विश्वभरका होटल र पर्यटकीय गन्तव्यबारे जानकारी दिने साइट ‘ट्रिप एडभाइजर’ ले सन् २०२५ का उत्कृष्ट गन्तव्यको सूचीमा नेपालको काठमाडौंलाई समेटेको छ।
त्यस्तै पर्यटकले घुम्नै पर्ने सांस्कृतिक गन्तव्यमा पनि काठमाडौंलाई पारेको छ भने एकल (सोलो) पर्यटकको रोजाइको उत्कृष्ट गन्तव्यको सूँचीमा पनि काठमाडौं परेको छ।
ट्रिप एडभाइजरका अनुसार अन्य पर्यटकीय मुलुकसँगै नेपाल पनि घुम्नै पर्ने उत्कृष्ट गन्तव्यमा समेटिएको छ। ट्रिप एडभाईजरका अनुसार यो पटक काठमाडौं तीनवटा फरक विधामा उत्कृष्ट गन्तव्य मुलुकभित्र परेको छ।
पहिलो पटक समेटिएको सोलो पर्यटकको लागि उत्कृष्ट दशभित्रको दोस्रो नम्बरमा काठमाडौं समेटिएको छ। सोलो पर्यटकका लागि पहिलो गन्तव्य दक्षिण कोरियाको सिओल रहेको छ। दोस्रो नम्बरमा नेपालको काठमाडौं परेको छ। तेस्रोमा पेरुको कुस्को सहर परेको छ।
चौथो नम्बरमा थाइल्याण्डको बैंकक, पाँचौमा जापानको ओशाका, छैटौँमा युएईको दुबई, सातौमा जापानकै क्योटो सहर छन्। त्यस्तै आठौं नम्बरमा थाइल्याण्डकै चियाङमाइ, नवौंमा आइस्ल्याण्डको रेकजाभिक र दसौँमा अस्ट्रेलियाको मेलबर्न परेको ट्रिप एडभाइजरले उल्लेख गरेको छ।
ट्रिप एडभाईजरले आफ्नो २५ औं वर्षको अवसरमा यो पटक सोलो पटकको रोजाइमा परेका गन्तव्यको विधा थपेको छ। एक्लै यात्रा गर्ने पर्यटकले ती गन्तव्यलाई बढी रुचाएको ट्रिप एडभाइजरले उल्लेख गरेको छ।
दोस्रो नम्बरमा परेको काठमाडौंमा ऐतिहासिक र सांस्कृतिक धरोहर रहेको उल्लेख गरेको छ। नेपालको राजधानी समेत रहेको काठमाडौं उपत्यका ऐतिहासिक धरोहरले भरिएको छ। पुराना मन्दिर सहित पवित्र स्थल रहेका छन्। त्यसबाहेक विभिन्न कलाले पनि काठमाडौं सजिएको पनि उल्लेख छ।
त्यस्तै सांस्कृतिक गन्तव्यको रुपमा पनि काठमाडौंलाई ट्रिप एडभाईजरले सातौँ नम्बरमा राखेको छ। सांस्कृतिक गन्तव्यमा पहिलो नम्बरमा इन्डोनेसियाको बाली परेको छ।
दोस्रोमा भियतनामका हनोइ, तेस्रोमा बेलायतको लण्डन, चौथोमा मोरक्कोको मारकेख, पाचौंमा इटलीको रोम, छैटौँमा पेरुको कुस्को र सातौमा नेपालको काठमाडौं परेको छ। आठौँ नम्बरमा भने भारतको नयाँ दिल्ली, नवौंमा ग्रिसको क्रेट, दसौँमा क्याम्बोडियाको साइम रिप सहर परेका छन्।
त्यसैगरि ट्रिप एडभाइजरको २५ वर्ष अवधिका २५ उत्कृष्ट गन्तव्यमध्ये २१ नम्बरमा काठमाडौं परेको छ। काठमाडौं उपत्यका सांस्कृतिक मठ मन्दिरले भरिभराउ रहेको पनि ट्रिप एडभाइजरले उल्लेख गरेको छ।
सबैप्रकारका बजेट पर्यटकका लागि मिल्नेगरि होटल, बार र रेस्टुरेन्ट पनि काठमाडौंमा रहेको उल्लेख गरिएको छ। विभिन्न पसलले हस्तकला र कार्पेटका सामाग्री बेच्ने पनि उल्लेख गरिएको छ।
बस, ट्याक्सी र साइकल चढेर सहर घुम्न सक्ने पनि उल्लेख गरिएको छ। हिँडडुलको क्रममा बाँदर, मन्दिर र पुराना मठमन्दिर देख्न पाइने पनि विवरणमा उल्लेख छ। ठमेल क्षेत्रमा पदयात्राका लागि आवश्यक सबै सामाग्री पाइने पनि उल्लेख छ।
पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार ट्रिप एडभाइजरले हरेक वर्ष पर्यटकले घुम्नैपर्ने पर्यटकीय गन्तव्य चयन गर्ने क्रममा यो वर्ष नेपालको सङ्घीय राजधानी काठमाडौं तीनवटा फरक विधामा समेटिएको बताए।
‘लाखौं पर्यटकले दिएको प्रतिक्रियाको आधारमा ट्रिप एडभाइजरले हरेक वर्ष गन्तव्य र प्रडक्ट छनोट गर्छ। यो पटक नेपाल सोलो पर्यटक, सांस्कृतिक पर्यटकका लागि र उत्कृष्टको सूचीभित्र समेटिएको छ।
यसले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो साथ दिन्छ,’ उनले भने, ‘ट्रिप एडभाइजरले सबैभन्दा पर्यटकीय गन्तव्यबारे जानकारी र रिभ्यू गर्ने ठूलो निकाय मानिन्छ। यसको रिभ्यूलाई विश्वभरका पर्यटकले विश्वास गर्छन्। ट्रिप एडभाइजरले दिएको प्रतिक्रियाको आधारमा पर्यटक घुमघाममा निस्कन्छन्।’
उनका अनुसार यो पटक ट्रिप एडभाइजरले दुई नयाँ विद्या थपेर सात पुर्याउँदा सोलो पर्यटकका लागि काठमाडौं दोस्रो नम्बरमा परेको छ।
उनका अनुसार नेपालमा अहिले पनि सोलो पर्यटक कति संख्यामा आउँछन् भन्ने यकिन तथ्याङ्क छैन। तर, अनुमानित संख्यामा नेपाल भित्रिएका विदेशीमध्ये करिब ९ प्रतिशत सोलो पर्यटक हुने रहेको छ।
‘नौ प्रतिशत सोलो पर्यटक नेपाल आउने अनुमान छ, यो नराम्रो संख्या भन्न मिल्दैन,’ उनले भने, ‘विश्वको पर्यटनमा पनि २०२३ देखि २०३० सम्मको आङ्कलनमा सोलो पर्यटकको संख्या अहिलेको तुलनामा ९.१ प्रतिशत बढ्ने अनुमान छ। नेपालमा भित्रिनेको संख्या पनि नराम्रो होईन।’
उनका अनुसार सोलो पर्यटक आफ्नै हिसाबले मनमौजी तरिकाले घुम्ने गर्छन्। ‘एक्लै हिँड्न रुचाउने भएकोले उनीहरु हत्तपत्ति समूहमा बस्न पनि चाँहदैनन,’ उनले भने, ‘आफ्नो रुचि भएको गन्तव्यमा जाने, खाने, पिउने उनीहरूको चाहना हुन्छ।’
उनका अनुसार आफूलाई रुचि लागेको ठाउँमा पुग्ने पनि उनीहरूको चाहना हुन्छ। सोलो पर्यटक बढी जसो अमेरिकन र युरोपियन हुने पनि उनले बताए।
‘कतिपयलाई भिडभाड मन नपर्न पनि सक्छ। एक्लै यात्रा गर्न रुचाउने चलन बढिरहेको छ,’ उनले भने, ‘कतिपयलाई परिवार र साथीभाइले साथ नदिँदा एक्लै यात्रा गर्न बाध्यता पनि आइपर्छ। सबैको घुमघामको समय एकैपटक पर्छ भन्ने पनि होईन।’
नयाँ नयाँ गन्तव्य पहिचान गर्ने चाहना भएका पर्यटक एक्लै यात्रा गर्न रुचाउने लामिछानेले बताए। नयाँ अनुभव बटुल्ने, स्वतन्त्र रुपमा यात्रा गर्न पाइने भएकोले पनि एक्लै यात्रा गर्ने चाहना पछिल्लो समय विभिन्न मुलुकका पर्यटकमा बढ्दै गएको पनि लामिछानेको भनाई छ।
लामिछानेले ट्रिप एडभाईजरको यो सूँचीमा समेटिँदा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए। ‘लाखौं फलोअर्स रहेको साइटले नेपालको काठमाडौंलाई उत्कृष्ट गन्तव्यभित्र समेट्दा स्वतः पर्यटन प्रवर्द्धनमा सघाउ पुग्छ,’ उनले भने, ‘पर्यटकले विश्वास गरेकै आधारमा यो सूची तयार हुने हो। त्यसैले यसले अझ बढी प्रवर्द्धनमा सघाउँछ। आगामी दिनमा थप पर्यटक भित्र्याउन सहयोग पुग्छ।’
प्रकाशित: १ माघ २०८१ १८:३४ मंगलबार