अर्थ

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै

बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । राष्ट्र बैंकले आइतबार बोलकबोल माध्यमबाट रकम प्रशोचन गर्न लागेको हो ।

माघ २० गते सावाँब्याजसहित फिर्ता हुने गरी रकम खिच्न लागेको हो । राष्ट्र बैंकले नियमित निक्षेप संकलनमार्फत् तरलता प्रशोचन गर्ने भएको हो । बैंक एक सूचना जारी गर्दै २१ दिनका लागि बोलकबोलमा रकम खिच्न लागेको जनाएको छ ।  

स्वीकृत भएका बोलपत्रबापत रकम बैंकले सम्बन्धित काउण्टर पार्टीको राष्ट्र बैंकमा रहेको खाता खर्च गरी लिनेछ ।  

समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो–रेट बेसिस’मा बाँडफाँट गर्ने राष्ट्र बैंकले जनाएको छ ।

गत बुधबार राष्ट्र बैंकले ८० अर्बको तरलता प्रशोचन गर्न कबोल माग गरेकामा ६३ अर्ब ५५ करोड रुपैयाँको मात्र आवेदन परेको थियो ।  

बैंक तथा वित्तीय संस्थाबाट संकलन हुने निक्षेपको ब्याजदर पनि बोलकबोलमार्फत् नै तय हुनेछ । बोलकबोलमार्फत् खिचिएको निक्षेपको ब्याजदर अधिकतम ३ र न्यूनत २।९८ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार निक्षेप संकलनमार्फत् २ खर्ब ३२ अर्ब र स्थायी निक्षेप सुविधामार्फत् ६४ अर्ब रुपैयाँ खिचेर राखेको छ ।

प्रकाशित: २८ पुस २०८१ १४:३२ आइतबार

#Nepal Rastra Bank