पाइलटहरूको आन्दोलनका कारण राष्ट्रिय ध्वजावाहक वायु सेवा निगमको न्यारोबडी जहाजका उडान प्रभावित भएका छन्। स्थायी र करारमा कार्यरत पाइलटका असमान सेवासुविधाका विषयमा भएको अन्तरद्वन्द्वका कारण पाइलटहरू काममा नआउँदा निगमका उडान प्रभावित भएका हुन्।
पाइलटको आन्दोलनले आइतबार काठमाडौंबाट भारतको मुम्बईका लागि बिहान १० बजे उड्ने वाइडबडी जहाजले दिउँसो दुई बजे मात्र उडान भरेको छ। ‘समान समय र जहाजको फरक सेवा सुविधामा असन्तुष्टि जनाउँदै पाइलटहरू काममा अनुपस्थित भइरहेका छन्।’
निगमका इन्जिनियरिङ मर्मत–सम्भार विभाग तथा प्रवक्ता मनोजकुमार शाहले भने, ‘यसैकारण आजको उडान प्रभावित भयो।’ प्रवक्ता शाहले सेवासुविधा निर्धारण निगमको एकलौटी निर्णयले मात्र नहुने भएको र परिस्थिति नियन्त्रणभन्दा बाहिर गइरहेको बताए।
निगमका अनुसार पाइलटहरूको मागबमोजिम चार महिनाअघि नै फाइल सरकारलाई बुझाएको हो। असमान सेवासुविधाबारे फाइल हाल अर्थ मन्त्रालयमा रहेको बताउँदै प्रवक्ता शाहले भने, ‘असमान सेवासुविधाबारे कार्यविधि बोर्डबाट पर्यटन मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगेको छ।’ उनले थपे, ‘अर्थबाट स्वीकृत भएपछि मात्र व्यवस्थापन समितिले लागु गर्ने हो। निगमले एकलौटी निर्णय गरेर हुँदैन।’
व्यवस्थापन समितिले रातारात निर्णय गरेर नहुने विषय भएकाले अर्थ मन्त्रालयको निर्णय आएपछि मात्र असमान सेवा सुविधाको सम्बोधन हुने उनले बताए।
समान जहाज र उडानका लागि करारमा कार्यरत पाइलटको स्थायीभन्दा बढी सेवासुविधा रहेकोमा स्थायी पाइलटको आपत्ति छ। सोही विषयलाई लिएर पाइलटहरूले केही महिनादेखि असन्तुष्टि जनाउँदै आएका थिए। यसै विषयमा निगम व्यवस्थापन समितिसँग पाइलटहरूले छलफल गरेका थिए।
छलफलपश्चात् पाइलटहरूको मागसहितको फाइल निगमले पर्यटन मन्त्रालयमा पठाएको थियो। फाइल पर्यटन मन्त्रालयबाट हाल अर्थ मन्त्रालयमा पुगेको छ, तर आफ्ना माग सम्बोधन गर्न ढिलाइ भएको भनी स्थायी पाइलटहरू विभिन्न बहाना बनाई काममा आउन छाडेपछि निगमको उडान प्रभावित भएको हो।
करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको जनाउँदै नेपाल वायु सेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलट केही दिनयता नियमित काममा आएका छैनन्। निगमका एक उच्च कर्मचारीका अनुसार स्थायी पाइलटहरूले प्रत्यक्ष रूपमा असमान सेवासुविधाका कारण काममा आउँदिनँ नभने पनि सोही कारणले ड्युटीमा आउनुभएको छैन। ‘पाइलटले अफिसियल्ली हडताल गरेको त भन्नुभएको छैन, तर विभिन्न बहाना बनाएर काममा आइरहनुभएको छैन।’
उनले भने, ‘कोही बिरामी भएको, कसैको के आइपरेको भन्दै ६÷७ जना पाइलट काममा आउनुभएको छैन। पाइलटहरू काममा नआएपछि निगमको जहाज उडान प्रभावित भएको छ। उडानमा ढिलाइ भइरहेको छ।’
करारमा कार्यरत पाइलटको दाँजोमा स्थायी पाइलटले प्राप्त गर्ने सेवासुविधामा असमानता भएको भनी निगमका न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरूले केही दिनयता उडान प्रभावित हुने गरी विरोध गरिरहेका छन्। पाइलटहरूका कारण केही दिनयता दर्जनौं उडान प्रभावित हुन थालेका छन्। उडान प्रभावित भएसँगै यात्रुहरू मर्कामा परेका छन्।
यसै क्रममा आइतबार निगमको न्यारोबडी जहाजको उडानमा चार घन्टा ढिलाइ भएपछि यात्रु आक्रोशित भएका थिए। पैसा तिरेर पनि समयमै उडान नभएपछि यात्रुहरू आक्रामक बनेका थिए। परिस्थिति असहज भएपछि निगमका कर्मचारी पनि भागाभाग भएका थिए। सोही क्रममा यात्रुहरूलाई सम्झाइबुझाई विमानस्थलभित्रकै लाउन्जमा राखेर छलफल गरी परिस्थितिलाई सहज बनाइएको प्रवक्ता शाहले बताए। ‘उडानमा ढिलाइ भएपछि केही यात्रु आक्रोशित हुनुभएको थियो।’ उनले भने, ‘पछि सम्झाइबुझाइ गरेपछि परिस्थिति सहज भयो।’
त्यसैगरी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शुक्रबार बिहान नौ बजे हङकङ उड्ने जहाजका क्याप्टेनले अन्तिम समयमा बिरामी भएको जानकारी दिएपछि पाँच घन्टा ढिलो गरी जहाज उडान भएको जानकारी दिए। आइतबारको विषयमा पनि प्राधिकरणले निमगलाई असहज परिस्थिति सल्टाउँदै समयमै उडान गर्न र यात्रुलाई मर्कामा नपार्न भनिसकेको जानकारी दिए।
गत कात्तिक २ गते न्यारोबडी र वाइडबडीका पाइलटले असमान सेवासुविधाबारे पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए। मन्त्री पाण्डेले उनीहरूका माग पूरा गर्न एक महिना समय मागेकोमा सो समयभित्र माग पूरा नहुँदा एकैसाथ १२ जना पाइलटले बिरामी बिदा लिएका छन्। न्यारोबडी र वाइडबडीका १२ पाइलटले एकैपटक बिरामी बिदा फाराम बुझाएपछि निगमको उडान केही दिनयता प्रभावित भइरहेको छ।
निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय क्षेत्रको इकोनोमी क्लासको माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने बताएको छ। राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने बताएको हो।
माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तर्राष्ट्रिय टिकट नबेची सोभन्दा तलको भाडादरमा मात्र बिक्री गर्ने निगमले जनाएको छ। निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा नियमानुसार कारबाही गर्ने प्रवक्ता रमेश पौडेलले बताए।
प्रकाशित: १० मंसिर २०८१ ०९:०५ सोमबार