अर्थ

राष्ट्रिय प्रसारणमा थपियो १६८ मेगावाट विद्युत्

तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि एक सय ६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएका छन्। तीनवटै आयोजनाबाट उत्पादित विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो।

१४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाहरूको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन्। यसमध्ये माथिल्लो सान्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यावसायिक रूपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रूपैयाँको विद्युत् बिक्री गरिसकेको छ। ४२.५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रूपमा विद्युत् उत्पादन सुरु गरिएको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई हाल परीक्षणका रूपमा विद्युत् उत्पादन गरिरहेको छ। परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि सान्जेन र रसुवागढीको व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु हुने छ। दुवै आयोजनाबाट यही महिनाभित्रमा व्यावसायिक रूपमा विद्युत् उत्पादन हुनेछ। नदी प्रवाहमा आधारित माथिल्लो सान्जेन, सान्जेन र रसुवागढी जलविद्युत् आयोजनाहरूबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत् उत्पादन हुन्छ।

चिलिमे जलविद्युत् कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकोमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोसीबाहेक तीनवटा आयोजना सम्पन्न भएका हुन्।

सबै आयोजना २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्प एवम् बाढीपहिरोले पुर्‍याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिक अवस्था, मधेस आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएका समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहने बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड– १९ को महामारी, कोभिड– १९ पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए। यसले गर्दा आयोजनाहरूको निर्माण प्रभावित भएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरू निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धि भएको बताए। ‘म चिलिमे कम्पनीको प्रबन्ध–सञ्चालक भएका बेला आम सर्वसाधारणको पनि लगानी रहने गरी एकसाथ चारवटै आयोजनाको निर्माण अगाडि बढाइएको थियो’, घिसिङले भने, ‘मुख्य रूपमा काबुबाहिरको परिस्थितिका कारण आयोजना निर्माणमा केही समय ढिलाइ भयो।’

अब तीनैवटा आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ। बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग पुग्ने घिसिङले बताए।

भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिँदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ। माथिल्लो सान्जेन र सञ्जेन गरी दुवै आयोजनाको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक सात अर्ब ३५ करोड रूपैयाँ थियो।

आयोजनाको प्रवद्र्धक सान्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अर्पणबहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरूको लागत नौ अर्ब २० करोड हुने अनुमान गरिएको बताए। सिइओ सिंहले लागत अनुमानबमोजिम दुवै आयोजनाको अनुमानित लागत प्रति मेगावाट साढे २२ करोड रूपैयाँ हुने देखिएको उल्लेख गरे। चिलिमेका चारवटै आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो।

प्रकाशित: ९ मंसिर २०८१ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App