रदेशको राजधानी नामको मात्रै राजधानी रहनेछ।  स्थानीय सरकारले जनतालाई सेवा दिने भएकाले स्थानीय सरकारले दुःख दिने सवाल नै हुँदैन।  के सहयोग गर्नुपर्छ हामी गर्नेछौँ।’ 

कार्यक्रममा बोल्दै नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अपार्टमेन्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गर्ने अवधारणासहित आफूहरू हेटौँडा पुगेको उल्लेख गरेका छन्। उहाँले प्रदेश र स्थानीय सरकारले महासंघका अवधारणा स्वीकार गर्ने र सहयोग गर्ने भनिसकेको भन्दै अब हेटौंडामा जग्गा तथा आवासमा लगानी बढ्ने विश्वास व्यक्त गरे।

उनले भने, ‘अपार्टमेन्ट, हाउजिङ र व्यवस्थित ल्याण्डपुलिङ गरौँ भन्ने अवधारणाका साथ हामी आएका छौँ।  धेरै साथीहरू, स्थानीय तह, प्रदेश सरकार सबैले हामीलाई तपाईंहरूको भिजनलाई स्वीकार गर्छौं, सहयोग गर्छौं भन्ने आश्वासन दिनुभएको छ।’ हेटौँडालाई नमूना शहरको रुपमा विकास गर्नुपर्नेमा सरोकारवालाहरूले जोड रहेको थियो। 

प्रकाशित: ५ माघ २०८१ ११:५२ शनिबार

#NagarikNews