अर्थ

राज्यका सबै संयन्त्र लागे मात्रै भैरहवा विमानस्थल दीर्घकालीन रुपमा सञ्चालनमा आउँछ: महानिर्देशक अधिकारी

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन रुपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन्।

बिहीबार लुम्बिनीमा भएको लुम्बिनीमा ‘लगानी: अवसर र चुनौती’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो कुरा बताएका हुन। उनले गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालीन रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताए।उनले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरूको पनि साथ र सहयोग आवश्यक रहेको बताए।

महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताए। उनले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरू भैरहवा जाने वातावरण बन्ने बताए। उनले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालीन उडानको कल्पना गर्न नसकिने बताए।

उनले हवाई उडान व्यवस्थापनमा सबै मिलेर नियमन गर्न आवश्यक रहेको भन्दै यो विषयमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए। उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चीन सरकारले बनाएकाले सरकारले विमानस्थल सञ्चालनको लागि चीनले काठमाडौंमा गर्दै आएको उडानको २५ प्रतिशत उडान पोखरा गर्न आग्रह गर्नुपर्ने बताए।

उनले  नेपाल र हिमालय एयरलाइन्सलाई पनि हरेक विमानस्थलमा एक–एक उडान गर्नुपर्ने मापदण्ड सरकारले बनाउनु जरुरी रहेको बताए। उनले सरकारले हवाई उडानलाई नियमन गर्दा तीन वटै विमानस्थल चल्न सक्ने बताए। उनले अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको दाबी गरे।

उनले राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरू भैरहवा विमानस्थलबाट उडान गरेको बताए। उनले  नेपालमा विमानस्थल बढ्दो क्रममा रहे पनि विमानको संख्या घट्दो अवस्थामा रहेकाले पनि समस्या देखिएको बताए। उनले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियत समेत दिनुपर्ने अवस्था नभएको बताए। 

प्रकाशित: १४ मंसिर २०८१ १५:०० शुक्रबार

#Bhairahawa Airport #Engineer Pradeep Adhikari Director General of the Civil Aviation Authority of Nepal