अर्थ

रोकिएको आइपिओ निष्कासन चाँडै सुरु हुन्छ: अध्यक्ष श्रेष्ठ

<br>

नेपाल धितो पत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन्।

बुधबार सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो कुरा बताएका हुन। उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरू अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताए।उनले नयाँ स्टक एक्सचेन्ज आवश्यक रहेको विषयमा आफू पनि स्पष्ट रहेको उल्लेख गरे।

उनले धितो पत्र बोर्डको अध्यक्ष विहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठुलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गरे। उनले पुँजी बजारमा रहेका समस्याको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन हिसावले प्राथमिकतामा राखेर पूँजी बजार विकासको काम गर्ने बताए।उनले बोर्डमा नेतृत्वको अभावमा अड्किएका कामहरू अगाडि बढाउने बताए।

अध्यक्ष श्रेष्ठले पुँजी बजारको भुमिका र दायरा बढाउँदै लैजानुपर्ने बताए। उनले आफ्नो कार्यकालमा शेयर लगानीकर्ताहरूको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाए। उनले पुँजी बजारले मुलुकको अर्थतन्त्रमा गर्ने योगदान धेरै रहेको भन्दै त्यसको सदुपयोग गर्न कोसिस गर्ने बताए।

उनले लामो समयदेखि रोकिएको आइपिओ समयमा नै आउने गरी काम गर्ने बताए।उनले आफ्नो यही कार्यकालमा सेबोन आफ्नै भवनमा सर्ने पनि दाबी गरे।उनले पुँजी बजारको विकासमा सबै सरोकारवाला निकायहरूसँगको सहकार्यमा लाग्ने र पुँजी बजारलाई वर्तमान समय सापेक्ष अगाडि बढाउने उल्लेख गरे।अध्यक्ष श्रेष्ठले एभरेष्ट बैङ्कलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिने पहिलो निर्णय गरे। 

प्रकाशित: १२ मंसिर २०८१ १४:०६ बुधबार

#Nepal Securities Board #Share investor #Nepal Stock Exchange (NEPSE)