मंसिर महिनामा ८४ हजार २२६ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार यो अघिल्लो महिनाको भन्दा झण्डै १४ हजारले बढी हो । कात्तिक महिनामा ७० हजार ९९० जनाले श्रम स्वीकृति लिएका थिए ।
मंसिरमा नेपालीहरुले एक सय देशमा काम गर्न श्रम स्वीकृति लिएका हुन् । पछिल्लो समय खाडी मुलुकसहित युरोपका विभिन्न देशमा समेत नेपाली कामदारहरु प्रसस्तै जाने गरेका छन् ।
विभागका अनुसार, मंसिरमा म्यानपावरमार्फत २८ हजार ८६८ जनाले श्रम स्वीकृति लिएका थिए । जसमा पुरुष २६ हजार ४९ जना र महिला २ हजार ८१९ जना छन् । व्यक्तिगत तवरबाट १३ हजार ५९ जना, जीटुजीमार्फत ९७९ र ४१ हजार ३२० जनाले पुनः श्रम स्वीकृति लिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
मंसिरमा सबैभन्दा धेरै यूएई उडेका छन् । यूएई जान २४ हजार ७६९, साउदी अरेबिया जान १८ हजार ११८, कतार जान १४ हजार ८४४, कुवेत जान ६ हजार ६६९ जनाले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागले जनाएकाे छ ।
प्रकाशित: १० पुस २०८१ १६:०२ बुधबार