अर्थ

आन्तरिक पाहुनाको हिस्सा करिब ३५ प्रतिशत

कोरोना संक्रमणपछि ५ प्रतिशत गिरावट आएको अनुमान

पोखराको पामेफाँटमा चलिरहेको बेलुन महोत्सवमा रमाउँदै आन्तरिक पाहुना। तस्बिरः सन्तोष पोखरेल/नागरिक

फेवाताल सिरानको पामे फाँटमा अन्तर्राष्ट्रियस्तरको बेलुन फेस्टिबल चलिरहेको छ। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट झन्डै आठकिलोमिटर परको उक्त फाँटमा आइतबार बेलुकी अबेरसम्म आन्तरिक पाहुनाको भीडभाड थियो। बेलुन फेस्टिबलमा रमाउन पुग्नेमा अधिकांश स्वदेशी युवायुवती थिए, विदेशी पाहुना भने निकै नै कम देखिन्थे।

बेलुनको उडान रोकिएपछि बेलुकीको समयमा हुँदै आएको सांगीतिक कार्यक्रममा रम्न पुग्नेको भीड अबेरसम्म चलिरहेको थियो। सार्वजनिक बिदाको सदूपयोग गर्दै पोखरा घूम्न आएका आन्तरिक पाहुना अहिले फेवा सिरानको पामेतिर तानिएका छन्। अघिल्ला वर्षसम्म यो बेला आउने पाहुना लेकसाइड क्षेत्रमा मात्र रम्थे। तर, यो पटक बेलुन फेस्टिबलले पाहुनालाई पामेसम्म डोर्याएको छ।  

बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे भन्छन्, ‘तेश्रो मुलुकका विदेशी पाहुनाका लागि बेलुन फेस्टिबल नौलो छैन। तर, आन्तरिक र भारतीय पाहुनाका लागि भने नौलो प्रडक्ट भएकोले आकर्षण बढी छ।’ उनका अनुसार दिनमा २ सय ५० जनाको हाराहारीमा पाहुनाहरु बेलुनमा उडिरहेका छन्। ती मध्ये १ सय २० जनाजति पूर्ण उडानमा उड्ने गर्छन भने बाँकी पाहुना प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर जमिन भन्दा केही माथिसम्म मात्र उड्न पाउँछन्। डोरीमा अड्काइएको बेलुनमा जमिन भन्दा केही माथि उड्न मिल्नेगरि व्यवस्थापन गरिएको छ।  

‘उडान गर्नेमा विदेशी पाँचप्रतिशत मात्र होलान्। बाँँकी त भारतीय र आन्तरिक नै हुन। अझ बढी आन्तरिक छन्। आन्तरिक पाहुना नहुँदो हो त हामीलाई नै हम्मेहम्मे पर्ने थियो,’ उनले भने, ‘आन्तरिक पाहुनाले यो प्रडक्टलाई निकै नै रुचाएका छन्। यसले पोखरालाई पनि ठूलो राहत दिएको छ।’  

नेपालमा पहिलो पटक यस्तो महोत्सव भएकोले पनि यो सबैजसो आन्तरिक पाहुनाका लागि नौलो रहेको उनले सुनाए। भारतको राजस्थानमा बेलुन उडान भएपनि त्यहाँ अहिलेसम्म बेलुन महोत्सव गरिएको छैन। त्यसैले भारतीयका लागि पनि यो प्रडक्ट नौलो रहेको बाडेको भनाई छ। आन्तरिक पाहुनाकै कारण पोखरामा पहिलो पटक आयोजित यो महोत्सव सफल भएको उनले बताए। ‘पोखरामा सुरु भएको सडक महोत्सवका कारण आन्तरिक पाहुनाको आगमन थपिँदै जाँदा त्यसको लाभ बेलुन उडानले पनि लिनेछ,’ उनले भने।  

पोखरामा यतिबेला सडक महोत्सव चलिरहेको छ। विगत २६ वर्षदेखि लेकसाइडको करिब साढे ३ किलोमिटर क्षेत्रको दूरीमा चलिरहेको सडक महोत्सवमा करिब पाँचलाख आन्तरिक पाहुना भित्रिने अपेक्षा आयोजक रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान)को छ। पोखरामा सबैभन्दा बढी आन्तरिक पाहुना भित्र्याउका लागि यो महोत्सव सहयोगी बन्दै आएको व्यावसायी बताउँछन्। आन्तरिक पाहुनाकै कारण पर्यटन क्षेत्र चलायमान बनेको उनीहरुको भनाई छ।  

‘हुन त पर्यटन क्षेत्रमा विदेशी पाहुना पनि आवश्यक छ। तर, पोखरालाई आन्तरिक पाहुनाले ठूलो गुन लगाएको छ,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘आन्तरिक पाहुना त पर्यटन व्यावसाय टिकाउने मूख्य आधार बनिसकेको छ, आन्तरिक पाहुना नआउँदा हुन त पर्यटन क्षेत्र शिथिल हुन्थ्यो।’ पोखरामा हुने सबैजसो पर्यटकीय गतिविधिमा आन्तरिक पाहुनाको सहभागिता रहेको उनले बताए। ‘पछिल्लो साता पोखराका होटलको अकुपेन्सी २५ प्रतिशतबाट दोब्बर हुनुमा आन्तरिक पाहुनाकै योगदान छ। यो अकुपेन्सुी अझै केहीदिन बढ्छ, त्यसपछि बल्ल सुस्ताउँछ,’ उनले भने।  

पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पाहुनाको योगदान निकै नै महत्वपूर्ण रहेको छ। सापकोटाका अनुसार नेपालमा सन् १९९८ मा नेपाल भ्रमण मनाउँदै गर्दासम्म आन्तरिक पर्यटकको महत्व बुझिएको थिएन। नेपाल भ्रमण वर्ष पछि मात्र आन्तरिक पाहुनाले महत्व पाउन थालेका हुन्।  

‘सुरुका वर्ष त नेपालमा आन्तरिकलाई पाहुना नै नमान्ने चलन थियो। सन् २०१० भन्दा अगाडिसम्म आन्तरिक पाहुनाको योगदान पर्यटन क्षेत्रमा खासै थिएन। निकै नै कम मात्रामा आन्तरिक पाहुना हुन्थे। पर्यटन व्यावसायीले पनि आन्तरिक पाहुनालाई चिनेका थिएनन,’ उनले भने, ‘तर, अहिले भने आन्तरिक पाहुनाकै कारण पर्यटन क्षेत्र चम्किएको हो। अहिले पोखराका सबैखाले पर्यटकीय प्रडक्ट चलायमान बनाउने आधार आन्तरिक पर्यटक नै बनेको छ।’

सापकोटाका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनअघि नेपालमा आन्तरिक पाहुनाको हिस्सा करिब ४० प्रतिशत पुगिसकेको थियो। तर, कोरोना संक्रमणपछि भने त्यो आकार केही खस्केको छ। कोरोना संक्रमणले गर्दा आर्थिक शिथिलता निम्तियो, त्यसले गर्दा घुमफिरमा बाधा उत्पन्न हुँदा आन्तरिकको योगदान केही घटेपनि मुल आधार भनेकै आन्तरिक पाहुना नै रहेको उनले बताए। ‘आन्तरिक पाहुना नै पोखराको पर्यटन क्षेत्रको मुल आधार हो। तर, कोरोना अघिको तुलनामा अहिले केही खस्केको छ,’ उनले भने, ‘कोरोना संक्रमण नहुँदो हो त पर्यटन क्षेत्रले झनै बढी आन्तरिक पाहुनाको साथ पाउथ्यो। तर, पछिल्लो समय केही कमजोर बनेको छ।’

सापकोटाका अनुसार अहिले पनि पोखराको पर्यटन क्षेत्रमा करिब ३५ प्रतिशत योगदान आन्तरिक पाहुनाको रहेको अनुमान छ। ‘४० प्रतिशतमा उक्लेको आन्तरिक पाहुनाको हिस्सा अहिले ३५ प्रतिशतमा झरेको अनुमान छ। कोरोना संक्रमण नहुँदो हो त यो आकार ४५ प्रतिशतमा उक्लिएको हुन्थ्यो। तर, उक्लिन सकेन, बरु खस्क्यिो।’  

आर्थिक सिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान रहेको उनले बताए। ‘पाँचप्रतिशत खस्केको मात्र हो। तर, मुल आधार भनेकै आन्तरिक पाहुना हुन,’ उनले भने। उनका अनुसार पोखरा क्षेत्रको पर्यटनमा आन्तरिक पाहुनालाई बढीमात्रामा आउजाउको सास्तीले असर पारेको हो। ‘पोखरा भित्रिने मुख्य राजमार्गमा सास्ती भएपछि पाहुना पनि घुमघाममा निस्कन सकेनन,’ उनले भने।

सापकोटाका अनुसार पोखराको पर्यटन क्षेत्रमा त रेसिडेन्सियल (स्थानीय) पर्यटनको पनि उत्तिकै योगदान रहेको छ। रेसिडेन्सियल पर्यटक खानपिनका लागि होटल र रेस्टुरेन्ट पुग्छन, तर, बास बस्न भने घरमै फर्किन्छन। ‘खानपिन र रमाइलोका लागि होटल र रेस्टुरेन्ट जाने तर, सुत्नका लागि घर फर्किने खालका पर्यटकका कारण पनि पोखरालाई साथ मिलेको छ। सातामा एकपटक परिवारै सहित खानपिनका लागि घरबाहिर जाने चलन बढेको छ,’ उनले भने, ‘यसले पनि पर्यटनमा राहत दिएको छ। पोखरामा रेसिडेन्सियल पर्यटनको झनै योगदान रहेको छ।’  

प्रकाशित: १५ पुस २०८१ १५:५६ सोमबार

आन्तरिक पाहुना पोखरा