अर्थ

प्रतिव्यक्ति औसत आय १ हजार ७ डलर

बुटवल – प्रदेश ५ को विकासका लागि योजना तथा बजेट तर्जुमा गर्न सहज होस् भन्ने उद्देश्यले सरकारले आर्थिक तथा सामाजिक स्थितिपत्र र्सावजनिक गरेको छ। मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार संसद् बैठकमा स्थितिपत्र सार्वजनिक गरेका हुन्।

स्थितिपत्र अनुसार यो प्रदेशको गरिबी दर २५.८ प्रतिशत छ। यो प्रदेश शिक्षा र स्वास्थ्यमा पनि पछाडि देखिएको छ। यहाँको साक्षरता दर ५९ प्रतिशत छ। करिब ५ हजार ८ सय विद्यालय रहेको यो प्रदेशमा १३ लाख विद्यार्थी छन्। पढाइ छोडने अनुपात औसत ४.६५ प्रतिशत छ। यस प्रदेशमा १२४ वटा प्राविधिक शिक्षालय र ४ वटा मेडिकल कलेज सञ्चालनमा छन्।

प्रदेशमा करिब ५६ प्रतिशत  घरधुरीमा मात्र शौचालय छ। ८८ प्रतिशतले मात्रै खानेपानी सुविधा उपभोग गर्न पाएका छन्। प्रदेशमा झन्डै  ३५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा पुग्न सकेको छैन। ग्रामीण भेगमा स्वास्थ्य सेवा सहज पुग्न नसकेको प्रतिवेदनमा उल्लेख छ। जटिल रोगको उपचारका लागि प्रदेशबाहिर जानुपर्ने अवस्था रहेको स्थितिपत्रमा उल्लेख छ।

यो प्रदेशका जनताको वार्षिक प्रव्यिक्ति आय औसत १ हजार ७ अमेरिकी डलर छ। जुन राष्ट्रिय आयभन्दा १६० डलरले कम हो। मानव विकास प्रतिवेदन २०१४ का अनुसार यो प्रदेशको औसत मानव विकास सूचकांक ०.४६१ छ, जुन राष्ट्रिय औसतभन्दा कम हो। यो प्रदेशमा ११ हजार किलोमिटर सडक रहेको स्थितिपत्रमा उल्लेख छ।

जनसंख्याको ४१ प्रतिशतमात्रै आर्थिक रुपले सक्रिय छन्। अर्घाखाँचीमा सबैभन्दा बढी ५१.७ प्रतिशत माानिस कुनै न कुनै आर्थिक उपार्जनमा सक्रिय छन भने बाँकेमा सबैभन्दा कम ३५ प्रतिशत मानिस आर्थिक रुपमा सक्रिय छन्। प्रदेशको कुल उत्पादनमा कृषिको ४५.६ र  व्यापारको १४.३ प्रतिशत योगदान छ। अर्थतन्त्रमा जग्गा कारोबार तथा घरभाडाले ८.० प्रतिशत, निर्माण क्षेत्रले ५.८ प्रतिशत र उत्पादनमूलक उद्योगले ५.२ प्रतिशत योगदान दिएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै  यो प्रदेशले देशको कुल ग्राहस्थ उत्पादनमा १४.८ प्रतिशत योगदान दिएको छ।

स्थितिपत्र अनुसार पर्यटन, कृषि र उद्योगलाई विकासको मुख्य आधार मानिएको ५ नम्बर प्रदेशमा बन क्षेत्र ४८ र कृषि भूमि २२ प्रतिशत छ। प्रदेशमा कृषिले कुल ग्राहस्थ उत्पादनको ४५ प्रतिशत योगदान दिएको छ। प्रदेशमा ठूला मझौला उद्योग ९ सयको हाराहारीमा रहेको स्थितिपत्रमा उल्लेख छ। जहाँ ४० हजारले रोजगारी पाएका छन्। सबैभन्दा धेरै रुपन्देहीमा ३२० उद्योग छन्। त्यसपछि बाँकेमा १८५, कपिलवस्तुमा ११० ठूला मझौला उद्योग छन्। रोल्पामा एउटामात्र उद्योग छ। पर्यटनतर्फ मुलुकमा आउने कुुल पर्यटकको एक चौथाइले यस प्रदेशको भ्रमण गछन्। आन्तरिक पर्यटनमा यो अग्रणी स्थानमा छ। वार्षिक १५ लाख पर्यटकले लुम्बिनीको भ्रमण गर्छन्।

त्यस्तै यो प्रदेशमा नौ सय बैंक तथा वित्तीय शाखा सञ्चालनमा छन्। रुपन्देहीमा सबैभन्दा बढी वाणिज्य बैंकका ११५ शाखा छन्। सबैभन्दा कम रोल्पामा ६ वटा छन्। रोल्पामा विकास बैंकको उपस्थिति अझै छैन। यो प्रदेशमा सहकारी संस्था  चार हजारभन्दा बढी छन्। एक्काईसवटा राष्ट्रिय गौरवका आयोजनामध्ये ५ वटा  यसै प्रदेशमा छन्। ती आयोजनामा सिक्टा सिँचाइ, बबई सिँचाइ, भेरी बबई ड्राइभर्सन, गौतम बुद्ध विमानस्थल, लुम्बिनी विकास कोष छन्।

मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र पूर्व पश्चिम रेलमार्ग र कालिगण्डकी कोरिडर जस्ता आयोजना प्रदेशको समृद्धिमा कोसेढुंगा साबित हुने आसा लिइएको छ। भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएपछि यो प्रदेश क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमै जोडिनेछ। यसले बहुआयामिक विकासका लागि नयाँ ढोका खोल्ने विश्वास लिइएको छ। प्रदेशमा लाइमस्टोन, कोइला, फलाम, तामा, डोलामाइट, सुन, सीसा, र ढुगाको खानी रहेको र ती खानीसँग जोडेर भौगोर्गिक पर्यटनको विकास गर्न सकिने स्थितिपत्रमा उल्लेख छ।

विद्यमान आर्थिक, सामाजिक तथा वित्तीय पूर्वाधारको अवस्थालाई सृदृढ र उन्नत गर्दै जाँदा  विकास र समृद्धिमा फड्को मार्न अनुकूल स्थिति बन्ने मुख्यमन्त्री पोखरेलले बताए।

स्थितिपत्र अनुसार १२ जिल्ला रहेको यो प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका गरी १०९  स्थानीय तह छन्। १७ हजार ८१० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो प्रदेशको जनसंख्या ४४ लाख ५८ हजार २५३  छ। जसमा ४७.५७ प्रतिशत पुरुष र ५२.४३ प्रतिशत महिला छन्।

प्रकाशित: ३० चैत्र २०७४ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App