अर्थ

पोखरालाई आन्तरिक पाहुनाको गुन

पोखरा घुम्न आएका आन्तरिक पाहुना फेवाताल सयरको पर्खाइमा । तस्बिर ;सन्तोष/नागरिक

 

पोखरा –पोखराको पर्यटन क्षेत्रमा करिब ६० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको पुगेको छ । द्वन्द्वकालमा विदेशी पाहुनाको अभाव झेलेपछि पर्यटन क्षेत्रले बल्ल आन्तरिक पाहुनालाई महत्व दिएर पोखरा घुम्न बोलाउन थालेको थियो । त्यसैको परिणामस्वरुप अहिले आधाभन्दा बढी व्यापार आन्तरिक पाहुनाले धानेका छन्।

आन्तरिक पाहुनाको आगमनले पर्यटनसँग सम्बन्धित सबैखाले व्यवसायमा राहत मिलेको व्यवसायीको भनाइ छ । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्रले राहतको महसुस गरेको बताउँछन् । ‘आन्तरिक पाहुना नै अहिले पोखराको व्यवसायमा पहिलो प्राथमिकतामा छ,’ अध्यक्ष तुलाचनले भने, ‘द्वन्द्वकालको राहत बिर्साउन आन्तरिक पाहुनाको ठूलो भूमिका रहेको छ।’

उनका अनुसार द्वन्द्वभन्दा अगाडि आन्तरिक पाहुना फाट्टफुट्ट पोखरा आउँथे । तर, त्यो बेला पोखरा छिरेका आन्तरिक पाहुना लेकसाइडका होटलमा उत्तिसारो बस्दैनथे । पृथ्वीचोक क्षेत्रका होटलमा त्यो बेला भित्रिएका पाहुनाको बसोबास हुन्थ्यो । लेकसाइडका होटल र रेस्टुरेन्टले पनि आन्तरिक पाहुनालाई उत्तिसारो ‘भाउ’ (महत्व) दिन्नथे । तर, जब द्वन्द्व सुरु भयो, त्यसपछि विदेशी पाहुना कम भए । अनि व्यवसायीलाई व्यापार धान्न धौधौ भयो । त्यसपछि बल्ल व्यवसायीले आन्तरिक पाहुना खोज्न थाले । अनि आएका पाहुनालाई आतिथ्य प्रदान गर्न थाले।

‘पोखरा घुम्न आएका आन्तरिक पाहुनाले कुनै बेला यहाँका होटल र रेस्टुरेन्टमा उत्तिसारो महत्व पाउँदैथे । तर, द्वन्द्वले हामीलाई आन्तरिक पाहुनाको महत्व बुझाएको हो,’ तुलाचनले नागरिकसँग भने, ‘आन्तरिक पाहुनाकै कारण अहिले व्यवसाय धान्न सकिएको छ।’ अफसिजनमा पनि पाहुना भित्र्याउने र लेकसाइडमा चमक ल्याउने माध्यम नै आन्तरिक पाहुना बनेको उनले बताए । पोखरामा आन्तरिक पाहुनाको आगमन यत्ति नै संख्यामा हुन्छ भनेर कसैले तथ्यांक नराखे पनि वर्षमा करिब ६ लाख पाहुना पोखरा भित्रिने अनुमान रहेको छ।

विदेशी पाहुना अभाव झेलेको पर्यटन क्षेत्रले ‘जाऊँ है पोखरा’ अभियान चलाएर पोखरामा आन्तरिक पाहुना बोलाउन थालेको थियो । संघका निवर्तमान अध्यक्ष भरतराज पराजुलीका अनुसार अहिले आन्तरिक पाहुनाले नै गर्दा पोखराले व्यवसायमा राहत मिलेको छ । उनीहरूका अनुसार विभिन्न निहुँमा आन्तरिक पाहुना पोखरा आउन थालेका छन् । दुई दिन बिदा भयो कि पोखरामा आन्तरिक पाहुनाको भीड बढिहाल्ने पराजुलीले बताए।

संघले आन्तरिक पाहुना लक्षित गर्दै डेढ दशकअघि जाऊँ है पोखरा अभियान चलाएको थियो।
‘दुई दिन बिदा नै आन्तरिक पाहुनाको लागि काफी छ,’ पराजुलीले भने, ‘यसले व्यवसाय चलाउन सहज भएको छ ।’ व्यवसायीका अनुसार आन्तरिक पाहुना विदेशीको तुलनामा खर्चिला हुन्छन् । त्यही भएर अहिले पदयात्रामा पनि आन्तरिक पाहुनाले महत्व पाउन थालेका छन् । मिटिङ, सेमिनार, गोष्ठीले पनि पोखरामा आन्तरिक पाहुना बढाएको उनीहरूको भनाइ छ।

‘चाडवाड होस् वा सार्वजनिक बिदा, त्यो बेला आन्तरिक पाहुनाको हिस्सा थपिन्छ,’ पराजुली भन्छन्, ‘निकै नै राम्रो साथ मिल्ने गरी आन्तरिक पाहुना पोखरा आएका छन् ।’ स्थलमार्ग सहज हुन्थ्यो भने अहिलेको आगमनमा अझै २० प्रतिशत बढ्ने व्यवसायीको भनाइ छ । आन्तरिक पाहुना तान्नकै लागि संघले बेलाबेला प्याकेज ल्याउने गरेको छ । योपटक आन्तरिक पाहुना लक्षित चारखाले प्याकेज संघले सार्वजनिक गरिसकेको छ।

पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाका अनुसार अहिले पोखरामा वर्षमा करिब ६ लाख आन्तरिक पाहुना आउँछन् । ‘समूहमा घुम्न आउने आन्तरिक पाहुना निकै नै बढेका छन् । सिजनका बेला यहाँ आन्तरिक पाहुनाको घुइँचो लाग्छ,’ उनले भने, ‘कुनै न कुनै निहुँमा पोखरा आन्तरिक पाहुना आउने गरेका छन् ।

यसको समग्रमा फाइदा पर्यटन क्षेत्रले लिएको छ।’बोर्डले पोखरा आन्तरिक पाहुना भित्र्याउनकै लागि ग्रामीण पर्यटन विस्तारमा जोड दिएको उनले बताए । पर्यटन गन्तव्यको विकास र विविधीकरण तथा ग्रामीण क्षेत्रका बासिन्दाले पर्यटनबाट आयआर्जन गर्नेबारे तरिका सिकाइएको उनले बताए । ‘प्रादेशिक रूपमा पनि गन्तव्यको प्रवर्द्धन सुरु गरेका छौं,’ थपलिया भन्छन्, ‘आन्तरिक पाहुनाले त अहिले पोखरालाई मात्र नभई आसपासका गाउँलाई पनि माथि उठाएका छन् । ग्रामीण क्षेत्रका होमस्टेले अहिले पर्यटनबाट लाभ लिएका छन्।’

थपलियाका अनुसार पर्यटनमा कहलिएका मुलुकले पनि अन्तरदेशीय आन्तरिक पाहुनालाई नै प्राथमिकता दिएका छन् । ‘छिमेकी मुलुक चीन र भारतका पर्यटकीय गन्तव्य आन्तरिक पाहुनाकै कारण समृद्ध बनिसकेका छन्,’ उनले भने, ‘नेपालले पनि त्यसको सिको गर्नुपर्छ । नेपालले बल्ल आन्तरिक पाहुनाको महत्व बुझेको पनि छ।’

बुधबारदेखि पोखरामा सुरु भएको फेवा नव वर्ष महोत्सवमा बोल्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पनि आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकारले योजना बनाइरहेको बताए । ‘पोखरामा जति बढी आन्तरिक पाहुना आउँछन्, त्यत्ति नै धेरै विदेशी भित्रिने हुन्,’ महोत्सव उद्घाटन गर्र्दै अधिकारीले भने, ‘आन्तरिक पाहुना लक्षित गर्दै सरकारले पनि प्याकेज ल्याउँदैछ।’

मन्त्री अधिकारीका अनुसार सरकारी वा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई घुमघाममा पठाउने गरी सरकारले प्याकेज ल्याउने तयारी गरेको बताए । ‘कर्मचारी अनिवार्यरुपमा घुम्न जाऊन्, त्यसका लागि सेवा सुविधा थप हुन पनि सक्छ । कसैगरी घुम्ने वातावरण मिलाउने छौं,’ अधिकारीले भने । आन्तरिक पाहुनाले पोखराको पर्यटन धानेका छन् भन्ने नभुल्न अधिकारीले पर्यटन व्यवसायीलाई आग्रहसमेत गरे।

 

प्रकाशित: २९ चैत्र २०७४ ०१:४५ बिहीबार

पोखरालाई आन्तरिक पाहुनाको गुन