अर्थ

पटके सेवा विस्तार गर्दै लुम्बिनी सरकार

बाह्य पर्यटकलाई रुट परमिटको असहजता

देउखुरीको रिहारमा अचेल भारतीय पर्यकको भिडभाड छ। माघी पर्वका अवसरमा लाग्ने मेलामा बाह्य पर्यटक भारतबाट उल्लेख्य रूपमा भारतीय नागरिक जिल्ला भित्रिन्छन्। भारतीयहरूले यो बेला रिहारमा रहेको बगार बाबा मन्दिर दर्शनको महत्व राख्दै आएका छन्। यससंगै प्यूठानस्थित स्वर्गद्वारी दर्शन समेत भारतीय पर्यटकका लागि प्राथमिकतामा रहँदै आएको छ।

दाङको बगारबाबा र प्यूठानको स्वर्गद्वारी दर्शनका लागि भारतीयहरू दाङको भारतीय नाका कोइलावासबाट उल्लेख्य रूपमा प्रवेश गरिरहेका छन्। यो नाकाबाट साना तथा मझौला सवारी साधन लिएर नेपाल भित्रिने भारतीय पर्यटकहरूका लागि यहाँ यात्रा गर्दा अपनाउनु पर्ने सवारी नियम पालना गर्न भने सहज देखिन्न। नेपालमा सवारी साधन चलाउँदा सवारी ऐनले अस्थायी रुट इजाजत लिनुपर्ने हुन्छ।  

तर जिल्लाको कोइलावास नाकामा इजाजतका लागि अनुमति लिने व्यवस्था अहिलेसम्म छैन। यो नाकाबाट भित्रिने भारतीय गाडीहरू झण्डै ५० किलोमिटर टाढा पर्ने भालुवाङस्थित यातायात सेवा कार्यालय पुग्नुपर्ने हुन्छ। ‘कोइलावासबाट भित्रिने सवारी साधनहरूका लागि कोइलावासमै इजाजजत (पटके अनुमति सेवा) दिने व्यवस्था छैन,’ यातायात सेवा कार्यालयका भीम पोख्रेल भन्छन्, ‘भालुवाङस्थित हाम्रो कार्यालयमा आएर इजाजत लिएर उनीहरू पुनः पश्चिम पर्ने बगारबाबाको दर्शनका लागि रिहार तर्फ जाने गरेका छन्।’ यो नाकामै इजाजत दिने सेवा भएको भए उनीहरू लमही हुँदै सोझो बाटो रिहार पुग्न सहज हुन्थ्यो, तर त्यहाँ यो सेवाको व्यवस्था नहुँदा उनीहरू लमही हुँदै पूर्व भालुवाङ पुगेर अनुमति लिने र पुनः पश्चिम तर्फ जानु पर्ने बाध्यता रहँदै आएको छ।

भालुवाङस्थित यातायात सेवा कार्यालयबाट पटके सेवा लिने भारतीय गाडीहरू कोइलावासबाट मात्रै हैन, कपिलवस्तुको कृष्णनगर नाकाबाट भित्रिने गाडीहरू हुन्छन्। यो नाकामा पनि सवारी इजाजत अनुमति दिने राज्यको निकाय अहिलेसम्म छैन। ‘कृष्णनगर नाकाबाट प्रवेश गर्ने भारतीय गाडीहरू समेत पटके सेवा लिन हाम्रो कार्यालयमा आउने गरेका छन्,’ पोख्रेल भन्छन्, ‘यो नाकामा पनि पटके सेवा छैन।’

पर्यटन क्षेत्रलाई प्रदेशको समृद्धिको प्रमुख आधारका रूपमा उल्लेख गर्दै आएको लुम्बिनी सरकारले भारतीय पर्यटकको आगमन बढाउने लक्ष्य लिएको छ। फलतः भारतीय पर्यटकहरूको सहज आगमनका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले पटके जाँच सेवा विस्तारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। मन्त्रालयले केही समयअघि मात्रै कोहलपुरमा यातायात सेवा कार्यालय राखेर पटके जाँच सेवालाई विस्तार गरेको छ। ‘भारतीय पर्यटकहरूको सहज आवागमनका लागि पटके सेवालाई समेत विस्तार गर्नु र्ने आवश्यक्ता देखिएको छ,’ उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘हामीले बाँकेको कोहलपुरमा यातायात सेवा कार्यालय विस्तार गरेर पटके सेवालाई विस्तार गरेका छौँ।’

मन्त्रालयले दाङको कोइलावास नाकामा समेत यो सेवा विस्तार गर्ने योजना बनाएको छ। यो नाकाबाट नेपाल भित्रिने भारतीय पर्यटकहरूलाई नाका क्षेत्रमै पटके सेवा विस्तार गरेर पर्यटकहरूलाई सहजता प्रदान गर्ने लक्ष्य लिइएको मन्त्री न्यौपाने बताउँछन्। ‘दाङ र भारत जोड्ने प्रमुख नाकाका रूपमा रहेको कोइलावास नाका भारतीय पर्यटकहरू भित्रिनका लागि अहिले सहज नाका बन्दै गइरहेको छ, यो नाकाबाट नेपाल भित्रिने पर्यटकहरूको संख्या बढिरहेको छ,’ मन्त्री न्यौपाने भन्छन्, ‘यो नाकामा पटके जाँच सेवा अपरिहार्य छ, पर्यटकहरूको सहजताका लागि यो नाकामा पटके जाँच सेवा विस्तार गर्ने योजनालाई हामीले प्राथमिकतामा राखेका छौँ।’

दाङ-भारत जोडिने कोइलावास नाकालाई थप चलायमान बनाउनका लागि यहाँ पटके जाँच सेवा विस्तार गर्नैपर्ने मन्त्री न्यौपानेले आवश्यक्ता देख्छन्। यो नाकाबाट भारतीय पर्यटकहरूको आवागमन बढाउन सके भारतीय पर्यटकहरूका लागि स्वर्गद्वारी आश्रम, दाङका पर्यटकीय थलोहरूमा उनीहरूको उपस्थिति बढाउन तथा प्रदेशका पश्चिमी जिल्लाहरूमा समेत उनीहरूको सहभागिता बढ्ने मन्त्रालयको अपेक्षा छ।

‘कोइलावासको नाकाबाट सहज रूपमा भारतीय पर्यटक भित्रिन सके लुम्बिनीका पश्चिमी जिल्लाहरूमा भारतीय पर्यटकको संख्या बढाउन सकिन्छ,’ मन्त्री न्यौपाने भने, ‘यसका लागि यो नाका आसपास क्षेत्रमा पटके जाँच सेवाको विस्तार आवश्यक देखिन्छ।’ कोइलावास संगै कपिलवस्तुको कृष्णनगर नाकामा पनि पटके जाँच सेवा विस्तार गर्ने योजनामा मन्त्रालय छ। यो नाकामा पनि पटके जाँच सेवा विस्तार हुन सके भारतीय पर्यटकहरूलाई नेपाल आवागमनमा सहज हुने मन्त्रालयले जनाएको छ।

‘दाङको कोइलावास नाका संगै कपिलवस्तुको कृष्णनगर नाकामा पनि पटके जाँच सेवाको व्यवस्थापन अपरिहार्य देखिएको छ,’ उनने भने, ‘यि दुई नाकाबाट नेपाल भित्रने भारतीय पर्यटकहरूको सहजताका लागि पटके जाँच सेवा विस्तार गर्ने योजना अनुसार अगाडि बढ्ने गरी यसबारे तयारी गरिएको छ।’ आवश्यक्ताका आधारमा अन्य स्थानमा पनि पटके जाँच विस्तार गरिने मन्त्री न्यौपानले बताए।  

सवारी ऐन अनुसार बाह्य मुलुकबाट आउने सवारी साधनका लागि नेपालमा पटके जाँच (रुट परमिट) का कर बुझाउनु पर्ने हुन्छ। ऐन अनुसार बाह्य मुलुकबाट आउने ठूला सवारी साधनका लागि प्रतिदिन एक हजार रुपैयाँ बुझाउनु पर्छ। यसैगरी मझौला सवारी साधनका लागि सात सय रुपैयाँ, कार जीपका लागि ५ सय र दुई पांग्रे सवारी साधनका लागि प्रतिदिन २ सय रुपैयाँ बुझाउनु पर्ने ऐनमा व्यवस्था भएको यातायात सेवा कार्यालय भालुवाङले जनाएको छ।

भन्सारमा उल्लेख भएको रुट अनुसार यातायात कार्यालयहरूले ति रुटमा सवारी साधन सञ्चालनका लागि अनुमति दिने गर्दछ। बाह्य मुलुकका सवारी साधनहरूले आफू जाने स्थानको किटान भन्सार कार्यालयमा गरेका हुन्छन्। बाह्य मुलुकका गाडीहरूले एक हप्ता सम्मको रुट परमिट पाउने गर्दछन्। एक हप्ताभन्दा बढीको अनुमतीिनदिने गरिएको यातायात व्यवस्था कार्यालय भालुवाङले जनाएको छ।

प्रकाशित: २८ पुस २०८१ १०:३७ आइतबार

#Lumbini Province