अर्थ

दैलेखमा ग्यास रहेको संकेत

दैलेखमा २०७६ असोजदेखि थालिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम सकिएको छ। दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र चाइना जियोलोजिकल सर्भे प्रोजेक्टका इन्चार्ज डा। याङ पिङले चीन र नेपालको अन्वेषण स्थलमा झण्डोत्तोलन गरी शुभारम्भ गरेको अन्तिम अन्वेषण चार हजार दुई मिटर ड्रिलिङ सर्बे गरेर सकिएको हो। 

यो अन्वेषणपछि दैलेखमा कति क्षमता (भण्डारण) को पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लगाउनुका साथै गहिराइ पनि मापन हुने जनाइएको छ। परिणाम कति छ? कहाँ कहाँसम्म फैलिएको छ? उत्खननका लागि खर्च र फाइदाबारे भने अन्तिम अन्वेषण ड्रिलिङ गर्ने कार्यपछि थाहा हुने भूगर्भ विभागले जनाएको छ । स्रोतका अनुसार पेट्रोलभन्दा पनि यहाँ ग्यास भएको संकेत पाइएको जनाइएको छ। ‘जमिनमुनि ग्यासको खानी रहेको प्रारम्भिक नमुनाबाट पाइएको छ।’ स्रोतका अनुसार, बाँकी नमुना परीक्षणपछि चारदेखि पाँच महिनामा नतिजा आउनेछ।’ 

नेपाल र चीनको प्राविधिक टोलीले यसअघि पहिलो चरणअन्तर्गतको सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे गरी चार वटा सर्भेका काम भइसकेको छ। यसअघि टोलीले पहिलो चरण सम्भाव्यता अध्ययन र दोस्रो चरणमा ड्रिल मेसिनमार्फत अन्वेषण सकिसकेको छ। दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषणका लागि खानी तथा भूगर्भ विभाग र चिनियाँ जिओलोजिकल सर्बे कम्पनीसँग दुई अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सहयोगमा खानी अन्वेषण र उत्खनन काम सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

सरकारले भैरवी गाउँपालिका १ जलजलेका २७ घरपरिवारको ४५ रोपनी जग्गाको मुआब्जा विवाद समाधान भएसँगै सरकारले प्रतिरोपनी एक लाख ७५ हजार रुपैयाँका दरले मुआब्जा दिएर अधिग्रहण गरिसकेको हो। अन्वेषणपछि उत्खनन प्रक्रिया अघि बढे पेट्रोलियम पदार्थको कच्चा पदार्थ प्रशोधन केन्द्रसमेत दैलेखमा बनाउने त्यसका लागि सुर्खेतबाट दैलेख ३५ मिनेटमै पुग्ने गरी सुरुङमार्ग बनाउनेसमेत चाइनिज टोलीले योजना बनाएका छन्।

प्रकाशित: २३ पुस २०८१ ०९:३९ मंगलबार

#Petrolium #Dailekh #NagarikDaily