अर्थ

विराटनगर भन्सारको राजस्व असुली लक्ष नजिक, पुसमा उठ्यो लक्षको ९६ प्रतिशत

विराटनगर भन्सारको राजस्व असुली चालु आर्थिक वर्ष ०८१/८२ को पुस महिनामा लक्षको नजिक पुगेको छ । विगत दुई वर्ष देखि लक्षभन्दा निक्कै कम राजस्व संकलन गर्दै आएको विराटनगर भन्सारले चालु आर्थिक वर्षको पुस महिनामा लक्षको ९६. १७ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार पुस महिनाका लागि कार्यालयलाई ३ अर्ब ३१ करोड ९३ लाख ४७ हजार रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा कार्यालयले ३ अर्ब १९ करोड २० लाख २७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । गत वर्षको पुसमा कार्यालयलाई ४ अर्ब २८ करोड ४२ लाख ३३ हजार रुपैयाँको लक्ष तोकिएकोमा ३ अर्ब ३१ करोड ९३ लाख ३१ हजार रुपैयाँ मात्रै असुली गरेको थियो । चालु आर्थिक वर्ष राजस्व सङ्कलनको लक्ष घटाइएका कारण पनि राजस्व असुलीको प्रतिशत बढेको देखिएको हो ।

त्यसो त विराटनगर भन्सार कार्यालयले पुस महिनामा गत वर्षको भन्दा ३४ प्रतिशत  राजस्व संकलन बढाएको छ । चालु आर्थिक वर्षको अन्य महिनामा भने विराटनगर भन्सार कार्यालयको राजस्व असुलीको प्रतिशत लक्ष भन्दा टाढै रहेको देखिएको छ । पुस महिनामा औद्योगिक कच्चा पदार्थको आयात बढेका कारण भन्सारको राजस्व बढेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

नेपाली बजारमा औद्योगिक उत्पादनको माग बढ्दै गएको सङ्केत देखिन थालेको गुप्ताले स्पष्ट पारे । उनले एक महिनाको राजस्व वृद्धिका आधारमा विश्लेषण गरिहाल्नु छिटो हुने भए पनि औद्योगिक कच्चा पदार्थको आयात वृद्धिले निरन्तरता पाउने आशा गर्ने ठाउँ भने प्रशस्तै रहेको गुप्ताले बताए । उनले भने ‘एक महिना धेरै बढ्यो भनेर विश्लेषण गरिहाल्नु छिटो हुने भए पनि आगामी महिना पनि वृद्धिले निरन्तरता पाउने अपेक्षा भने गर्न सकिने आधारहरू पर्याप्त छ ।’

विराटनगर भन्सार कार्यालयले मंसिर महिनामा पनि लक्षको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो । मंसिर महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब २७ करोड ४५ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा कार्यालयले २ अर्ब ४४ करोड ४० लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । यस्तै कार्तिक महिनाका लागि ३ अर्ब ३२ करोड ९४ लाख ४८ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा कार्यालयले २ अर्ब ३८ करोड ७९ लाख ४४ हजार रुपैयाँ असुली गरेको थियो । जुन लक्षको ७१.७३ प्रतिशत हो । यस्तै असोज महिनामा विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ३१ करोड ४८ लाख ९० हजार रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा कार्यालयले २ अर्ब ४७ करोड ४७ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो । जुन लक्षको ७४.६६ प्रतिशत हो ।

यस्तै भदौ महिनाका लागि  ३ अर्ब ५८ करोड ११ लाख ८५ हजार  रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा २ अर्ब ४४ करोड ४२ लाख ६९ हजार  रुपैयाँ  संकलन गरेको छ । जुन लक्षको ६८.२६ प्रतिशत हो ।  साउन महिनामा ३ अर्ब २५ करोड५९ लाख ८९ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष राखेकोमा २ अर्ब ६२ करोड ४२ लाख ९३ हजार रुपैयाँ मात्रै असुली गरेको थियो । जुन लक्षको ८१.५७ प्रतिशत हो ।

चालु आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष ०८०/८१ को तुलनामा ३ प्रतिशतले राजस्व संकलन बढाएको छ । चालु आर्थिक वर्षको ६ महिनामा विराटनगर भन्सार कार्यालयले  १५ अर्ब ५६ करोड ७३ लाख २८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा  १५ अर्ब ४ करोड ४० लाख ७९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षको अर्धवार्षिक प्रगतिको तुलनामा चालु आर्थिक वर्ष राजस्वमा सामान्य  सुधार भए पनि विराटनगर कार्यालयको असुली  अझै लक्ष भन्दा धेरै टाढा देखिएको छ ।  विराटनगर भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको ६ महिनाका लागि  २५ अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँ लक्ष तोकिएको छ । कार्यालयले चालु आर्थिक वर्ष ०८१/८२ को ६ महिनामा लक्षको ७७.५५ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ । 

प्रकाशित: ३ माघ २०८१ १७:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App