अर्थ

अर्गानिक नयाँ वर्ष (फोटो फिचर)

नयाँ वर्षको पहिलो दिन अमान बजारमा लागेको शनिबारे अर्गानिक हटिया। तस्बिरः राेहित/नागरिक

धरान – नयाँ वर्ष २०७५ सालको पहिलो दिन। त्यसमाथि सार्वजनिक विदाको दिन शनिबार। सबैजना बिहानैदेखि सामाजिक सञ्जाल र प्रत्यक्ष भेटघाटमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न ब्यस्त थिए भने कतिपय साथीभाई, स–परिवार पर्यटकीयस्थलतर्फ रमाउन लाग्दै थिए।

धरान ६, पानमाराकी गृहणी शोभा दाहाल भण्डारीको नयाँ वर्षको बिहानीमा अर्गानिक तरकारीसँगै बित्यो। बिहानै उठेर उनलाई हरियो तरकारीको पोको मिलाउन र धरान बजार पुग्न हतार थियो। अधिकांश युवायुवतीहरू भेडेटारतिर नयाँ वर्ष मनाउन गइरहदा शोभा भने अर्गानिक तरकारीको पोको बोकेर बिहान ७ बजेतिर धरान १२ स्थित अमान बजार पुगिन्। यसरी नयाँ वर्षको पहिलो दिन एउटी गृहणीको दैनिकी अर्गानिक नयाँ वर्षको रुपमा शुरुवात भयो।

करिव तीन महिना अघिदेखि धरानमा प्रत्येक शनिबार बिहान अर्गानिक शनिबारे हटिया लाग्दै आएको छ। उपभोक्ताहरुलाई स्वच्छ र स्वास्थ्यकर अर्गानिक तरकारी उपलब्ध गराउने लक्ष्य राखिएको यो हटियारमा उनले शुरुको सातादेखि नै आफुले उत्पादन गरेको अर्गानिक तरकारी बिक्रीमा ल्याउदै आएकी छिन्। ‘आज नयाँ वर्ष, हाम्रो त अर्गानिक नै भयो,’शनिबार बिहान हटियामा भेटिएकी उनले भनिन्,‘हटियाले अर्गानिक खेती गर्नेहरुलाई प्रोत्साहन गरेको छ, तर अझै धेरै आम उपभोक्ताहरुलाई अर्गानिक तरकारीबारे जानकारी गराउनुपर्छ।’

उनले टनेल बनाएर अर्गानिक खेती गर्न थालेको एक वर्ष बितिसकेको छ। अर्गानिक तरकारी खेती तालिम लिएर व्यावसायिक खेती शुरु गर्ने १० जनाको समूहमध्ये उनी मात्र टिकेकी छिन्। अरु सबै रासायनिक खेतीमै फकिए। ‘१० जनाले तालिम लिएकोमा अर्गानिक खेतीमा म मात्र टिकेको छु। शुरुवातमा उत्पादन कम हुन्छ, भाउ पनि पाइदैनथ्यो तर जे हुन्छ हुन्छ भनेर म चै अर्गानिक खेती गर्न छोडिन,’नयाँ वर्षको बिहानीमा उनले भनिन्। उनी हरेक शनिबार बिहान पानमाराबाट आफैंले फलाएको साग, टमटर, सिवीलगायत अर्गानिक हरियो तरकारी लिएर आउछिन्।

नयाँ वर्षको पहिलो बिहानी अर्गानिक उत्पादन एवं तरकारीसँग बिताउने दाहाल एक्ली भने होइनन्। गत पुष अन्तिम सातादेखि शुरु भएको शनिबारे अर्गानिक हटियामा धरान १८ बाट रेखा राई, रिता राई र हेमा थलङले पनि आफ्नो उत्पादन नियमित ल्याउने गरेकी छिन्।

धराने कोसेली खाद्य उद्योग दर्ता गरेका उनीहरुले फिलिङ्गे, तामा, अकबरेको टिपिकल अचार, किनिमा, बेसार, विष्णुपादुकाको मह, शुद्ध तोरीको तेल, सुकुटीको अचार बनाएर हटियामा बिक्री गर्न ल्याउछन्। ‘पहिला हामी घरबाट नै बेच्थ्यौं, हटिया शुरु भएदेखि यहाँ स्टल राखेर बिक्री गर्न थाल्यौं। कुनै मिसावट नगरिएको उत्पादन भएकोले सबैले मन पराएका छन्,’उद्यमी रेखा राईले भनिन्, ‘उपभोक्ताहरुले पनि राम्रो सल्लाह, सुझाव दिन्छन्, व्यापारको प्रर्वद्धन पनि भएको छ।’

कृषि खेतीमा अत्याधिक रासायनिक मल, बिषादीको प्रयोगबाट उत्पादन भएको कृषि उपजले उपभोक्ताहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको छ। धरान ४, वसन्तटार गाउँमा युवा कृषक कृष्ण राईले अर्गानिक तरकारी खेती अभियान चलाइरहेका छन्। तर, उचित बजार नपाएर कृषकहरू निरुत्साहित छन्। यसै कुरालाई ध्यान दिँदै अर्गानिक खेती उत्पादन एवं कृषकहरुलाई प्रोत्साहित गर्न र उपभोक्तालाई पनि स्वास्थ्य तरकारी उपलब्ध गराउन धरानका युवा कृषक, सामाजिक अभियन्ताहरूको पहलमा यो हटिया शुरुवात भएको थियो।

‘अर्गानिक उत्पादन बढाउनुस्, बजार हामीसँग छ भनेर कृषकहरूलाई भेटेर प्रोत्साहन दिइरहेका छौं, उपभोक्ताहरु पनि अर्गानिक तरकारीमा आकर्षित भइरहेका छन्,’शनिबारे अर्गानिक हटिया बजार व्यावस्थापन समितिकी उपाध्यक्ष शुभेच्छा अधिकारी श्रेष्ठले भनिन्,‘तालिम पनि गराउदैछौं, बाँझो करेसाबारीमा घरमै बसेर कृषि इलम गर्दा पनि हुन्छ, अर्गानिक तरकारीको भेराइटी बजारले माग गरिरहेको छ।’ अधिकांश किसानहरू परम्परागतरुपमा खेती गरिरहेको भेटिएको भन्दै उनले स्थानीय सरकारले कृषकहरूलाई प्रोत्साहन गर्ने र खेती प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ ध्यान दिनुपर्ने उनले बताइन्।

हटियाबाट कृषक पनि उत्साहित
पहिला डोकोमा हरियो तरकारी बिक्री गर्न लैजानुपर्ने वा व्यापारीलाई सस्तो मुल्यमा बिक्री गर्न बाध्य हुनुपर्ने कृषकहरू अहिले शनिबारे हटियाको कारण उत्साहित छन्। उनीहरु अर्गानिक खेती विस्तार गरेर उत्पादन वृद्धि गर्न हौसिएका छन्। ‘अर्गानिक तरकारीलाई बजारकै मुख्य समस्या थियो, हटियाले गर्दा थोरै भएपनि सहज भएको छ। पहिला डोकोमा बोकेर बेच्न लैजानुपथ्र्यो, यो बजारको जति मुल्य पनि पाइदैनथ्यो,’वसन्तटारका अर्गानिक खेती अभियन्ता कृष्ण राईले भने,‘उत्पादन गरिसकेर पनि बिक्री गर्न फेरी शारीरिक श्रम गर्नुपर्ने बाध्यता हटेर बजारले गर्दा किसानहरुलाई पनि धेरै राहत मिलेको छ।’

अर्गानिक अभियन्ता राईले वसन्तटारमा एक दशक अघिदेखि अर्गानिक खेती अभियान चलाएका थिए। अहिले वसन्तटारको हरेक जसो घरमा अर्गानिक खेती छ । उनीहरु आफैंले उत्पादन गरेको जैविक मल प्रयोग गर्छन् भने तरकारी वालीलाई असर गर्ने किरालाई मार्न पनि घरेलु उपायहरू अपनाउने गरेका छन्। शनिबारे हटिया शुरुवात गर्न उनको पनि ठुलो योगदान छ। हरेक शनिबार उनी वसन्तटारको किसानहरूको तरकारी संकलन गरेर हटियामा ल्याउने गर्छन्। बिक्री भएको तरकारीको मुल्य उनी किसानहरूलाई दिन्छन्।

के के पाइन्छ हटियारमा ?
शनिबारे अर्गानिक हटिया प्रत्येक शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म अमान बजारमा लाग्ने गरेको छ। कहिले कही चाडै तरकारी सकिन्छ, र हटिया पनि चाडै उठ्छ। हटियामा सिजनल सबै हरियो तरकारी उपभोक्ताले खरीद गर्न पाउछन्। हिउद र बर्खाको सिजनअनुसारका उत्पादन भएको हरियो तरकारी कृषकहरूले हटियामा ल्याउने गरेका छन्।

सिजनअनुसारको सबै तरकारी ल्याउछौं, हरियो सागसब्जी, गेडागुडी सबै हुन्छ,’कृषक राईले भने।
उनका अनुसार बारीमा उत्पादन भएको सिवि, बोडी, घिरौला, करेला, फर्सीको मुन्टा, टमटर, साग, कटहर, काक्रालगायत अर्गानिक उत्पादनहरु उपभोक्ताले हटियामा पाउछन्। यस्तै, महिला उद्यमीले विना मिसावट तयार गरेको गुन्द्रुक, दाल, किनिमा, फिलिंगे अचार, अकबरे अचार, सेलरोटी, बेसार, सुकुटीको अचारहरू पनि उपभोक्ताले सहज मुल्यमा खरीद गर्न पाउनेछन्।

यस्तै, शुद्ध तोरीको तेल, ध्यूँ, मह पनि उपभोक्ताले हटियामा पाउँछन्। ‘जमरा उम्रिएको अंकुरित तरकारी पनि उपभोक्तालाई उपलब्ध गराउछौं,’अर्गानिक अभियन्ता राईले भने।

अर्गानिक फोटो फिचर