अर्थ

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि

सुलिगाड(डोल्पा)- हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनकालागि यसबर्ष देखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँच सय रकम तिर्नुपर्ने भएको छ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज,स्थानीय सरकारका प्रमुख,जिल्ला समन्वय समिती,जिल्ला प्रशासन कार्यालय लगाएतका सरोकारवाला पक्षहरु सहित निकुञ्ज कार्यालय सुलिगाडमा बसेको बैठकको निर्णय अनुसार यस बर्षदेखि यार्सागुम्बा संकलनको लागि अतिरिक्त पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको हो।

यार्सागुम्बा ब्यबस्थापन निर्देशिका अनुसार मध्येवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिब्यक्ति पाँचसय,मध्येवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि प्रतिब्यक्ति दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि प्रतिब्यक्ति तीन हजार तोकिएको भए पनि शुल्क बृद्धि गरिएको हो। यि सबै प्रकारका संकलन दस्तुरमा यस बर्षदेखि सम्बन्धित मध्येवर्ती क्षेत्र भित्र पर्ने यार्सागुम्बा पाटनमा संकलन ईजाजत दिनका लागि मध्येवर्ती क्षेत्र ब्यबस्थापन समितीले अतिरिक्त पाँचसय रुपैँया सेवा शुल्कको रुपमा लिने पाउने निर्णय गरिएको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेब चौधरीले जानकारी दिए।

सम्बन्धित मध्येवर्ती क्षेत्र ब्यबस्थापन समितीले अतिरिक्त उठाएको पाँच सय रकम समितीकै खातामा जम्मा हुने र सो रकमबाट मध्येवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा,चोरी शिकारी नियन्त्रण,जैविक विबिधता संरक्षण सम्बन्धि विभिन्न कार्यक्रमहरुमा खर्च गरिने निकुञ्जले जनाएको छ।

बहुमुल्य जडीबुटीको पकेट क्षेत्रको रुपमा रहेको डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि विभिन्न जिल्लाबाट बर्षेनी हजारौँ मान्छेहरु भित्रने गर्दछन् । उनीहरुलाई बितरण गरिएको संकलन ईजाजतबाट मात्रै बर्षेनी करोडौँ राजश्व संकलन हुने गर्दछ।

बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनको सिजन प्रत्येक बर्षको जेठ महिनाको पहिलो सातादेखि सुरुभइ असार पहिलो साता सम्मको एक महिनाको लागि निकुञ्जले संकलन ईजाजत दिदै आएको छ। डोल्पामा पाइने यार्सागुम्बा संकलन गर्नका लागि सिन्धुपाल्चोक,रामेछाप,दोलखा ,नुवाकोट काठमाण्डौ,धादिङ लगायत छिमेकी जिल्ला रुकुम,जाजरकोट,सुर्खेत सल्यान जुम्ला कालिकोटबाट समेत यासागुम्र्बा संकलकहरु डोल्पामा आउने गर्छन । डोल्पाका रुपपाटन,तरपर, बागडाँडा,भोक्पा,साइक्वारी,भाँङ्गका,कुनासा ,रातामाटा,सागर,ठाँगे,जगदुला,टाँगटुङ्गे लगायतका दुई दर्जन भन्दा बढी पाटनहरुमा बहुमुल्य तथा यौन शक्तिबद्र्दक जडिबुटी यार्सागुम्बा पाइन्छ ।

प्रकाशित: २ वैशाख २०७५ १३:२१ आइतबार

यार्सागुम्बा संकलन दस्तुरमा बृद्धि