अर्थ

पाँच महिनामा कटारीको बजेट खर्च साढे १५ प्रतिशत

समग्र देशको बजेट खर्च अवस्था अनुसार स्थानीयतहहरुले पुँजीगत बजेट उत्साहजनक रुपमा खर्च गर्न सकिरहेका छैनन्। गत वर्षजस्तै चालु वर्ष पनि आर्थिक वर्षको ६ महिना ‘रनिङ’ भईरहदासम्म पुँजीगत बजेटको खर्च अवस्था रुग्न देखिन्छ।

आर्थिक वर्ष सुरु भएको ५ महिना अर्थात मङ्सिर मसान्तसम्म उदयपुरको कटारी नगरपालिकाको पुँजीगत खर्च १३.३३ प्रतिशत मात्र भइरहेको छ। यद्यपि गत वर्षको तुलनामा यो खर्च उत्साहजनक नभए पनि निराशाजनक भने होइन। गत साउन २७ गते सम्पन्न ‘१३ औँ नगरसभाले पारित गरेको बजेट तथा नीति कार्यक्रमले चालु वर्ष ८६ करोड ८१ लाख ६४ हजार ८ सय ४३ रुपैयाँ खर्च हुने अनुमानित आयव्यय पारित गरेको थियो।

जसमा सङ्घ, प्रदेश तथा दुवैतर्फ समपूरक र विशेष गरी पुँजीगततर्फ २१ करोड ६५ लाख २६ हजार ४ सय २१ रुपैँया खर्च हुने प्रक्षेपण सभाले गरेको थियो। विनियोजित पुँजीगततर्फ बजेट हालसम्म २ करोड ८८ लाख ६२ हजार ९ सय ७२ रुपैँया अर्थात १३.३३ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलाले बताए। विकास निर्माणको काम भएकाले योभन्दा दोब्बर बढी काम भइसके पनि भुक्तानीको आकार सानो भएको पनि हाकिम निरौलाको भनाई छ।

‘विकास निर्माणको काम भएकाले कतिपय योजनाको रनिङ बील प्राप्त भएको तर, भुक्तानी हुन बाँकी छ र कतिपय योजनाहरू सम्पन्नको सम्मुख पुगिसकेको अवस्था छ’ हाकिम निरौलाले भने ‘अहिलेसम्म भुक्तानी भएको प्रतिशत चाहिँ १३.३३ प्रतिशत हो । खासमा यसको दोब्बर अङ्कले पुँजीगत बजेटको प्रगति भएको हुनसक्छ ।’ सारमा पुँजीगत खर्च उत्साहजनक नभए पनि निराश हुने खालको नभएको उनी बताउँछन्।

कटारीले चालुतर्फ भने हालसम्म २८.२१ प्रतिशत खर्च गरिसकेको जनाएको छ । जस अनुसार बितेको ५ महिनामा कटारीको चालुतर्फको खर्च १८ करोड ३६ लाख ६८ हजार ४ सय ५८ रुपैँया भएको छ। चालु वर्षका लागि कटारी नगर सभाले सङ्घीय सशर्त अनुदान ४० करोड ६६ लाख ५५ हजार, सङ्घतर्फकै वित्तीय समानीकरण १२ करोड ६६ लाख ६० हजार प्राप्त हुने अनुमान गरेको थियो। त्यसैगरी राजश्व बाँडफाँडबाट प्राप्त ४० लाख तथा प्रदेशतर्फm सशर्त चालु ७४ लाख ३८ हजार प्राप्त गर्ने अनुमान सभाले गरेको थियो।

कटारीले गएको ५ महिनामा राजश्व सङ्कलन १ करोड २१ लाख २२ हजार ८ सय ७७ रुपैँया गरिसकेको छ। झण्डै साढे ४ करोड वार्षिक राजश्व सङ्कलन गर्ने प्रक्षेपण गरेको नगरपालिकाले हालसम्मको सङ्कलनलाई सन्तोषजनक मानेको राजश्व शाखाका हिरालाल अधिकारी दनुवारले बताएका छन्।

कटारी नगरले चालु वर्षका लागि १४ वटै वडालाई न्यूनतम ७० देखि अधिकतम साढे ७१ लाखसम्मको वडा सिलिङ पारित गरेको नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताएका छन् । उनका अनुसार जसका लागि ९ करोड ९२ लाख रुपैँया बजेट नगर सभाले विनियोजन गरेको छ । जनसङ्ख्याको आकार, भौगोलिक अवस्था र राजश्व सङ्कलनको आधारमा कुनै वडामा बढी र केहीमा कम बजेट विनियोजन गरिएको मेयर श्रेष्ठले बताए। 

प्रकाशित: ९ पुस २०८१ १६:४७ मंगलबार