अर्थ

कोशी र मधेशमा गण्डकीको पर्यटन प्रर्वद्धन

पोखरामा आन्तरिक पर्यटकको आगमन बढाउने उद्देश्य सहित नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीले अन्तरप्रदेश पर्यटन प्रर्वद्धन अभियान सुरु गरेको छ। कोशी र मधेस प्रदेशका विभिन्न सहरमा पर्यटन प्रर्वद्धन गर्ने नाट्टाको योजना छ। एकसाता अवधिको यो प्रर्वद्धन अभियानले पूर्वि क्षेत्रबाट आन्तरिक पाहुना पोखरा भित्र्याउन सघाउ पुग्ने नाट्टाको विश्वास छ।  

नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले आन्तरिक पर्यटन प्रर्वद्धन गर्नका लागि अभियान थालेको बताए। हालका लागि कोशी र मधेस प्रदेशका विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान संचालन गर्ने उनले बताए। त्यसका लागि व्यावसायीको टोली शनिबार पूर्वि क्षेत्रको यात्रामा निस्केको पनि उनले बताए। पूर्वि क्षेत्रको अभियान पुरा भएपछि पश्चिम क्षेत्रमा पनि यस्तै अभियान चलाउने उनले बताए।  

‘पूर्वि भेगबाट आन्तरिक पाहुना पोखरा भित्र्याउने उद्देश्य यो अभियनाले बोकेको छ,’ दाहालले भने, ‘आन्तरिक पाहुनालाई पोखरा घुम्न आउनु भन्दै निम्तो पनि यो अभियान मार्फत दिइनेछ।’ प्रर्वद्धनात्मक अभियान संचालनको क्रममा मधेस प्रदेशको जनकपुर र कोशीको इलाम र बिराटनगरमा त्यहाँका पर्यटन व्यावसायी र सरोकारवालासँग भेटघाट, छलफल र अन्तरक्रिया गरिने पनि उनले बताए।  

‘नाट्टाले बेलाबेला आन्तरिक पर्यटकका लागि बजारीकरण अभियानमार्फत नेपालका विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान चलाईरहेको छ। अन्तर्राष्ट्रियस्तरमा पनि बजारीकरण गर्दै आएको छ,’ उनले भने, ‘पूर्वि क्षेत्रबाट आउने पर्यटकलाई लक्षित गरिएको योपटकको अभियानले भविश्यमा थप आन्तरिक पाहुना पोखरा भित्रिने अपेक्षा गर्न सकिन्छ।’

उनका अनुसार विभिन्न सहरमा हुने भेटघाट र छफलमा सीमावर्ति भारतीय सहरका पर्यटन व्यावसायी पनि सहभागि हुनेछन। स्थानीय र भारतीय व्यावसायीमार्फत त्यस क्षेत्रमा प्रर्वद्धन हुने भएकोले यो अभियानमार्फत भारतीय पर्यटकलाई पनि पोखरा ल्याउन सहज हुने उनले बताए। ‘पूर्वि भेगबाट पर्याप्त आन्तरिक पर्यटक पोखरा आउँछन्। त्यसबाहेक मुक्तिनाथ दर्शन गर्न आउने आन्तरिक पनि पर्याप्त हुन्छन्,’ उनले भने, ‘यो अभियानले भविश्यमा थप आन्तरिक पाहुना पोखरा भित्रिनेछन्।’  

यो अभियानमार्फत भारतीय पाहुनाको आगमन बढाउन सकिने पनि उनले बताए। उनका अनुसार केही महिना अघि नेपालमा भएको भारतीय बस दुर्घटनापछि भारतीय पाहुना आगमन खस्केको हुनाले यो अभियानमार्फत भारतीय पाहुनाको आकार बढाउन सकिने पनि उनले बताए।  

‘भारतीय बस दुर्घटनापछि नेपालमा भारतीय पाहुनाको आगमन निरन्तर ओरालो लागेको छ। यो अभियानमार्फत भविश्यमा थप भारतीय पाहुना ल्याउने अपेक्षा छ,’ उनले भने, ‘व्यावसायीले अहिले गर्न थालेको बजारीकरण हो। यसले पर्यटन क्षेत्रमा पक्कै सकारात्मक प्रभाव पार्ने अपेक्षा छ।’ उनका अनुसार नेपालमा भारतीय बस दुर्घटना भएपछिका हरेक महिनाको भारतीय पाहुनाको आगमन कम हुँदै गएको छ।  

नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले आन्तरिक पर्यटक भित्र्याउन सकेको खण्डमा पोखरा क्षेत्रको पर्यटन प्रर्वद्धन हुने भएकोले अभियान संचालन गरेको बताए । ‘यो अभियानको खास लक्ष्य आन्तरिक पर्यटन प्रर्वद्धन गर्नु हो। पूर्वि भेगका पर्यटकलाई पोखरा घुम्न बोलाउँदै निमन्त्रण गर्ने हो। यसले पोखरामा पाहुनाको आगमन बढ्ने अपेक्षा छ,’ उनले भने, ‘पोखरा सबै मौसममा घुमघामका लागि उपयुक्त रहेका सन्देश पनि प्रवाह गर्नुपर्ने छ।’

नाट्टाले सन् २००४ देखि फाम टुर र २००८ देखि प्रमोशनल टुर आयोजना गर्दै आएको छ। पर्यटन क्षेत्रको अनुमानमा पोखराको पर्यटनमा कम्तिमा ४० प्रतिशत हिस्सा आन्तरिक पाहुनाको छ। साप्ताहिक वा लामो अवधिको सार्वजनिक बिदामा पोखराले ठुलो आकारमा आन्तरिक पाहुना भित्र्याउने गरेको छ।  

आन्तरिक पाहुना भित्र्याउन सकेकै कारणले पोखराको पर्यटन क्षेत्रमा राहत मिलिरहेको पर्यटन क्षेत्रले बताउँदै आएको छ। तेश्रो मुलुकका विदेशी पाहुनाको अभावलाई केही हदसम्म भएपनि आन्तरिक पाहुनाले पुरा गर्ने व्यावसायीले बताएका छन।  

प्रकाशित: २२ मंसिर २०८१ १५:१३ शनिबार

पर्यटन प्रर्वद्धन कोशी र मधेश नाट्टा गण्डकी