पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा ठुला आकारका जहाज आउनै नसक्नु र आउनै परेमा पनि भार घटाउनुपर्ने भन्ने हल्ला फैलिएको भन्दै त्यसमा नझुक्किन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आग्रह गरेको छ।
४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्ला फैलिएको प्राधिकरणको भनाई छ। अघिल्लो महिना पोखरा आएका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पनि पोखरामा उडान गर्दा ४० प्रतिशत भार कटौती गर्नुपर्ने हल्ला चलाउँदा अन्तर्राष्ट्रिय उडानमा असर परेको बताएका थिए।
४० प्रतिशत भार कटौती गरेपछि मात्र न्यारोबडी जहाज पोखरामा आउन सक्ने भन्ने हल्लालाई चिर्नका लागि नेपाल एयरलाइन्सको जहाजमार्फत पूर्ण क्षमतामा यात्रु बोकेर ल्याएर परीक्षण गर्ने पनि मन्त्री पाण्डेले त्यो बेला बताएका थिए।
‘प्राविधिक समस्याले साच्चै नै भार कटौती गर्नैपर्ने हो भने भन्नुपर्छ, नत्र भने अनावश्यक हल्ला गर्न मिल्दैन,’ उनले भनेका थिए, ‘अहिलेसम्म पोखरामा जे जति अन्तर्राष्ट्रिय उडान भएका छन, ती कसैले भार कटौती गरेको होईन, जे जति यात्रु थिए, त्यत्ति नै आएका हुन, कटौती गरेका होईनन्।’
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट न्यारो बडी जहाजको उडान–अतवरणमा कुनै समस्या नरहेको प्राधिकरण पोखराका प्राविधिकहरुले बताएका छन। वाइड बडी जहाज भने पोखरा नआउने पनि उनीहरुले प्रष्ट पारे। बोइङ ७३७ र एयरबस ३२० जस्ता न्यारो बडी विमान सहजै पोखरा आउन सक्ने उनीहरुको भनाई छ।
संचालनमा आएको दुइवर्ष हुनै लाग्दा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नभएकोबारे कारण खोज्न तथा उडान सुनिश्चितताका लागि पोखरा उद्योग वाणिज्य संघले गरेको छलफलमा विमानस्थलकी उपनिर्देशक जसोधा सुवेदीले भनिन, ‘प्राविधिक कारणले यहाँबाट अन्तर्राष्ट्रिय उडान नभएको भन्ने अफवाह मात्र हो।’
‘एयरपोर्ट अत्याधुनिक छ, हामी सबै ढोका खोलेर बसेका छौं, जतिबेला पनि यहाँबाट उडान हुनसक्छ,’ उनले भनिन्। संचालनमा आएको दुइवर्ष अवधिमा भएका नौवटा अन्तर्राष्ट्रिय उडानले पनि यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा कुनै समस्या छैन भन्ने पुष्टि भएको उनको भनाइ थियो।
प्राधिकरण पोखराका प्रबन्धक अनुप जोशीले पोखराको आकाश साँघुरो भएको तथा वरपरका डाँडाले केही समस्या पारेपनि अन्तर्राष्ट्रिय उडानको लागि कुनै अवरोध नभएको बताए। उनले विमानस्थल बने पनि त्यसलाई सघाउने खालका पूर्वाधार अझै बन्न नसकेको औंल्याउँदै विमान कम्पनीलाई आकर्षित गर्न यात्रुको सुनिश्चितता पनि हुनुपर्ने बताए।
‘म आफै अहिलेसम्म एउटै बस चढेर एयरपोर्ट जान पाएको छैन, रातको समयमा यात्रुहरु अलपत्र परेको भन्ने पनि सुनेका छौं, कम्तिमा यात्रुलाई सुविधा दिने यस्ता कुरा सुनिश्चित हुनुपर्छ,’ उनले भने।
प्राधिकरणका उपप्रबन्धक इञ्जिनियर कृष्णप्रसाद पौडेलले जाजरकोट भूकम्पको बेला चिनियाँ सरकारले दिएको १ सय ७९ टन तौलको राहत सामाग्री बोकेर जहाज पोखरा झरेको स्मरण गराए। उनले भने, ‘न्यारो बडी विमानबाट अन्तर्राष्ट्रिय उडान भर्न सक्ने गरी विमानस्थल बनाइएको छ।’ उनले एयरपोर्टको धावनमार्ग नै होचो बनाइएकाले ठूला जहाज नआएको, प्राविधिक रुपले समस्या रहेकाजस्ता कुराहरु हल्लामात्र भएको पनि दावि गरे। प्राधिकरणका पूर्व उपनिर्देशक ओम शर्माले उडान संचालनका लागि पर्याप्त यात्रु हुनुपर्ने तर्क गरे।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग पोखरा उद्योग वाणिज्य संघको भावनात्मक सम्बन्ध गाँसिएको बताउँदै यहाँबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको लागि संघले आवश्यक परे दबाबमूलक कार्यक्रमसमेत गर्ने घोषणा गरे।
पर्यटन बोर्डका पूर्वसदस्य बासु त्रिपाठीले पोखराबाट अन्तर्राष्ट्रिय उडान भर्न ढिला भए पनि उडान नै हुँदैन भन्ने अफवाहलाई चाहिँ चिर्नुपर्ने बताए। उडान सुनिश्चित गर्नु सरकारको काम भएको र यात्रु खोज्ने काम निजी क्षेत्रले पनि गर्ने उनको भनाइ थियो।
प्रकाशित: १५ मंसिर २०८१ १६:२८ शनिबार