अर्थ

ठुला परियोजनाहरु सफल पार्न जनताको सहयोग र सहभागीता चाहिन्छ: मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ठुला परियोजनाहरु सफल पार्न जनस्तरको सहयोग र सहभागीता आवश्यक रहेको बताएका छन्। दिर्घकालिन महत्वका आयोजनाहरुको लाभ प्रत्यक्ष रुपमा नागरिकमा पुग्ने भएकाले सफल कार्यान्वयनका लागि समेत नागरिकहरुको सहयोग जरुरी रहेको उनको भनाइ छ।

नेपाल निजामति कर्मचारी संगठन, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय विभागीय कार्य समितिले आईतबार काठमाडौमा गरेको प्राविधिक कार्यशालालाई संवोधनका क्रममा उनले दिगो र सुरक्षित संरचना अवको प्राथमिकता रहेको बताए।संरचनाहरु निर्माण गर्नु मात्र नभई सुरक्षा र नियमित मर्मत समेत आवश्यक रहेको भन्दै उनले संरचना निर्माण अघिको अध्ययनलाई पनि कम प्राथमिकता नदिन प्राविधिकहरुलाई आग्रह गरेका छन्। अब बन्ने संरचनाहरुमा जलवायू परिवर्तनको असर र प्रभावलाई समेत विश्लेषण गरिनु पर्ने मन्त्री दाहालको भनाइ छ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले ठुला परियोजनाहरु निर्माण गर्दा श्रोत परिचालन क्षमता वृद्धी गराउन आवश्यक रहेको बताए। कार्यशालामा सहभागी विज्ञहरुले देशका सवै जिल्लामा सडक सञ्जाल विस्तार भए पनि त्यसलाई उत्पादन र आर्थिक वृद्धीसँग जोड्नु पर्ने बताए। 

प्रकाशित: १० मंसिर २०८१ ११:३६ सोमबार

#Devendra Dahal