अर्थ

भारत नेपाल टुरिजम मार्ट सम्पन्न

दुई देशबीच पर्यटन प्रवर्धन र विकासका लागि पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा भारतीय राजदूतावास, काठमाडौंको आयोजनामा काठमाडौंमा पहिलो भारत–नेपाल पर्यटन मार्ट सम्पन्न भएको हो।

सो अवसरमा भारतको उत्तर प्रदेशको प्रयागराजमा सन् २०२५ मा आयोजना हुने महाकुम्भ २०२५ को प्रवद्र्धन र नेपाल भारत सर्किट पर्यटनको कार्यान्वयनलाई बढावा दिन बिटुबी सेसनहरू आयोजना गरिएको थियो। सो अवसरमा भारतका १३ प्रतिनिधि र नेपालका एक सय २० जना टुर अपरेटरहरूको सहभागिता थियो।

बिटुबी तथा समापन समारोहमा विशेषगरी स्थलमार्गबाट सीमापार पर्यटन प्रवर्धन गर्ने विषयमा छलफल भएको थियो। दुवै पक्षका टुर अपरेटरहरूले रामायण र बुद्ध सर्किटको सन्दर्भमा दुवै पक्षका आगन्तुकहरूको लागि सम्भावित यात्रा योजनाहरूबारे छलफल गरेका थिए।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरीले सीमापार पर्यटन तथा स्थलमार्गबाट नेपाल आउने पर्यटकहरूमा भारतीय पर्यटकको योगदान प्रशस्त रहेको बताएका छन्। उनले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटन प्रर्वद्धनमा सहयोग पुग्ने उल्लेख गर्दै कार्यक्रको निरन्तरताको लागि आग्रहसमेत गरेका छन्।

सोही अवसरमा भारतीय दूतावासका चार्ज डे अफेयर्स प्रसन्न श्रीवास्तवले भारतीय दूतावासले नेपाल र भारतका छिमेकी राज्यहरूमा रहेका धार्मिक तथा सांस्कृतिक परिपथहरूको भौतिक तथा डिजिटल कनेक्टिभिटीमा जोड दिएको बताएका छन्। उनले यसबाट भारत र नेपाल बीचको पर्यटन प्रर्वद्धन हुने अपेक्षासमेत गरे।

यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सबैभन्दा ठूलो स्रोत भारत भएको बताउँदै पर्यटन बोर्डले समेत नेपाल–भारत पर्यटन प्रवर्धनका लागि विभिन्न पहलहरू तथा प्याकेजहरू तयार गर्ने गरेको बताए।

कार्यक्रममा उत्तर प्रदेश सरकारका पर्यटन अधिकारी कीर्तिले महाकुम्भ २०२५ बारे जानकारी दिइन्। यस्तै इन्डियन काउन्सिल अफ कल्चरल रिलेसन (आइसिसिआर) का कलाकारले नृत्य प्रस्तुत गरेका थिए।

यसै अवसरमा कार्यक्रममा सहभागी भारतीय क्रेताहरूलाई नेपाल पर्यटन बोर्डले जनकपुर र काठमाडौंका विभिन्न स्थानको भ्रमण गराएको थियो।

प्रकाशित: २७ मंसिर २०८१ ०८:२० बिहीबार

# India Nepal Tourism Mart completed