अर्थ

टरिगाउँ विमानस्थल विस्तारको प्रयास

तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ। सत्ता साझेदार दलका नेताहरूले विमानस्थल विस्तारको प्रयास थालेका हुन्।

आइतबार लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल र नेपाली कांग्रेसका नेता पूर्वसिँचाईमन्त्री एवं दाङ निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य दीपक गिरीले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेलाई भेटेर टरीगाउँ विमानस्थल धावन मार्गको स्तरोन्नतिका लागि छलफल गरेका हुन्।

उनीहरूले धावनमार्ग विस्तारका लागि बजेटका साथै जग्गा व्यवस्था गर्न अनुरोध गर्दै विमानस्थलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) पनि प्रस्तुत गरेका थिए।

पूर्वमन्त्री गिरीका अनुसार विमानस्थल विस्तारका लागि तीन अर्ब, ४२ करोड २८ लाख रूपैयाँ लाग्ने अनुमानसहित मन्त्री पाण्डेयसमक्ष डिपीआर प्रस्तुत गरिएको हो। सात सय ५० मिटर लामो धावनमार्गलाई एक हजार पाँच सय मिटरमा विस्तार गर्ने प्रस्ताव डिपीआरमा भएको छ।  

प्रकाशित: ८ पुस २०८१ ०८:१२ सोमबार

# Power partner party # Tulasipur