नेपालको मुख्य चाडपर्व सकिएसँगै कामको खोजीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ह्वात्तै बढेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा सबैभन्दा बढी मंसिरमा वैदेशिक रोजगारीका लागि विभिन्न देश गएका छन्। वैदेशिक रोजगारीका लागि मंसिरमा ८४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार यो कात्तिक महिनाको भन्दा झन्डै १४ हजारले बढी हो।
नेपालबाट वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा धेरैको रोजाइ संयुक्त अरब इमिरेट्स (युएई) हुन पुगेको देखिएको छ। विभागको तथ्यांक अनुसार मंसिरमा ८४ हजार दुई सय २६ जनाले र सबैभन्दा कम असोजमा ५३ हजार पाँच सय २५ जनाले श्रम स्वीकृति लिएका छन्। विभागका अनुसार कात्तिकमा ७० हजार नौ सय ९० जना, साउनमा ५९ हजार पाँच सय ७५ जना, भदौमा ५७ हजार चार सय ९३ जनाले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन्।
विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीका अनुसार चालु आवमा वैदेशिक रोजगारीमा जानका लागि सबैभन्दा धेरै कात्तिक र मंसिरमा श्रम स्वीकृति लिएका छन्। नयाँभन्दा पनि बिदामा आएर पुनः वैदेशिक रोजगारीका लागि जानेको संख्या धेरै भएकाले विगतको तुलनामा संख्या बढेको उनले बताए।
विदेशमा काम गर्न जान श्रम स्वीकृति लिनुपर्छ। एकपटक वैदेशिक रोजगारीमा गएर फर्केकाले पनि मुलुकमा अल्झिने उपाय नभेटेपछि पुनः विदेशकै बाटो रोजेको सुवेदी बताउँछन्।
विभागको तथ्यांकअनुसार युएई जहिल्यै पहिलो श्रम गन्तव्य मुलुक बन्न पुगेको छ। वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकको संख्या घटे पनि गत आर्थिक वर्षदेखि नै संयुक्त अरब इमिरेट्स (युएई), कतार र साउदी अरब जानेको संख्या बढेसँगै श्रम स्वीकृति लिनेको संख्या बढेको सुवेदीले नागरिकसँग बताए।
‘नेपालीको महान चाड दसैं, तिहार र छठ हो, यी विशेष चाड मनाएर फर्किने नेपाली धेरै भएकाले श्रमिकको संख्या कात्तिक र मंसिरमा उच्च भएको हो।’ वैदेशिक रोजगारीको ३० वर्षको इतिहासमा अघिल्लो र गत आवमा सबैभन्दा बढी युवा रोजगारी खोज्दै विदेश गएका थिए तर गत वर्षको पाँच महिनाको संख्यालाई तुलना गर्दा चालु आवमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्ने संकेत देखिएको उनले बताए।
वैदेशिक रोजगारीका लागि युएई र साउदीमा नेपालीको आकर्षण बढेको छ। यस वर्ष गत मंसिरमा मात्र युएईमा २४ हजार सात सय ६९ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्। जसमा दुई हजार आठ सय ८२ महिला छन्। कात्तिकमा २३ हजार जना श्रम स्वीकृति लिएर युएई गएका छन्। साउनमा १७ हजार पाँच सय ४१ जना, भदौमा १८ हजार ६ सय पाँच र असोजमा १७ हजार सात सय २४ जना छन्।
दोस्रो आकर्षण साउदी अरबमा देखिन्छ। त्यहाँ १८ हजार एक सय १५ जनाले श्रम स्वीकृति लिएका छन्। जसमा ७५ महिला छन्। कतारमा १४ हजार आठ सय ४४ जनाले श्रम स्वीकृति लिएका छन्। जसमा एक हजार एक महिला रहेको तथ्यांकमा छ।
मलेसियाको रोजगारी भने निरन्तर ओरालो लागेको देखिन्छ। मलेसियामा मंसिरमा चार हजार चार सय ६९ जनाले श्रम स्वीकृति लिएका छन्। कुवेतमा ६ हजार ६ सय ९०, जापान दुई हजार तीन सय ७१ र कोरियाका लागि एक हजार दुई सय २५ जनाले श्रम स्वीकृति लिएको तथ्यांक छ।
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै युएई जाने पहिलो नम्बरमा रहेको जानकारी सुवेदीले दिए। वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको उनी बताउँछन्।
उनका अनुसार युएईमा श्रम स्वीकृति नलिएका महिला तथा पुरुषको गणना तथ्यांकमा छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। अहिलेको सन्दर्भमा महिला र पुरुष दुवैको रोजाइ युएई हो।
‘युएई खुला मुलुक हो। नेपालबाट युएई गएका प्रायः युवामा सन्तुष्टि पाइने गरेको देखिन्छ। पर्यटकीय दृष्टिले पनि घुम्न जानेको चाप युएईमा बढ्दो छ। नेपालीले चाहेअनुसारको काम युएईमा पाइन्छ। त्यहाँका कम्पनीहरू श्रमिकले चाहेअनुसारका छन्’, उनले भने। युएईबाट प्रायः नेपालीको युरोप छिर्ने ठूलो उद्देश्यसमेत भएकाले नेपाली श्रमिक युएई जाने गरेको उनले बताए।
गत मंसिरमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या जिल्लागत रूपमा हेर्दा सबैभन्दा धेरै धनुषा र सबैभन्दा कम मनाङ रहेको देखिएको छ। यस अवधिमा सबैभन्दा धेरै धनुषाका चार हजार तीन सय ७३ युवाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम मनाङका १५ युवाले मात्रै श्रम स्वीकृति लिएको विभागले जनाएको छ।
पछिल्लो समय खाडी मुलुकसहित युरोपका विभिन्न देशमा समेत नेपाली कामदारहरू प्रशस्तै जाने गरेका छन्। विभागका अनुसार, मंसिरमा म्यानपावरमार्फत २८ हजार आठ सय ६८ जनाले श्रम स्वीकृति लिएका थिए। जसमा महिला दुई हजार आठ सय १९ जना छन्। व्यक्तिगत तवरबाट नयाँ श्रम स्वीकृति १३ हजार ५९ जना, जिटुजीमार्फत नौ सय ७९ र ४१ हजार तीन सय २० जनाले पुनः श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।
चालु आव पहिलो पाँच महिनामा करिब साढे तीन लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। साउनदेखि मंसिरसम्ममा तीन लाख २५ हजार आठ सय नौ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन्।
पछिल्लो समय युरोप जानेको संख्या पनि बढ्दो रहेको र श्रम स्वीकृति लिएर क्रोएसिया, साइप्रस, फ्रान्स, पोल्यान्ड, रोमानियाजस्ता युरोपेली मुलुकमा नेपाली जाने गरेको विभागको तथ्यांक छ। साथै नेपाली युवाको आकर्षण बढ्दै गइरहेकाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित, नियमित र मर्यादित बनाउने योजना पनि सरकारले अघि सारेको विभागको भनाइ छ।
विभागको तथ्यांकअनुसार गत मंसिरमा वैदेशिक रोजगारीका लागि विदेसिएका ८४ हजार पाँच सय जनामा दक्ष कामदार ५३ हजार एक सय ५८ जना, अदक्ष २१ हजार सात सय १६, अर्धदक्ष आठ हजार सात सय ८० जना, उच्च दक्ष एक सय दुई र व्यावसायिक चार सय ७० जना छन्।
सरकारले श्रम स्वीकृति लिएर विदेश जान अनुमति दिएको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये आव २०७९/८० मा सात लाख ७१ हजार तीन सय २७ जनाले वैदेशिक रोजगारीका लागि अनुमति लिएका थिए। आव २०८०/८१ मा भने सात लाख ४१ हजार दुई सय ९७ युवाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ। यस्तै आव २०७८/७९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने युवाको संख्या ६ लाख ३० हजार ९० जना थियो।
प्रकाशित: १५ पुस २०८१ ०८:४८ सोमबार