अर्थ

जापान जान हिडेँका कुमारलाई गाईभैँसी पालनमा सफलता, ३० लाख आम्दानी

बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेको १२ वर्ष पुगेको छ। अहिले उनले दूध बिक्री गरेर वार्षिक ३० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।  

दैनिक एक सय लिटरभन्दा बढी दूध उत्पादन गरेर अगुवा कृषकका रूपमा बस्नेत चिनिन्छन्। विसं २०६९ मा तीन वटा भैँसीबाट ‘बस्नेत पशुपालन फार्म’ सञ्चालन गरेका उनको पलार्ममा अहिले विभिन्न प्रजातिका ११ वटा भैँसी र नौ वटा गाई छन्।  

छ वर्ष साउदी अरब, ११ महिना सिङ्गापुर बसरे फर्किएका बस्नेतले तीन वर्ष बागलुङ बजारमा व्यवसाय सञ्चालन गरे। व्यापारमा मुनाफा नभएपछि पसल बेचेर पुन: विदेश जाने सोचमा जापानको योजना बनाएका थिए।  

जापान जाने योजनाले पूर्णता नपाएपछि बेचिसकेको पसल पुन: गर्नुभन्दा व्यावसायिक रूपमा गाईभैँसी पाल्ने योजना बनाएर गाउँ फर्किएपछि उनलाई कहिल्यै पछुताउनु परेको छैन। बस्नेतलाई श्रीमती अप्सराको दरिलो साथ छ। २० वटा गाईभैँसी, उनीहरूको हेरचाह र सम्पूर्ण व्यवस्थापनको काम बस्नेत दम्पतीले मिलेर गर्दै आएका छन्।  

दैनिक एक सयदेखि एक सय २० लिटरसम्म दूध उत्पादन गर्दै आएका बस्नेतले मासिक दुई लाख ५० हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गरेको सुनाए। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङको सहयोगमा पोखरा गएर एक हप्ताको तालिमसमेत लिएका उनले बिक्री भएर बाँकी रहेको दूधबाट खुवा र पनिर बनाएर बेच्ने गरेको जानकारी दिए।  

बस्नेतले उत्पादन गरेको दूध नजिकैको नारायणस्थान बजारमा बेच्छन्। उत्पादन भए बजारीकरणको समस्या नरहेको उनको भनाई छ। चैत–वैशाखमा एक सय २० लिटरभन्दा बढी र असार साउनमा ७० लिटरसम्म दूध गाउँमा बिक्री हुने गरेको उनले जानकारी दिए। उनले गाउँमा बिक्री भएर रहेको दूध कहिले स्थानीय डेरीलाई बेच्ने, कहिले पर्वतको कुश्मा बजार र बागलुङ बजारमा पठाउने गरेका छन्।  

दूध बिक्री नहुँदा, बर्खाको समयमा सडकका कारण ढुवानीमा समस्या हुँदा, पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा सयौँ लिटर दूध बिग्रिएर जाने गरेको थियो। तर पछिल्लो समय प्राक्टिकल एक्सन नेपालको सहयोगमा डिसिआर डिसी बागलुङले अनुदानमा प्रदान गरेको ‘डिप फ्रिज’ले राहत पुगेको जानकारी गराए। उनले बैँकबाट कृषि कर्जा लिएको भन्दै जानकारी नभई घटबढ हुने ब्याजदरले भने सास्ती दिए गुनासो गरे।  

भेटेरिनरी अस्पताल, पशुपालक कृषकसँग काम गर्दै आएका सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) र साना किसान सहकारी सङ्घसंस्थाबाट प्राप्त प्रोत्साहनले पशुपालनमा लाग्न सहज वातावरण बनाएको बस्नेतको बुझाई छ। बस्नेतले गाईभैँसीलाई खुवाउने घाँस उत्पादन गर्न फार्मको वरिपरी ४० रोपनी जमिन भाडामा लिएर एक सय ५० केजी सुडान छरेका छन्।  

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङबाट प्राविधिक सहयोग, औषधि उपचार र खोपसँगै अनुदान पाएको बताउँदै बस्नेतले लम्पीस्किन रोगले भने तीन वटा गाई र एउटा भैँसी मरेको जानकारी दिए। उनका अनुसार व्यवसाय विस्तारका क्रममा फार्ममा ३० लाख रुपैयाँभन्दा बढी लगानी पुगिसकेको छ।

उनले भारतको विहारबाट एक लाख ३० हजार तिरेर भैँसी ल्याएका छन्। ती भैँसीले एक छाकमा १० लिटरभन्दा बढी दूध दिने गरेको उनले सुनाए। समग्रमा वार्षिक रूपमा ३० लाखभन्दा बढी आम्दानी हुने बताउँदै उनले स्थानीय सरकारले बजार व्यवस्थापनमा थप सहजीकरण गर्नुपर्नेमा जोड दिएका छन्। रासस

प्रकाशित: १८ मंसिर २०८१ १०:३२ मंगलबार

#cattle farming #Nepal