रसुवा– रसुवाको सदरमुकाम धुन्चेमा रहेको एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्थाले नौ महिनामा २४ लाख रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको छ ।२०७० सालमा सञ्चालनमा आएको शाखाले गत साउनदेखि फागुन मसान्तसम्ममा २४ लाख ७० हजार आठ सय ९८ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो।
संस्थाले मंगलबार सदरमुकाम धुन्चेमा आयोजना गरेको समुदाय स्तरीय वित्तीय साक्षरता कार्यक्रममा सो जानकारी दिएको हो ।संस्थामा आमाछोदिङ्मो गाउँपालिका र गोसाइँकुण्ड गाउँपालिकाका एक हजार दुईजना सदस्य रहेका छन् । वित्तीय सेवामार्फत महिला सशक्तीकरणसहित गरिबी निवारणका लागि सेवा सुरु गरेको संस्थाले जिल्लाको माथिल्लो क्षेत्रमा चार करोड ३८ लाख ४८ हजार एक सय ९१ रुपैयाँ ऋण लगानी गरेको छ।
जिल्लाको माथिल्लो क्षेत्रका साविकका नौवटा गाविस कार्यक्षेत्र बनाएर स्थापना गरिएको शाखामा अहिले एक करोड ५५ लाख ५६ हजार रुपैयाँ बचत रहेको शाखा प्रबन्धक पूर्णप्रसाद शर्माले बताए।
घरदैलो वित्तीय कार्यक्रमअन्तर्गत गाउँगाउँमा गएर कर्जा प्रवाह गर्ने र बचत संकलन गर्ने कार्य गर्दै आएको संस्थाले जनाएको छ।
संस्थाको देशको ७७ जिल्लामध्ये ४५ जिल्लामा शाखा विस्तार भएको छ । ७५ वटा शाखा रहेको वित्तीय संस्थाको ८१ हजार सात सय आठ सदस्य रहेका छन् ।सदस्यमध्ये ४४ हजार एक सय २५ सदस्यले ऋण लिएका छन् । संस्थाले दुई अर्ब १५ करोड रुपैयाँ लगानी गरेकामा ६० करोड १९ लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरेको जनाएको छ ।
प्रकाशित: २८ चैत्र २०७४ ००:३९ बुधबार