अर्थ

१७ बैंकको ब्याददर यथावत्, वाणिज्य बैंकको नाफा साढे ३० अर्ब

बैंकमा अधिक तरलता भए पनि चालु आवको पाँच महिनामा वाणिज्य बैंकहरूले करिब साढे ३० अर्ब रूपैयाँ नाफा कमाएका छन्। कात्तिकको तुलनामा मंसिरमा नाफा वृद्धि भएको छ।

मंसिरसम्म वणिज्य बैंकहरूले ३० अर्ब ५९ करोड रूपैयाँ खुद नाफा आर्जन गरेका छन्। चालु आवको कात्तिकको तुलनामा मंसिरमा बैंकहरूको नाफा ३७ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार नबिल बैंकले पाँच महिनामा करिब तीन अर्ब ५० करोड रूपैयाँ खुद नाफा कमाएको छ। वित्तीय विवरण अनुसार खुद नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ।

ग्लोबलले दुई अर्ब ८३ करोड रूपैयाँ खुद नाफा आर्जन गरेको छ। नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको नाफा दुई अर्ब ४९ करोड रूपैयाँ, कुमारी बैंकको एक अर्ब ९९ करोड रूपैयाँ, प्राइम कमर्सियलको एक अर्ब ९७ करोड रूपैयाँ, एभरेष्ट बैंकको एक अर्ब ९४ करोड रूपैयाँ, एनएमबी बैंकको एक अर्ब ९० करोड रूपैयाँ, प्रभु बैंकको एक अर्ब ८४ करोड रूपैयाँ, नेपाल बैंक लिमिटेडको एक अर्ब ५१ करोड रूपैयाँ रहेको छ । त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा एक अर्ब ३७ करोड रूपैयाँ करोड रूपैयाँ, नेपाल एसबिआई बैंकको एक अर्ब ३४ करोड, हिमालयन बैंकको एक अर्ब ३३ रूपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ८६ करोड ७२ लाख रूपैयाँ, सिद्धार्थ बैंकको ९७ करोड ९० लाख रूपैयाँ नाफा रहेको छ। 

त्यसैगरी, सिटिजन्स इन्टरनेसनल बैंकको ६९ करोड ४९ लाख रूपैयाँ, सानिमा बैंकको ९० करोड ४१ लाख रूपैयाँ खुद, माछापुच्छ«े बैंकको ८२ करोड ७४ लाख रूपैयाँ र एनआइसी एसिया बैंकको ६३ करोड ३४ लाख रूपैयाँ नाफा रहेको छ। अरू बैंकले नाफा कमाए पनि कृषि विकास बैंक भने नोक्सानमा गएको राष्ट्र बैंकको प्रारम्भिक वित्तीय विवरणले देखाउँछ । यता निरन्तर घट्दै आएको बैंकको ब्याजदर माघमा भने यथावत् हुने भएको छ। २० वटा वाणिज्य बैंकमध्ये १७ वटा बैंकले माघका लागि ब्याजदर स्थिर राखेका छन्। दुई वटा बैंकले बढाएका छन् भने एक बैंक घटाएको छ।

एसबीआई र कृषि विकास बैकले ब्याजदर घटाएका छन् भने लक्ष्मी सनराइनले बढाएको छ। अन्य १७ वटा बैंकको ब्याजदर यथावत् रहेको छ । नेपाल एसबिआई बैंकले ब्याजदर ०.५० प्रतिशत घटाएको छ। एसबीआईले व्यक्तिगत निक्षेप र संस्थागत निक्षेप दुवैतर्फ ०.५० प्रतिशत ब्याजदर घटाएको हो। पुसमा एसबिआई बैंकले व्यक्तिगत निक्षेपका लागि ६ र संस्थागत निक्षेपका लागि पाँच प्रतिशत ब्याजदर तोकेको थियो। बैंकले माघ महिनामा व्यक्तिगततर्फ ५.५० र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।

लक्ष्मी सनराइज बैंकले पुसमा निक्षेपमा ५.५ प्रतिशत ब्याजदर दिएकोमा माघमा ५.७५ प्रतिशत दिने भएको छ। यसैगरी कृषिले ५.५७ दिएकोमा ५.५१ र एसबिआईले ६ दिएकोमा ५.५ प्रतिशत दिने भएको छ। पुसमा लक्षी सनराइजले व्यक्तिगततर्फ ५.५० प्रतिशत ब्याजदरतोकेको थियो। 
ग्लोबल आइएमई र नबिल बैंकले व्यक्तिगततर्फ ५.५७ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। यसैगरी, कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदरलाई कायम राखेको छ। 

त्यसैगरी, माछापुच्छ्रे बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ चार प्रतिशत ब्याजदर, सिद्धार्थ र एभरेष्ट बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ पाँच प्रतिशत ब्याजदर, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५० प्रतिशत, सानिमा बैंकले व्यक्तिगततर्फ ६.०५ र संस्थागततर्फ ४.३० प्रतिशतलाई निरन्तरता दिएका छन्। 

त्यसैगरी, प्रभु बैंकले व्यक्तिगततर्फ ६.१० र संस्थागततर्फ ५.१०, प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ चार प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ३.२५ र हिमालयन बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.१० प्रतिशत , एनएमबी र एनआईसी एसिया बैंकले व्यक्तिगततर्फ ६.६० र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरलाई कायम गरेको जनाएका छन् ।

प्रकाशित: १ माघ २०८१ ०८:४२ मंगलबार

#NagarikNews #NagarikDaily