अर्थ

साग र धनियाँ बेचेर बालबालिकाको स्कुल फि!

जुम्लाको चन्दननाथ नगरपालिका-९ बयालकाटिया गाउँकी तारा गिरी घरको काम सकेर आफ्नो बारीमा मेहेनत गर्छिन्। साझँपख हरियो साग र धनियाँ टिपेर मुठा बनाउने उनको दैनिकी छ। उनले प्रत्येक दिन ६० मुठा साग र ५० मुठा धनियाँ बेच्छिन्।

प्रतिदिन ६ सय हरियो साग र ५ सय रुपैयाँ धनियाँबाट उनले आम्दानी गर्छिन्। उनकाे बारीमा लगाएको साग र धनियाँ ल्याउन जुम्ला बजारदेखि व्यापारी बारीमै पुग्छन्। ताराले हरियो साग र धनियाँ बेचेर दैनिक एक हजार एक सय आम्दानी गर्दै आएको बताइन्।

साग, धनियाँ बिक्री गरेर घर खर्च चलाउन सहज बनेको सुनाइन्। ‘घरको कामकाज सकाएर दुई भारी बारीमा मेहेनत गर्छु। साग र धनियाँ प्रतिमुठाकाे १० रुपैयाँमा बिक्री गर्छु। बारीमा साग, धनियाँ लगाएकी छु,’ ताराले भनिन्, ‘त्यही सागबाट घर खर्च राम्रोसँग चलिरहेको छ।’

उनी प्रत्येक दिन साझँपख घरायसी काम सक्ने बित्तिकै बारीमा गएर हरियो साग टिप्ने गर्छिन्। बजारमा हरियो साग किन्नेको हानाथाप हुने गरेको गर्छ। उनलाई घरको बारीमा थोरै मेहेनतले घर खर्च चलाउन सकिने जानकारी दिइन्।उनी जस्तैः उक्त बयालकाटिया गाउँका धेरै महिलाहरूले हरियो साग र धनियाँ बेच्न थालेकी छन्। अन्य तरकारीको तुलनामा हरियो साग तुरुन्त बिक्री हुने गरेको उनीहरू बताउँछन्।

चन्दननाथ नगरपालिका-९ कै लालकुरा गिरीले साग र धनियाँ उत्पादन गरी परिवारको गुजारा चलाउँदै आएकी छन्। हरियो सागबाट बालबालिकाको स्कुल फि तिर्न, अन्य घर खर्च चलाउन सजिलो हुने गरेको उनको अनुभव छ। उनले हरियो सागबाट आएको आम्दानीबाट केही रकम बचत पनि गरेको बताइन्।

‘एक भारी जग्गामा धनियाँ र साग लगाउँदै आएकी छु, अहिले बारीमा साग मात्र छ,’ लालकुराले भनिन्, ‘दैनिक ५० मुठा साग र ३० मुठा धनियाँ बिक्री गर्छु, आम्दानी पनि राम्रै छ।’ उनले पनि साग बेचेरै दैनिक पाँच सय र धनियाँबाट तीन सय रुपैयाँ आम्दानी हुने गरेको सुनाइन्।

आजभोलि जुम्लाको सदरमुकाम खलंगा बजारमा साग र धनियाँको अत्यधिक माग बढेको छ। माग बढेको बेला बिहान सबेरै र साँझपख साग र धनियाँको व्यापार धेरै हुने गरेको किसानहरूले बताएका छन्। अहिले साग बेचेर किसानले मनग्य आम्दानी गरिरहेका छन्।

जुम्लाको प्रमुख व्यापारिक केन्द्र खलंगा बजारमा साग र धनियाँ प्रति मुठाकाे १५ रुपैयाँमा खुद्रामा बिक्री भइरहेको किसानको भनाइ छ। खलंगा बजार र छेउछाउका गाउँका किसानले बिक्री गर्न ल्याउने हरियो साग, धनियाँ सजिलै बिक्री हुने गर्दछ।

यस्तै अर्की राजकन्या गिरी पनि साग, धनियाँ बेचेर मनग्य आम्दानी गर्न सफल भएकाे बताउँछिन्। हरियो साग बेचेर प्रतिदिन ५ सय रुपैयाँ कमाइ गर्छिन्। दैनिक ५० मुठा साग बेच्छिन्। उनीहरूलाई गाउँमा सडक पुगेपछि व्यावसायिक बन्न सजिलो भएको बताउँछन्। 'सदरमुकाम खलंगादेखि गाउँसम्म सडक बनेपछि गाउँको कृषि उत्पादनले बजार पाएको छ,' राजकन्याले भनिन्, 'पहिले–पहिले साग त्यत्तिकै कुहिएर जान्थ्यो, गाईबस्तुलाई खुवाउनुपर्थ्यो, अहिले बजारमा बिक्री हुन्छ।'

त्यो बयालकाटिया गाउँमा ८० घरधुरी छन्। ४० घरधुरीले प्लास्टिक घर (ग्रिन हाउस) मा साग र धनियाँ खेती गर्दै आएका छन्। यहाँको साग र धनियाँ जैविक र स्वादिलो हुने हुँदा उपभोक्ताको पनि रोजाइमा पर्ने गरेको छ। यता उक्त गाउँका बुद्धिजीवी तुलराज गिरी ( उमेश) का अनुसार एक प्लास्टिक घरभित्र उत्पादन गरेको साग र धनियाँदेखि २५ हजार रुपैयाँ कमाउँछन्।

प्रकाशित: ११ पुस २०८१ ०८:५४ बिहीबार

#Jumla #agriculture #NagarikNews