अर्थ

जलविद्युत आयोजनाको ड्याम जोगाउन ‘रक फल प्रोटेक्सन’

रसुवाको सल्लेटारको सडकमा राखिएको जाली हेलिकप्टर मार्फत सडकभन्दा केही माथी रहेको पहिरोमा ओसारिँदै । तस्बिर : नागरिक

रसुवा– माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजनाको ड्याम जोगाउनका लागि सुरु गरिएको ‘रक फल प्रोटेक्सन’ को कार्य ८० प्रतिशत सम्पन्न भएको छ। 

आयोजनाको ड्याम साइटमा गएको पहिरो नियन्त्रणका लागि ‘रक फल प्रोटेक्सन’ को कार्य गरिएको हो। पहिरो नियन्त्रण गर्न एकै ठाउँमा रक नेटिङ, रक बोल्टिङ र रक फल प्रोटेक्सन गरिएको ठेकेदार कम्पनी न्यु क्रेसन इन्पेक्स प्रालिले जनाएको छ। 

प्रालिले गत अगष्टदेखि पहिरो नियन्त्रणको लागि ‘रक फल प्रोटेक्सन’ को कार्य सुरु गरेको थियो। त्यहाँ प्रयोग गरिएका निर्माण सामग्री स्विट्जरल्याण्डबाट आयात गरिएको हो। स्विट्जरल्याण्डको जियोवग कम्पनीबाट सामग्री आयात गरिएको प्रालिका म्यानेजिङ डिरेक्टर बिजय श्रेष्ठले बताए। 

प्रोटेक्सनको लागि करिब ३२ करोड बजेट छुट्याइएको छ । कुल वजेटमध्ये सामग्री खरिदका लागि १२ करोड खर्च गरिएको श्रेष्ठले जानकारी गराए। निर्माण गरिएको फेन्स नेटिङले ३००० देखि ५००० किलोजुल गतिको ढुङ्गा रोक्न सक्ने बताइएको छ।  

पहिरोको वरिपरि ४१ वटा जाली हालिएको छ। पहिरो गएको क्षेत्रमा मान्छेले जाली बोकेर लैजान सम्भव नभएपछि हेलिकप्टर मार्फत जाली पु-याइएको छ। ‘सल्लेटारको सडकसम्म गाडीमा सामग्री ल्याइएको थियो, श्रेष्ठले भने, यहाँबाट पहिरोमा लैजानका लागि हेलिकप्टरको प्रयोेग गरेका छौँ।’

आयोजनाको ड्याममा पहिरोले क्षति पु-याउने जोखिम बढेपछि नेपाली सेनाको विकास निर्माण निर्देशनालयले गत वर्ष ठेक्का लगाएको थियो। 

गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रबेसी–रसुवागढी सडक खण्ड अन्तरगत नेपाली सेनाले निर्माण गरिरहेको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण अन्तर्गत नै पहिरो नियन्त्रणको काम भइरहेको मैलुङ–स्याफ्रुबेँसी सडक निर्माण कार्यदलका प्रमुख एवं प्राविधिक सेनानी सञ्जय केसीले बताए। संरक्षणको कार्य आगामी जेठ महिनाभित्र सम्पन्न हुने छ। 

आयोजनाको ७५ प्रतिशत काम पूरा 

रसुवा र नुवाकोटको सीमामा निर्माण भइहेको आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ। चिनियाँ गेजुवा ग्रुफ अफ कम्पनी (सीजीजीसी) मार्फत क्यू सेभेन्टी उत्पादनको आधारमा आयोजना निर्माण भइरहेको हो। 

६० मेगावाट क्षमताको आयोजनाको ४ हजार मिटर सुरुङमध्ये सम्पूर्ण सुरुङ खन्ने काम सकिएको आयोजनाका साइट इन्चार्ज अम्बिकेस कुमार झाले बताए। आयोजनामा अहिले पावरहाउस, ड्याम र सुरुङमा निर्माण कार्य तिब्र रुपमा अघि बढेको छ। 

सन् २०११ को जुन १ बाट काम शुरु भएको उक्त आयोजना २०१४ मे ३१ मा काम सम्पन्न गर्ने लक्ष्य लिइएको थियो। २०१९ अप्रिलको अन्तिम सातासम्ममा आयोजनाले उत्पादन थाल्ने साइट इन्चार्ज झाले जानकारी दिए।

प्रकाशित: १ वैशाख २०७५ १५:३६ शनिबार

जलविद्युत आयोजनाको ड्याम जोगाउन रक फल प्रोटेक्सन