पोखरामा पर्यटकीय गतिविधि बढाउने उद्देश्य सहित यो वर्ष पनि चिनियाँ ड्रागन बोट रेस प्रतियोगिता हुने भएको छ। फेवातालमा हुने यो प्रतियोगिताको दोश्रो संस्करण हो। प्रतियोगिता पुस १३ देखि १५ गतेसम्म संचालन हुने आयोजकले बताएको छ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने यो प्रतियोगिताले बढीभन्दा बढी चिनियाँ पर्यटक पोखरामा भित्र्याउन सघाउने र पोखराको प्रवद्र्धन पनि चीन हुने अपेक्षा आयोजकको छ। पोखरा सहित गण्डकी प्रदेशको आर्थिक समृद्धि, स्वरोजगार तथा आत्मनिर्भरताका लागि पोखराको पर्यटनलाई योजनाबद्ध रुपमा अघि बढाउनका लागि यस्ता गतिविधि आवश्यक रहेको आयोजकले बताएको छ।
प्रतियोगिताका बारेमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार प्रतियोगितामा नेपालका ११, चीनका ८ र सिंगापुरको एक सहित २० वटा टिमले प्रतिश्पर्धा गर्नेछन्। ‘प्रतियोगिताले नेपाल–चीन सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरालाई वाटर स्र्पोटसको नयाँ सम्भावनाको खोजीमा सघाउने, पोखराका ताललाई नयाँ आकर्षणको रुपमा विकास गर्न सघाउने पनि उनले बताए।
पोखरा मात्र नभई आसपासका पर्यटकीय गन्तव्यको प्रर्वद्धन गर्न पनि यसले सघाउने उनले बताए। फेस्टिभल गर्नकै लागि चीनबाट पोहोर आठवटा विशेष डुंगा समेत पोखरा ल्याईएको थियो। तिनै डुंगामार्फत फेवातालमा २ सय र ५ सय मिटर दूरीमा प्रतिश्पर्धा गराइने आयोजकले बताएको छ।
नेपाल चीन मित्रताको प्रतीकका रुपमा पोखरामा अघिल्लो महिना भएको क्रसकन्ट्री दौड र अब हुने ड्रागन बोट रेस रहेको मेयर आचार्यले बताए। ‘अफसिजनको बेलामा पोखरालाई चलायमान बनाउनका लागि सडक महोत्सवको तयारी छ। यहीबेला हट एयर बेलुनको प्रतियोगिता पनि हुँदै। ड्रागन बोट रेसमार्फत थप पाहुना पोखरा ल्याउने उद्देश्य हो,’ उनले भने। उनले पोखराम हुने यी गतिविधिले पोखरालाई पर्यटन क्षेत्रमा चलायमान बनाउन सघाउने पनि बताए।
‘कुनै न कुनै कार्यक्रम गर्दा आर्थिक गतिविधि पनि बढ्छ । त्यस्तै सकारात्मक सन्देश पनि प्रवाह हुन्छ। खेल पर्यटन ठूलो खर्च गर्ने क्षेत्र हो। नियमित रुपमा पोखरामा खेल पर्यटन गतिविधि हुँदा यसले पर्यटनमा लाभ दिलाएको छ,’ मेयर आचार्यले भने, ‘अहिले पनि पोखरामा कुनै न कुनै गतिविधि भईरहेका छन। पोखराको पर्यटन प्रर्वद्धनमा यी कार्यक्रम सहयोगी बनेका छन।’
उनका अनुसार चीनले नै नेपालका लागि भनेर नै नेपाल भ्रमण वर्ष २०२५ मनाउने चीनको तयारी छ। उक्त भ्रमणले नेपालमा थप चिनियाँ पाहुना भिभिने अपेक्षा रहेको उनले बताए। वर्षमा करिब १५ करोड चिनियाँ पाहुना घुमघामका लागि देश छाड्ने गरेकोमा ती मध्ये केही आकारमा चिनियाँ पाहुना पोखरा भित्र्याउन सकिने अवस्था रहेमा त्यसले पोखराको प्रवद्र्धन हुने मेयर आचार्यले बताए।
‘चीनबाट ठुलो संख्यामा बाहिरिएकाम ध्ये थोरै भएपनि पाहुना पोखराले पाउँदा पर्यटन प्रवद्र्धन हुने अपेक्षा छ,’ उनले भने। पोखराको यो प्रतियोगितामा नेपाल ड्रागन बोट एशोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिजन चाइनिज एशोसिएसन पनि सह आयोजकको रुपमा रहेका छन्।
यसैबीच पोखरामा बुधबारदेखि तीनदिने फेवासंवादको तयारी छ। त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालय अन्तर्गत रहेको चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एशियाका विकल्प’ विषयमा आधारित रहेर संवाद कार्यक्रम हुने मेयर आचार्यले जानकारी दिए।
नेपालकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी समेत यो कार्यक्रममा सहभागि हुने उनले जानकारी दिए। यसवर्षको फेवा संवादले दक्षिण एशिया, दक्षिणपूर्व एशिया र चीनबाट सहभागीलाई आकर्षित गर्ने अपेक्षा रहेको उनले बताए। कार्यक्रममा अन्तर्राष्ट्रिय संगठनका नेता, थिंक ट्यांकका प्रतिनिधि, साथै अन्तर्राष्ट्रियस्तरका विज्ञहरु पनि सहभागि हुने उनले बताए।
प्रकाशित: २ पुस २०८१ १७:४० मंगलबार