अर्थ

खाना महोत्सवमा सहभागीको आकर्षण बढ्दो

गाईघाटमा आयोजित खाना महोत्सव। तस्विरः महेश्वर

गाईघाटमा सञ्चालित ‘तेस्रो खाना परिकार मेला तथा प्रदेशस्तरीय प्रतियोगितात्मक लाखे नाच महोत्सव ०८१’मा सहभागी बढ्दै गएका छन्। ३ दिनअघि सुरु मेलामा दैनिक ५ हजारसम्मको जमघट हुन थालेको आयोजक झिगु नेवाः पुचः उदयपुरले जनाएको छ।

पुचःका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठका अनुसार महोत्सवमा विभिन्न जातजाति तथा समुदायको परम्परागत तथा सांस्कारिक खानाका परिकारहरूको बिक्री तथा प्रदर्शनी भइरहेको छ। मेलामा किराँती, नेवारी, दनुवार, थारु, मगर, तामाङ र नेपाली खानाका परिकारहरूको स्टल राखिएका छन्। नामै खाना परिकार मेला भएकाले खास गरी स्थानीय रैथाने र लोपोन्मुख खानाका परिकारको संरक्षण र संवर्द्धन गर्नकै लागि महोत्सव आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ।

स्थानीय परिकारमा राई समुदायको लोकल कुखुराको भित्राँश र भुत्ला डढाएर चामलमा पकाइएको तितो ब्रियानी (वाचिपा), कोदोको जाँड, रक्सी, नेवारको योमरी, चिउरा (बजी), ऐला (रक्सी), दनुवारको अण्डी (लोपोन्मुख धानबाट बनेको जाँड), थारु समुदायको घुँगी (खाने शङ्खे किरा) को तरकारी, मगरको सेल रोटी, तामाङको तुङ्वा, अण्डालगायत लोपोन्मुख तथा स्वादिला परिकारहरूमा सहभागीको भीड लाग्ने गरेको छ। खरायोको रोस्ट स्टल पनि भिडभाडका साथ चलिरहेको छ।

अर्को आकर्षण हरेक दिन सांस्कृतिक कार्यक्रम आयोजना गरिँदै छ। खस आर्यका शङ्ख फुक्ने, किराँती राईको साकेला, मगरको हुर्रा, तामाङको डम्फु, नेवारको लाखे, दनुवारको रामदल, थारुको जितिया नृत्य प्रतियोगिता फरक फरक तर, प्रत्येक दिन आयोजना गरिँदै आइएको छ। प्रतियोगिता विजेताहरू प्रथम, दोस्रो र तेस्रोसम्मलाई नगद पुरस्कार प्रदान गर्ने गरिएको आयोजकले जनाएको  छ।  

प्रकाशित: ५ पुस २०८१ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App