अर्थ

भृकुटीमण्डपमा माघको तेस्रो साता चेम्बर एक्स्पो हुने

नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौं चरणको “चेम्बर एक्स्पो २०२५” माघको तेस्रो साता हुने भएको छ। भृकुटीमण्डपमा हुने उक्त एक्स्पो माघ १७ देखि २१ गतेसम्म ५ दिन हुनेछ।

स्थानीय उत्पादनहरुको प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो २०२५ को आयोजना गर्न लागिएको चेम्बर अफ कमर्सले जनाएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो गर्न लागेको हो। व्यापार अभिवृद्धि, स्थानीय बस्तुको बजारीकरणका लागि चेम्बरले प्रत्येक वर्ष एक्स्पो गर्दै आएको छ।

नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने मुख्य उद्देश्य रहेको चेम्बरले उल्लेख गरेको छ।

क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने चेम्बर मेला समितिका सभापति राष्ट्रभुषण चाकुबजीले जानकारी दिए।

चेम्बर एक्स्पोमा नेपाल, बंगलादेश, भारत, चीन, थाईल्याण्ड, युएई, दक्षिण कोरिया, मलेसिया, पाकिस्तानलगायतका देशहरूमा उत्पादित बस्तुहरुको प्रदर्शनी र व्यवसायीहरुले सहभागिता जनाउने छन्।

एक्स्पोमा हस्तकलाका बस्तु, सवारी साधन, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, ज्वेलरी, कस्मेटिक बस्तु, निमार्ण सामाग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन्।

स्वदेशी र विदेशी गरी २ सय भन्दा बढी स्टलहरु एक्स्पोमा राखिनेछन्। ५ दिन सम्म चल्ने एक्स्पो कम्तीमा ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ। अटो पेवेलियन, स्वदेशी खानाको परिकारर बालबालिकाका लागि प्ले जोन पनि राखिने एक्स्पोको व्यवस्थापन गरिरहेको इन्ट्रोडक्सन ट्रेड सोज नेपाल प्रालिले उल्लेख गरेको छ।

प्रकाशित: ११ पुस २०८१ १५:०७ बिहीबार