अर्थ

पर्यटनमैत्री सेवा दिन सुमेघ होलिडेज सञ्चालनमा

पर्यटन क्षेत्रमा काम गर्दै आएको सुमेघ ग्रुपले सुमेघ होलिडेज सञ्चालन गर्न थालेको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरेर अंग्रेजी नयाँवर्ष २०२५ को अवसर पारेर पर्यटनमैत्री सेवा दिन सुमेघ होलिडेज सुरु गरिएको जानकारी सुमेघ समूहले दिएको हो।

सुमेघले लामो समयदेखि पर्यटन क्षेत्रमा काम गर्दै आएको छ। पर्यटन उद्योगमा नयाँ ऊर्जा थप्ने र यसलाई वैश्विक स्तरमा पुर्‍याउने लक्ष्यसहित सुमेघ होलिडेज सञ्चालनमा ल्याएको सुमेघ ग्रुपका प्रबन्ध निर्देशक मेघ केसीले बताए।

पर्यटकलाई उत्कृष्ट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमण प्याकेजहरू सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने प्रबन्ध निर्देशक केसीले बताए। ‘यात्रुहरूको आवश्यकता विचार गरी अनलाइन बुकिङ प्रणाली, सहज यात्रा व्यवस्थापन, नवीन प्रविधिको प्रयोग गर्दै सेवा दिन्छौं,’ उनले भने, ‘ग्राहक मैत्री सेवा हाम्रो प्राथमिकता हो।’

सुमेघ होलिडेजले नेपाल भिजिट अभियान सञ्चालन गर्दै नेपाललाई विश्वकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सघाउने लक्ष्य लिएको छ। सुमेघ ट्राभलले सन् २०१९ को सेप्टेम्बर २६ मा पहिलो पटक नेपालबाट जापानको नारिताको लागि नेपाल एयरलाइन्सद्वारा चार्टर्ड उडान गरी सेवा दिएको थियो।

नेपालको पर्यटन उद्योगलाई सधैं विश्वसनीय, नवप्रवर्तन, र उत्कृष्टता स्थापना गर्न सघाउने अपेक्षा गरिएको छ। स्थानीय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्दै, यसले नेपालको अर्थतन्त्रलाई बलियो बनाउने र सांस्कृतिक पहिचान विश्वभर प्रवर्द्धन गर्ने जनाइएको छ। सुमेघ ग्रुपले यो सुरुवातलाई पर्यटन उद्योगको नयाँ युगका रूपमा स्थापना गर्ने विश्वास लिएको छ।

प्रकाशित: २५ पुस २०८१ १२:४६ बिहीबार

# Nagarik # Domestic and foreign tourists # Sumegh Group # Chartered flight