अर्थ

कर्णाली डेभलपमेन्ट बैंक : बचतकर्ताको भुक्तानी मंगलबारदेखि दिने तयारी

राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड । तस्विरः गणेश विशु/नागरिक

राष्ट्र बैंकद्वारा समस्याग्रस्त घोषित कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका बचतकर्ताको बचत रकम पुस १६ गते मंगलबारदेखि भुक्तानी दिने समस्या व्यवस्थापन समूहले तयारी थालेको छ । 

बैंकमा समस्या आउनासाथ राष्ट्र बैंकले व्यवस्थापनको जिम्मा लिएकाले बचतकर्ताको रकम जोखिममा नपर्ने भन्दै बचतकर्ताको आवश्यकतालाई हेरेर भुक्तानी गरिने समस्या व्यवस्थापन समूहका संयोजक एवम् बैंक तथा वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाले बताए ।

बिहीबारदेखिनै स्थलगत अध्ययन सुरु गरेको उक्त समूहले बैंकका सबै शाखा र केन्द्रीय कार्यालयको अवस्थाको जानकारी लिएको छ । अन्य बैंकहरुसँग सहकार्य गरेर बचतकर्ताको रकम फिर्ता गर्ने तयारी भएको छ । पहिलो चरणमा बचतकर्तालाई वितरण गरिने बताइएको छ । ‘बचतकर्ता पनि जसलाई अत्यावश्यक छ उहाँलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘त्यसपछि अन्यको बचत रकम पनि फिर्ता गर्छाैं ।’  

‘फिक्स डिपोजिट’ (मुद्दती) बचतकर्तालाई अन्तिममा पैसा भुक्तानी दिने तयारी भएको समस्या व्यवस्थापन समूहले जनाएको छ । बैंकको व्यवस्थापन राष्ट्र बैंकले लिएको र यसभन्दा थप जोखिम नआउने भन्दै उनले भने, ‘बचतकर्ताले धैर्य गरेर हाम्रो कामलाई सहयोग पु¥याउनु प¥यो । हामी सबैको पैसा फिर्ता हुने गरी काम गर्दैछौं ।’ राष्ट्र बैंकले व्यवस्थापनको अधिकार लिएपछि संस्था अब नडुब्ने उनले आश्वासन दिए ।

बैंकको वस्तुस्थिति र दायित्वको अवस्थासँगै यसका सुविधाका विषयमा पनि अध्ययन हुने छ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त गरी बाँके, बर्दिया र दाङ जिल्लामा शाखा रहेको यस बैंकमा करिब ४० देखि ५० हजार बचतकर्ता छन् । उनीहरुले करिब साढे पाँच अर्ब रुपैयाँ बराबर बचत गरेका छन् भने बैंकले झन्डै साढे तीन अर्ब बराबर कर्जा वितरण गरेको व्यवस्थापन समूहका संयोजक खतिवडाले बताए ।

 राष्ट्र बैंकले राष्ट्र बैंक ऐन २०५८ को दफा ८६ (ख) बमोजिम समस्याग्रस्त घोषणा गर्दै बैंक व्यवस्थापनको सम्पूर्ण अधिकार खोसेको थियो ।

प्रकाशित: १२ पुस २०८१ १६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App