यस वर्ष उदयपुरमा धान उत्पादन बढेको छ। गत वर्षको तुलनामा चालु आर्थिक वर्ष धान खेती लगाइएको जमिन र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्र उदयपुरले जनाएको छ।
ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवका अनुसार यस वर्ष १२ हजार ७ सय ९४ हेक्टरमा धान खेती लगाइएको थियो। जसमा प्रतिहेक्टर ४.५ मेट्रिक टनका दरले धान उत्पादन भएको छ। यस वर्ष ५७ हजार ५ सय ७३ मेट्रिक टन धान उत्पादन भएको केन्द्र प्रमुख यादवले जानकारी दिए।
यो उत्पादन गत वर्षभन्दा ० दशमलव ५ प्रतिशतले बढी हो भने खेतीको क्षेत्रफल पनि २ हेक्टर बढीमा धान लगाइएको हो। गत वर्ष प्रतिहेक्टर ४ मेट्रिक टनका दरले फलेको थियो। सो अनुसार गत वर्ष ५१ हजार १ सय ६८ मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष पोहोरभन्दा ६ हजार ४ सय ५ हेक्टर बढी धान फलेको ज्ञान केन्द्र प्रमुख यादवले बताएका छन्। गत वर्ष १२ हजार ७ सय ९२ हेक्टर क्षेत्रफल जमिनमा धान खेती लगाइएको तथ्याङ्क ज्ञान केन्द्रसँग छ।
उदयपुरमा विभिन्न आधा दर्जन प्रजातिका धान उत्पादन हुँदै आएको छ। किसानले ठाउँ र हावापानी अनुसार फरक फरक प्रजातिको धान लगाउने गरेका छन्। जस अनुसार रञ्जित, राधा–१२, हर्दिन, सभामन्सुली र लल्का बाँसमति प्रजातिका धानको खेती लगाउने गरिएको ज्ञान केन्द्रले जनाएको छ।
उदयपुरका तराई तथा भित्री मधेस र पहाड सबैतिर छ्यासमिस धान खेती गर्ने गरिएको छ। मुख्य गरी तराई र भित्री मधेस क्षेत्र धान खेतीका लागि ‘अन्न भण्डार’ मानिन्छ। पहाडी भेगमा भने सिँचाई सुविधा पुगेका बेँसी र खोला खोल्सी किनारका जमिनमा मात्र धान खेती गर्ने गरिएको छ। चिसो र उच्च ठाउँका सीमित जमिनबाहेक प्रायः जिल्लाका सबै भूभागमा धान उत्पादन हुन्छ तर, सिँचाई सुविधा नपुगेका कारण खेती गर्न नपाइएको कृषक बताउँछन्।
सदरमुकाम त्रियुगा नगरपालिकाका पहाडी वडाहरूबाहेक बाँकी ११ वडा तराई र भित्री मधेस क्षेत्र भएकाले सबैमा धान खेती लगाउने गरिएको छ। १४, १५ र १६ नं. वडाहरू भने पहाडी भेगका भएकाले खोला किनार र सिँचाई पुगेका जमिनमा मात्र धान उत्पादन हुने गरेको छ। बाँकी १ देखि ११ वडा भने समथर जमिन भएकाले सिँचाई सुविधा भए कुलो पैनी नभएको ठाउँमा आकाशे पानीकै भरमा पनि धान खेती गर्ने गरिएको छ । त्रियुगा नदी, बरुवा खोला, कङ, लुहाले, ठाडी, सरस्वती, शाही, असारीलगायत दर्जन खोला खोल्सीहरू त्रियुगा नगरमा धान खेती गर्ने सिँचाईका स्रोत हुन्।
त्यसैगरी अर्को ठूलो नगरपालिका कटारीका १ देखि ७ नं. वडासम्मका सबै भूभाग भित्री मधेस र खोँच क्षेत्र भएकाले अत्याधिक धान खेती लगाउने गरिएको छ। तावा, वैद्यनाथ, कुकुर र कमला नदीको पानीले त्यस भेगको खेतमा सिँचाई सुविधा पुगेको छ भने छाउरी, भोर्ले, साँगुरी, पातलेलगायत खोल्सीहरू सिँचाईका सहायक स्रोतहरू रहेका छन्।
कटारीकै पहाडी वडाहरूमा पनि धेरथोर धान खेती लगाउने गरिएको छ। वडा नं. ८, ९, १०, ११, १२, १३ र १४ नं. का खोँच र खोला किनार आसपासका जमिनमा सिँचाई व्यवस्था गरेर धान उत्पादन गर्ने गरिएको नगरपालिका कृषि शाखाले जनाएको छ। पहाडी वडामध्ये १४ नं. घुर्मी क्षेत्र आसपासको जमिन धान खेतीका लागि उर्वर मानिन्छ।
उता चौदण्डीगढी र बेलका नगरका पनि समथर क्षेत्रमा धान खेती गर्ने गरिएको छ। बेलकाका ५, ६ र ७ नं. बाहेकका १, २, ३, ४, ८ र ९ नं. पुरै समथर भूभाग भएकाले धान खेतीका लागि उर्वर छ। सिसुवा, गिनेरी, सेती, काली, डडुवा खोलाहरू बेलकाका धान खेती गर्ने सिँचाई स्रोत हुन्। त्यसैगरी चौदण्डीगढीका १, २ र ८ नं. बाहेक ३, ४, ५, ६, ७, ९ र १० नं. वडा सबैमा धान खेती लगाउने गरिएको छ। चौदण्डीका द्वार खोला, हाट खोला, भुल्के, कुवाखन, पञ्चमीलगायत खोलाबाट सिँचाई सुविधा व्यवस्था गरिएको छ।
पहाडी भेगका लिमचुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाईका पनि होचो भेग र खोला किनार आसपासको जमिन राम्रो धान उत्पादन हुने ठाउँ हो। तर, जमिन उर्वर भए पनि सिँचाई सुविधा नभएकाले धेरैजसो भूभाग विना सिँचाईको बालीमै किसान निर्भर हुनु परेको छ । कतिपय भूभागमा त सुद्ध खानेपानीसम्म व्यवस्था नभएकाले धान खेतीका लागि सिँचाई पु¥याउने कल्पनासम्म गर्न नसक्ने अवस्था छ । सिँचाई नभएकै कारण धान फल्ने उर्वर जमिन धेरैजसो बाँझो र आकाशे पानीको भरमा हुने बाली लगाउन किसान बाध्य छन्।
प्रकाशित: १० पुस २०८१ १३:०८ बुधबार