अर्थ

दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई तिर्‍यो १ करोडभन्दा बढी सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ।

संस्थानले २०८१ पुस २८ गतेको मूल्याङ्कनअनुसार वडा २६, लैनचौर कार्यालयमा बिहीबार १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो।

वडा सचिव केदार रिमालका अनुसार आर्थिक वर्ष २०४९/०५० देखि २०८१/०८२ सम्मको घरजग्गा तथा सम्पत्ति करको मूल्याङ्कन गरी यो कर तिर्ने प्रक्रिया पूरा भएको हो।

महानगरपालिकाले सरकारको स्वामित्वमा रहेका १२ व्यवसायिक संघसंस्थालाई सम्पत्ति कर दाखिला गर्न पत्राचार गरेको थियो। राजस्व विभागका प्रमुख दीपक अधिकारीका अनुसार महानगरपालिकाले जारी गरेको राजस्व ऐन २०७५ तथा आर्थिक ऐनहरूले सम्पत्ति करका दर, संकलन प्रक्रिया, र कार्यान्वयनको आधार प्रदान गरेका छन्।

राजस्व विभागले नियमित कर नतिर्ने करदातालाई बक्यौता कर असुल गर्न कानुनी प्रावधानअनुसार पहल गर्ने जानकारी दिएको छ। ऐनअनुसार, पहिलो चरणमा ३५ दिनको समय तोकी पत्र, इमेल, वा म्यासेजमार्फत कर दाखिला गर्न अनुरोध गरिन्छ। आवश्यक परेमा १० दिन थप्न सकिने व्यवस्था छ।

त्यसपछि पनि कर दाखिला नगरेमा २१ दिने सार्वजनिक सूचना जारी गरिनेछ। त्यस अवधिमा पनि कर नतिरेमा ७ दिने सूचना टाँस गरी अन्तिम चेतावनी दिइन्छ। यद्यपि, कर नतिर्ने करदाताको भवन वा कार्यालय सिलबन्दी गर्ने प्रावधान रहेको अधिकारीले स्पष्ट पारे।

घरजग्गा ऐन २०१९ र स्थानीय स्वायत्त शासन ऐन २०५५ बमोजिम काठमाडौं महानगरले २०४९ सालदेखि सम्पत्ति कर संकलन गर्दै आएको छ। संघीय संरचनामा गएपछि नेपालको संविधानको धारा २७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले सम्पत्ति करको अधिकार स्थानीय तहलाई दिएको छ।

काठमाडौं महानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ मा १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार रुपैयाँ आय भएको थियो। चालु आर्थिक वर्षमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको अनुमान गरिएको छ, जसअन्तर्गत माघ ३ गतेसम्म ५ अर्ब ५९ करोड ९८ लाख ९३ हजार २९६ रुपैयाँ संकलन भइसकेको छ।

महानगरले करदाताहरूसँग सहकार्य गरी सम्पत्ति करको दायरामा पारदर्शिता र दिगोपनाको सुनिश्चितता गर्ने उद्देश्य राखेको छ।

प्रकाशित: ३ माघ २०८१ २०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App