अर्थ

पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद फेरि थप, पश्चिम खण्डको पनि थपिँदै

.

बिस्तार भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्ड। तस्बिर: आयोजना

पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पूर्वी खण्डका लागि दोस्रो पटक म्याद थपिएको छ। पश्चिम खण्डको भने बल्ल एकतिहाई काम सकिएको छ। पश्चिम खण्डका लागि करिब एक वर्ष म्याद थप्ने तयारी छ।

पोखरा–मुग्लिन सडक आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने राजमार्गको धेरै भाग कालोपत्रे भइसकेको छ। पूर्वी खण्डका आयोजना प्रमुख प्रकाश भण्डारीका अनुसार गत सेप्टेम्बर १६ मा पूर्वी खण्डको यसअघि थपिएको म्याद सकिएको थियो। त्यसपछि आगामी फेब्रुअरी १३ सम्मका लागि म्याद थपिएको उनले बताए।

‘पहिलो पटकको म्याद सकिएपछि दोस्रो पटकका लागि थप भएको हो। आगामी फेब्रुअरी १३ सम्म काम सक्ने योजना सहित तीव्रता दिइएको छ,’ भण्डारीले भने, ‘थपिएको अवधिमा काम सक्नेगरि बाँकी रहेको सबै खण्डमा जनशक्ति परिचालन भएको छ।’

दुुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भइरहेको छ। पूर्वी खण्डको नियमित म्याद गत अप्रिल १४ मा सकिएको थियो। त्यसपछि समय थपिएको थियो। पहिलो खण्डमा १५५ दिन म्याद थपिएको थियो।

‘दमौली र डुम्रेको सहरी खण्डमा बाहेक अब सबैतिरको सडक कालोपत्रे भइसकेको छ। ढल, नालाको काम पनि करिब अन्तिम चरणमा छ,’ उनले भने, ‘अहिलेको गति हेर्दा तेस्रो पटक म्याद थप्नुपर्ने देखिन्न।’

उनका अनुसार दमौली र डुम्रेमा गरि जम्मा ७ किलोमिटर मात्र अहिले धुले सडकमा यात्रा गर्नुपर्छ। त्यसबाहेक अन्यत्र कतैपनि अहिले यात्रा असहज छैन। डुम्रे नजिकैको चुनपहराको करिब ३ सय मिटरको काम भने बाँकी नै छ। त्यहाँ अहिले नै  भत्काइएको छै। तर, सडक फराकिलो बनाउने काम अझै बाँकी रहेकोले तोकिएको अवधिमा चुनपहराको त्यही खण्ड बाहेक अन्यत्रको काम सकिनेमा आशावादी रहेको उनले बताए।

‘चुनपहरामा कडा चट्टान रहेको र साँघुरो भएकोले त्यहाँ काम सकिएको छैन। नत्र डुम्रे र दमौलीको बजार खण्ड बाहेक अन्यत्रको काम सकिएको छ,’ भण्डारीले भने । उनका अनुसार अहिलेसम्म पूर्वी खण्डको भौतिक प्रगति ६८ प्रतिशत भएको छ। यो प्रगति ९० प्रतिशत पुग्दा पूर्वी खण्डको सबै काम सकिनेछ। बाँकी १० प्रतिशत सडक निर्माण थालेदेखिको अवधिको मर्मतसम्भार रहेकोले तोकिएको अवधिमा काम सकिनेमा आशावादी रहेको उनले बताए।

‘यो वर्ष मनसुन पनि ढिलागरि बाहिरियो, त्यसबाहेक दसैंताका भीषण वर्षाले पनि केही काम थपिदियो। कतिपय ठाउँमा दोस्रो पटक कालोपत्रे पनि गर्नुपरेकोले केही ढिला हुन पुगेको हो,’ उनले भने, ‘चुनपहराको बाहेक सबैतिर काम भएकोले तोकिएको समयमा सकिनेमा आशावादी हुन सकिन्छ।’

निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। पूर्विखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगष्टमा निर्माण सम्झौता भएको थियो।

पश्चिमखण्ड (जामुने–पोखरा ३९ किलोमिटर) पनि अहिले बिस्तार भइरहेको छ। पश्चिम खण्डमा भने २०२४ डिसेम्बर ६ सम्म ठेकेदारको नियमित समय बाँकी छ। तर, ठेकेदार कम्पनीले २०२५ को डिसेम्बरसम्म म्याद थप्नका लागि प्रस्ताव गरिसकेको छ। पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलका अनुसार नियमित समय सकिन थालेकोले एक वर्ष म्यादका लागि प्रक्रिया अघि बढेको बताए।

‘ठेकेदार कम्पनीले २०२५ डिसेम्बरसम्म काम सक्ने गरि वाचा गरेकोले पनि त्यही अनुसार प्रक्रिया अघि बढाइएको छ,’ उनले भने, ‘तर, अहिले नै म्याद थपिएको होईन, प्रक्रिया भने सुरु भएको छ। म्याद नथपेसम्म काम सकिने अवस्था रहेन।’ कार्यप्रगति, बाँकी रहेको कामको विश्लेषण, निर्माण अवरुद्ध भएको समय लगायतका आधारमा म्याद थपिने उनले बताए।

उनका अनुसार पश्चिम खण्डको ३९ किलोमिटर मध्ये २२ किलोमिटर एकतर्फी खण्ड कालोपत्रे भइसकेको छ। कालोपत्रे भएको एकतर्फी खण्डमा पनि दोहोरो लेन हुने भएकोले गाडी चलाउन मिल्ने उनले सुनाए।

‘भौतिक प्रगति ३३ प्रतिशत मात्र भएको हो। अब भने कामले गति लिनेछ,’ उनले भने। उनका अनुसार मुआब्जाको विवाद, खानेपानीको पाइप र बिजुलीका पोल व्यवस्थापन बेलैमा नहुँदा काममा ढिलाइ भएको हो। ‘अबको एक वर्षमा काम सकिने भनेकोले त्यही अनुसार अहिले गति दिइएको छ,’ उनले भने।

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुँखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्ने गरेको थियो। बीचमा त्यो यात्रा अवधि झन्डै दोब्बर लाग्ने गरेको थियो। तर पूर्वी खण्डको काम सकिनै थालेकोले केही सहज भएको उनले बताए।

राजमार्गको पूर्वी खण्ड बिस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको छ। पश्चिम खण्ड बिस्तारको काम पनि चिनियाँ कम्पनी अनहुइ काइयुयान रोड एण्ड ब्रिज कम्पनीले जिम्मा लिएको छ।

प्राविधिकका अनुसार पश्चिम खण्डको कास्की भागमा बढी समस्या छ, किनकि यो खण्डमा विद्युत् पोल, खानेपानीको पाइप, ढल निकासको व्यवस्थापनमा समस्या छ।

एसियाली विकास बैंक (एडीबी) को सहुलियत ब्याजको ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चार लेनको फराकिलो र स्तरीय बनाउन थालिएको हो। १३ अर्ब ६१ करोड रुपैयाँको लगानीमा राजमार्ग बिस्तार भइरहेको छ।

आयोजनाका अनुसार पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मको लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक बिस्तारका लागि मात्र हो।

त्यसबाहेक तनहुँको दमौलीस्थित मादीनदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेतीनदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरि १५ अर्ब रुपैयाँ भन्दा बढी रकम राजमार्ग बिस्तारमा खर्च हुँदैछ।

प्राविधिकहरुका अनुसार यो राजमार्गको बजार क्षेत्रमा छ लेनको फराकिलो सडक हुनेछ। बजार खण्ड ४१  देखि ४५ मिटर फराकिलो हुनेछ भने अरु ठाउँ चार लेनको हुनेछ। त्यो खण्ड २१ देखि २२ मिटरसम्मको फराकिलो हुनेछ।

दायाँबायाँ नाली र बीचमा तीनमिटरको फराकिलो डिभाइर पनि यसैमा बनाइने आयोजनाले बताएका छन्। डिभाइडरलाई सौन्दर्यीकरण पनि गरिनेछ। अहिले गण्डकी प्रदेशलाई राजधानी र तराई जोड्ने पृथ्वी राजमार्ग मुख्य हो। यो राजमार्ग लामो समयदेखि बिस्तार भएको थिएन। 

प्रकाशित: १० मंसिर २०८१ १७:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App