अर्थ

सलहेस मन्दिर निर्माण अधुरै

पथरी शनिश्चरे–४ स्थित पासवान बस्तीमा सहलेस मन्दिर बन्न थालेपछि यहाँका स्थानीय निकै खुसी भएका थिए। विसं २०७७/७८ मा नगरपालिकाको एक लाख ७५ हजार र जनश्रमदानबाट मन्दिर बन्न सुरु भएपछि स्थानीय खुसी भएका थिए तर त्यो खुसी धेरै टिकेन। मन्दिर निर्माणको काम अधुरै रह्यो। पाँच वर्षदेखि त्यो काम ठप्पै छ।  

हालसम्म मन्दिर निर्माणमा कसैले सहयोग नगरेपछि स्थानीय पासवान समुदाय आक्रोसित छ। स्थानीय भागवत पासवानले मन्दिर निर्माण शुभारम्भ भए पनि त्यसले पूर्णता नपाएको र पछिल्लो नेतृत्वले यसतर्फ कुनै चासो नदेखाएको गुनासो गरे।  

मन्दिर निर्माणका लागि जग्गादान गरेका दिलीप पासवानले सलहेसको मन्दिर गाउँमै बनेपछि कुलपित्री र देवीदेवताको पूजापाठ हुने भनेपछि आफूले जग्गा दिएको स्मरण गरे। जग्गा दिए पनि मन्दिर निर्माणलाई प्राथमिकता नदिएकामा आफूलाई नरमाइलो लागिरहेको उनको भनाइ छ। 'सहलेस हाम्रो आस्थाको देउता हुन्। गाउँमै मन्दिर बन्ने र पासवान समुदाय नै लाभान्वित हुने भनेपछि जग्गा दिएको थिए तर मन्दिर निर्माण गर्ने आफ्नो सामर्थ्य छैन। अरूले सहयोग नगरेपछि निर्माण सुरु भएको मन्दिर पनि अलपत्र छ,' दिलीपले भने।  

मन्दिर निर्माण समितिका सचिव सञ्जय पासवानले आर्थिक अभावकै कारण काम अगाडि नबढेको सुनाए। यहाँ २५/३० पासवान परिवारको बसोबास छ। पूजापाठका लागि अफ्ठ्यारो भयो भनेर गुनासो गर्दा पनि कसैले सहयोग नगरेको उनले गुनासो गरे।

यहाँ विसं २०५४ मै मन्दिर निर्माणको योजना बनाइएको थियो। सोही योजनाअनुसार स्थानीय जोगिलाल पासवान र दिलीप पासवानले त्यसै वर्ष एक कट्ठा जग्गादान गरेका थिए। त्यसयता पटकपटक पहल गर्दा पनि मन्दिर निर्माण हुनसकेन। विसं २०७४ मा स्थानीय तहको निर्वाचनपछि काम सुरु भएको थियो। नगरको सहयोग र स्थानीय पासवान समुदायले रकम सङ्कलन गरेको रकमबाट मन्दिरको पिल्लर र छतसम्म निर्माण भयो तर बाँकी काम अगाडि बढ्न सकेको छैन। स्थानीय गुणबहादुर खड्काले सानो मन्दिर पनि वर्षौसम्म नबन्नु राम्रो नभएको बताए। रासस

प्रकाशित: ३ माघ २०८१ ०७:५२ बिहीबार

#Temple #NagarikNews