अर्थ

रोगले बनायो खोर खाली, छैन क्षतिपूर्ति व्यवस्था

रत्ननगरको लामिछाने पोल्ट्री फार्ममा मरेका कुखुरा । फाइल तस्बिर : सविता/ नागरिक

चितवन –रत्ननगर नगरपालिका–१५ माधवपुरका अमृत लामिछानेले आठ महिनाअघि पाँच हजार एक सय लेयर्स चल्ला राखेका थिए । कुखुराले अण्डा दिन थालेको करिब तीन महिना पुग्न लागेको थियो । चैत महिना लागेपछि अण्डा उत्पादनको दर ९९ प्रतिशत पुगेको अमृत बताउँछन्।

आठ वर्षदेखि कुखुरापालन गर्दै आएका उनको लामिछाने पोल्ट्री फार्म यतिबेला रित्तो बनेको छ । चैत तेस्रो साता रोग फैलिएपछि फार्ममा कुखुरा नै बाँकी रहेनन् । चैत १५ गते बेलुका हावाहुरी आएपछि फार्ममा कुखुरा मर्न थालेका थिए ।पहिलो दिन तीनवटा कुखुरा मरेकामा त्यसको भोलिदेखि धेरै संख्यामा कुखुरा झोक्राउने र मर्ने क्रम बढ्यो । १० दिन नपुग्दै उनको पाँचवटा खोर रित्तो भयो । ‘सबै कुखुरा मरेर सकिए,’ उनले भने, ‘धेरै संख्यामा कुखुरा मर्न थालेपछि परिवारसँगै टोलमा त्राससमेत फैलियो।’

२२ गते मात्र कुखुरालाई ‘एच नाइन’ भएको रिपोर्ट अमृतले थाहा पाएका थिए । त्यसअघि कुखुरा मर्नुको कारण थाहा पाउन दुईपटक मरेको कुखुराको नमुना लिएर परीक्षण गराउन राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुर गएका थिए । ढिलो गरी कुखुरालाई लागेको रोगबारे थाहा पाएका उनी भन्छन्, ‘रिपोर्ट आउँदासम्म खोर खाली हुन लागिसकेको थियो ।’
एउटा कुखुरा हुर्काउन करिब आठ सय रुपैयाँ खर्च भइसकेको थियो।

कुखुराको उत्पादनपछि लगानी उठाउने बेलामा रोग लागेर खोर नै रित्तो हुँदा बैंकबाट लिएको ऋणसमेत कसरी तिर्ने भन्ने चिन्ता उनलाई थपिएको छ । कृषि विकास बैंक भरतपुरबाट ४७ लाख रुपैयाँ ऋण लिएर कुखुरापालन गरेका उनी आम्दानी हुने बेलामा क्षति बेहोर्न बाध्य भए । रोग लागेर क्षति भएमा क्षतिपूर्ति नपाइने भएकाले उनले बिमा गरेका थिएनन् ।उनले भने, ‘बर्ड फ्लू लागेमा राज्यले क्षतिपूर्ति दिने भएपनि अन्य रोगमा बिमाको दाबी गर्न नपाइने भनेपछि गरेनौं।’

एच नाइनको पनि रोकथाम गर्नका लागि कुनै औषधि छैन । खोर रित्तो हुने र लाखौं क्षति हुने गरी रोगको प्रकोप भएपनि यसमा क्षतिपूर्तिको व्यवस्था छैन । बर्ड फ्लूमा भने कुखुराको संख्या गनेर ६ सयको दरले क्षतिपूर्ति दिने व्यवस्था रहेको छ । ‘बर्ड फ्लूले जस्तै सबै सखाप बनाएकै हो’ उनी भन्छन्, ‘देशमै दुःख गरेको किसानलाई किसानी गर्नबाट विस्थापित हुन नदिन राज्यले हेर्नुपर्छ ।’ किसानलाई बाँच्ने र पेसा बचाउने सवालमा सहयोग चाहिने उनी बताउँछन्।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष डा. होमबहादुर बस्नेत अहिले एक सय भन्दा बढी फार्ममा कुखुरा मरेको बताउँछन् । सरकारले बनाएको नीति निर्देशनभन्दा बाहिर रहेको रोगमा त्यसको क्षतिपूर्तिकोे व्यवस्था कसरी माग गर्ने भन्ने फरक कुरा रहेको उनले बताए । ‘सरकारी दायराभित्र नपर्ने भएकाले सरकारले दिने भन्ने बाहेकको कुरामा भने क्षतिपूर्ति माग्ने कुरा हो,’ उनी भन्छन्, ‘किसानलाई दुःख भयो भनेर माग गर्ने हो।’

अहिले फैलिएको रोगबारे व्यवसायीबीच छलफल गरेर के गर्ने भन्ने साझा धारणा बनाइने अध्यक्ष बस्नेतले बताए । अहिलेको समयमा कुखुराको खोरमा रोग कसरी आउँछ भन्ने अध्ययन अध्यापन गरेर किसान सचेत हुनु आवश्यक रहेको उनी बताउँछन् । राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाइँ भाइरल इन्फ्लुएन्जा एच नाइन पहिले सिजनल हुने गरेकामा अहिले जुनसुकै समयमा फाट्टफुट्ट देखिन थालेको बताउँछन्।

फागुन लागेपछि धेरै संख्यामा परीक्षणका लागि नमुना आउन थालेको उनले बताए । ‘पहिले मृत्युदर कम हुन्थ्यो र नियन्त्रणमा आउँथ्यो,’ उनले भने, ‘अहिले कतै नियन्त्रणमा आएपनि कतै नियन्त्रणभन्दा बाहिर छन् ।’ दुई–तीनवटा रोग मिसिएर देखिएको ठाउँमा नियन्त्रण नभएको उनले बताए । अण्डा दिने कुखुरामा बढी फैलिएको र किसान त्रसित भएको एच नाइन चितवनसँगै कपिलवस्तु, रुपन्देही, नवलपरासी, मकवानपुरलगायत केही जिल्लामा देखिएको डा. चापागाइँले बताए।

इन्फ्लुएन्जा भित्रको बर्डफ्लू भनेर चिनिने एच फाइभ र एच सेभेनलाई कुखुराको मृत्युदर हुने जोखिमको रोग मानिथ्यो । रोग फैलिएको क्षेत्रमा घेराबन्दी गर्ने र सबै कुखुरा मारेर रोग नियन्त्रण गरेर क्षतिपूर्ति दिने व्यवस्था एच फाइभमा मात्र रहेको छ । अहिले धेरै मरेको हुनाले एच नाइनमा पनि किसानलाई क्षतिपूर्ति दिँदा किसानलाई राहत हुने उनले बताए।

धेरै कुखुरा मरेका यस्ता रोगमा सरकारले किसानको मर्का बुझेर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनी बताउँछन् । कुखुरापालन आफैंमा अलि संवेदनशील व्यवसाय भएकाले खोरवरपर जैविक सुरक्षा अपनाउनुपने डा. चापागाइँको भनाइ छ । जसमा एउटा खोरको मान्छे अर्कोमा नजाने र धेरै आवातजावत कम गर्नुपर्छ । मरेका कुखुरा स्याल, कुकुरले लैजाँदा र माछापालन, बंगुरपालनमा लैजाने गर्दा हावाका माध्यमबाट रोग फैलिने भएकाले मरेका कुखुरा तुरुन्त र व्यवस्थित गाड्ने व्यवस्था गरिनुपर्ने डा. चापागाइँले बताए ।

 

प्रकाशित: २८ चैत्र २०७४ ००:५८ बुधबार

रोगले खोर खाली छैन क्षतिपूर्ति व्यवस्था