थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने व्यवसाय अर्थात्, ‘चटपटे व्यवसाय’। यस्तै व्यवसाय गर्नेहरू मध्येकी एक हुन्, चमेली श्रेष्ठ। श्रेष्ठले सिन्धुलीको सुनकोसी गाँउपालिका ६ राताडाँडामा ठेलागाडामा यो व्यवसाय गर्दै आएकी छन्।
देख्दा सानो त्यो ठेलामा चमेलीले एक बोरा भुजिया, चाउचाउ, गेडागुडी, केही चिसो पेय पदार्थलगायतका परिकार राखेर बिक्री गर्दै आएकी छिन्। राजमार्गको छेउमा उभिएर जति थकान लागे पनि दिनभरि व्यापार गर्ने चमेलीलाई बेलुका हिसाब गर्दा भने आनन्द लाग्छ।
चटपटे बेचेरै दिनमा तीन हजारसम्म कमाएको उनी सुनाउँछिन्। विपी राजमार्गको छेउमा व्यापार राम्रो छ, उनी मुस्कुराउँदै भन्छिन्, ‘गत असोजमा आएको बाढी र पहिरोले राजमार्गमा क्षति भएपछि सवारीसाधनको आउजाउ घट्यो र व्यापार पनि खस्कियो नत्र चटपटे भनेर हुँदैन व्यापार राम्रो छ।’
साना व्यवसायबाटै मासिक चालीसदेखि पचास हजारसम्म आम्दानी लिन सकिने अनुभव उनले सँगालेकी छिन्। अन्तर्राष्ट्रिय संस्था प्लान नेपालको सहयोगमा जिल्लाकै सिड्स नेपालले उनलाई चटपटे पसल गर्न सहयोग गरेपछि उनी व्यावसायिक ‘चटपटे व्यवसायी’ भएकी हुन्।
विपी राजमार्ग घुमाउरो भएकाले यात्रा गर्ने धेरै यात्रुलाई चटपटेको तलतल लाग्दो रहेछ, उनले भनिन्। सुनकोसी गाँउपालिका ६ कै लक्ष्मी श्रेष्ठ पनि थोरै लगानीमा चटपटे व्यवसाय गर्दै आएकी छिन्।
‘दिनमा केही नहुँदा पनि पाँच सयदेखि हजार रूपैयाँसम्म आम्दानी हुन्छ’, उनले भनिन्, ‘विस्तारै व्यवसाय बढाउँदै गएको छु।’ लक्ष्मी र चमेली मात्र होइन विपी राजमार्गमा बसेर चटपटे बेचेरै घर चलाउने धेरै व्यवसायी छन्। थोरै लगानीमा घर खर्च चलाउन चटपटे बिक्री गर्ने व्यवसाय राम्रो रहेको लक्ष्मीको अनुभव छ।
विपी राजमार्गको चियाबारीदेखि नेपालथोकसम्म करिब एक सयबढी चटपटे व्यापारी छन्। थोरै लगानी, सानो व्यवसाय आम्दानी चाहि राम्रो हुँदा चटपटे व्यवसायी बढ्न थालेका छन्।
उद्योग वाणिज्य संघ सिन्धुलीका महासचिव रामकुमार राजभण्डारीले महँगो सटर भाडा लिएर लाखौं लगानी गरेर पनि व्यवसाय चलाउन निकै मुस्किल छ तर थोरै लगानीबाटै मनग्य आम्दानी गर्न सकिने चटपटे व्यवसायबाट मासिक ५० हजारदेखि एक लाखसम्म कमाएको देख्दा कमाउनकै लागि विदेश जानु पर्ने रहेनछ भन्ने देखिएको बताए।
राजभण्डारी साना व्यवसायबाटै सहजै जीविका धान्न सकिने बताउँछन्। ‘सरसफाइमा ध्यान दिने र मिहिनेत गर्ने हो भने व्यवसायमा ठूलो लगानी चाहिँदैन’, उनी भन्छन्, ‘थोरै लगानीमै पनि जीविका सहजै चलाउन सक्ने गरि कमाइ हुन्छ। त्यसो त चटपटे मात्रै होइन सोही संस्थाबाट तालिम लिएपछि सुनकोसी ३ का राजकुमार श्रेष्ठ व्यावसायिक बनेका छन्। उनले संस्थाको सहयोगमा मोटर र प्यान रिपेयररिङगको तालिम लिएका छन्।
तालिम पछि उनलाई गाउँमै काम आउन थालेको छ। पानी तान्ने मोटर बिग्रिँदा उनलाई स्थानीयले सम्झिन थालेको राजकुमार बताउँछन्। ‘मैले तालिम लिएर सानो पसल सुरु गरेको छु’, उनी भन्छन्, पसलमा भन्दा पनि घरमै सेवा दिन बोलाउँ छन्, केही पैसा पनि मिल्छ।
हातमा सिप र जागर भए विदेशिनु नपर्ने उनको बुझाइ छ। ‘सिप छ भने हामीले भोकै बस्नु पर्दैन’, उनले भने, ‘त्यही भएर मैले तालिम लिएको हुँ सुरुवात हो कमाइ भन्दा पनि काम सिक्नु ठूलो कुरा हो भन्ने लाग्छ, राजकुमारले भने।
प्रकाशित: ११ मंसिर २०८१ १०:३२ मंगलबार