अर्थ

विदेशको कष्ट सम्झेर स्वदेशमा उद्यमी

उद्योगमा उत्पादित डुनोट बजार लैजान प्याक गर्दै अशोक राई ।तस्बिर : दमन/नागरिक

खोटाङ – रोजगारीका सिलसिलामा दुबई नपुगेको भए खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका अशोक राई अचेल युवा राजनीति गरिरहेका हुन्थे।

तर, विद्यार्थी राजनीतिलाई थाँती राखेर २०६८ मा दुबई पुगेका अशोकले पाँच वर्षपछि घर फर्किएर दिक्तेलमा डुनोट र बटारे (क्रिमरोल) उद्योग सुरु गरेका छन्।२०७३ पुस २१ गते दुबईबाट फर्किएका ३१ वर्षीय राईले दिक्तेलको अस्पताल चोकमा डुनोट उद्योग सुरु गरेका हुन् । लामो समय विदेशमा श्रम गरी कमाएको पैसा लगानी गरेर गत मंसिरदेखि डुनोट उद्योग सुरु गरेको राईले बताए । विदेशमा काम गर्ने बेला स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच बनाएका उनले थोरै लगानीमा चाँडो प्रतिफल दिने व्यवसाय सुरु गरेका हुन्।

दुबईमा लामो समय रासायनिक पदार्थ सेल्समेनको काम गरेका अशोकले बेकरीमा समेत नौ महिना काम गरेका थिए । उनले दैनिक १४ सय डुनोट उत्पादन गर्छन् । उत्पादित डुनोटले बजारको माग धान्न नसकेको उनको भनाइ छ । अन्य डुनोटभन्दा ठूलो र स्वादिष्ट भएकाले छोटो समयमै दिक्तेल बजारमा उनको डुनोटले बजार लियो । १४ सय डुनोट बनाउँदा १० हजार लगानी हुने र तीन हजार नाफा हुने राईले बताए।

उनी दैनिक बिहान ३ बजे उठ्छन् । १० केजी मैदाको डुनोट तयार पारेर तेलमा तार्छन् । बिहान ७ बजे पसलमा पु¥याइसक्छन् । ‘सम्भवतः यहाँ बिहान ३ बजे उठेर काम गर्ने मान्छे बिरलै होलान्,’ अशोकले भने, ‘३ बजे उठेर डुनोट तयार गरी बिहान ७ बजे पसलमा पु¥याउने जाँगर विदेशमा गरेको दुःखकै प्रतिफल हो । विदेशमा दुःख नगरेको भए त्यो बेलासम्म मस्त निन्द्रामा हुने थिएँ।’

डुनोटसँगै बटारे उत्पादन गर्नु र दिक्तेलको अस्पतालचोकदेखि हाटडाँडा, भवनगैरा, त्रिवेणीचोक, रत्नपार्कलगायतका होटल तथा चिया पसलमा पु¥याउनु अशोकको दैनिकी हो। विदेशमा १० नंग्रा खियाएर कमाएको पैसालाई उत्पादनमूलक काममा खर्च नगरेको आक्षेपबाट उनी जोगिएका छन् । आफ्नै ठाउँमा उत्पादनमूलक काम गर्न पाएकामा उनलाई सन्तोष मिलेको छ । आफ्नो उद्योगका लागि विदेशमा जस्तो मालिकको आदेशमा काम गर्न पर्दैन।

आफूले सकेको मेहनत गर्दा राम्रै कमाइ हुन्छ । ‘दुःख गर्न बिदेसिनु पर्दैन, हामी आफ्नै ठाउँमा काम गर्न लजाउँछौं,’ अशोकले भने, ‘श्रम गरे त यहाँ पनि हुने रहेछ नि !’परिवार, समाज, साथीभाईसँग भेटघाट गर्दै आफ्नै ठाउँमा व्यवसाय गर्न पाउँदा अशोक आनन्द महसुस गर्छन् । विदेश बसाइले कामको असाध्यै माया लाग्ने र जाँगर पनि चल्ने भएकाले आफ्नो पेसाप्रति एकाग्र भएर लाग्ने गरेको उनले बताए।

उनलाई श्रीमती र बहिनीले साथ दिएका छन् । डुनोट उत्पादन र वितरणका काममा एकजनाले रोजगारी पाएका छन् । उनले आफ्नै पसलबाट पनि ग्राहकलाई चिया तथा डुनोट बिक्री गर्छन् । ‘दुबईमा करिब १५ लाख कमाइ गरें,’ राईले भने, ‘त्यो पैसा कसरी कमाएँ, झलझली आँखामा आउँछ । त्यही दुःख सम्झेर पनि आफ्नो काममा खट्ने गरेको छु ।’ उनी नेविसंघको राजनीति गर्दागर्दै बिदेसिएका थिए ।


 

प्रकाशित: २९ चैत्र २०७४ ०२:०६ बिहीबार

विदेशको कष्ट सम्झेर स्वदेशमा उद्यमी