अर्थ

चलचित्रमार्फत पर्यटन प्रवर्द्धन

विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएर नेपालमा प्रदर्शन भएको चलचित्र शाम्बाला माथिल्लो मुस्ताङको शेर्पा समुदायको कथामा आधारित छ। चलचित्र ‘शाम्बाला’ ले जति दर्शकको मनमा छाप पार्न सफल भयो, चलचित्रमा देखाइएका भौगोलिक र प्राकृतिक दृश्यले त्यति नै दर्शक लोभ्याएको छ।

‘शाम्बाला’ चलचित्र हेरेका बुढानीलकण्ठका स्थानीय साजन राईलाई फिल्म जति राम्रो लाग्यो त्यसमा देखाइएका भौगोलिक र प्राकृतिक दृश्य त्योभन्दा राम्रो लागेको बताए। ‘फिल्मका दृश्य यस्तो बबाल लाग्यो कि मलाई त फिल्मभन्दा त्यहाँ देखाइएका दृश्य पो बढी मन प¥यो’, उनले भने, ‘फिल्म हेरिसकेपछि एकपटक ती ठाउँ जसरी भए पनि जान्छु भन्ने लागेको छ।’ पछिल्लो समय नेपाली फिल्मले आफ्नै गाउँठाउँ उत्कृष्ट रूपमा देखाउन थालेका कारण मानिसले फिल्मबाट पनि घुम्ने ठाउँ चयन गर्न थालेको उनले बताए।

यस्तै केही महिनाअघि रिलिज भएको ‘गाउँ आएको बाटो’ फिल्मले पनि पूर्वीपहाडी जिल्ला भोजपुरको राई समुदायको कथा पस्केको छ। फिल्मको कथावस्तुुसँगै त्यसमा देखाइने प्राकृतिक र सामाजिक दृश्यका कारण दर्शकको तारिफ पाएको थियो। यो फिल्म हङकङका केही हलमा विशेष शो लागिरहेको छ भने चिनियाँ भाषामा समेत अनुवाद हुने भएको छ।

यी दुवै चलचित्र विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भएपछि मात्र नेपालमा प्रदर्शन भएका हुन्। ‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धाका लागि छानिएको थियो। साथै यो चलचित्र ९७औं एकेडेमी अवार्ड (अस्कर) का लागि छानिएको छ। यस्तै केही महिनाअघि प्रदर्शनीमा आएको चलचित्र ‘गाउँ आएको बाटो’ टोरोन्टो अन्तर्राष्ट्रिय फिल्म महोत्सव, बुसान अन्तर्राष्ट्रिय फिल्म महोत्सव, मुम्बई फिल्म महोत्सव र गोटेनवर्ग फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ।

पछिल्लो समय नेपाली चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि भाग लिन थालेका छन्। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिँदै गर्दा यसले मुलुकको पर्यटन प्रवद्र्धनमा पनि प्रत्यक्ष–परोक्ष टेवा पु¥याउँदै आएको छ। अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिएका चलचित्रमा समावेश भएका विषयवस्तु र त्यसमा देखाइने प्राकृतिक विविधता र सुन्दरताले मुलुकको पर्यटन विस्तारमा सहयोग पु¥याएको छ।

फलस्वरूप ती स्थानमा चलचित्रका माध्यमबाट घुम्न जाने स्वदेशी–विदेशी पर्यटकको संख्याबढ्दो छ। यस्तै मनाङ, सगरमाथा क्षेत्र, पोखरा, लुम्बिनी, चितवन, भक्तपुर, घान्द्रुकजस्ता नेपाली चलचित्रका लागि चर्चित सुटिङ लोकेसनले त्यहाँको पर्यटन प्रवद्र्धनलाई विश्वव्यापी गरेको छ। चलचित्रमा देखाइने मनमोहक दृश्यले ती स्थानको प्रत्यक्ष अनुभव गर्न उत्सुक पर्यटकको संख्या बढ्ने गरेको छ।

फलस्वरूप त्यहाँका होटल, रेस्टुरेन्ट, टुर गाइड र किनमेलका स्थानीय व्यवसायले पर्यटन गतिविधिबाट आर्थिक तथा विविध फाइदा उठाउन पाएका छन्। चलचित्रमा प्रयोग गरिएका बस्तु तथा दृश्यहरूप्रति पर्यटक लालायित हुन्छन्। यसले पर्यटन गतिविधिमा वृद्धि भई मुलुकको आर्थिक उत्थानमा योगदान पु¥याउँछ भने स्थानीयका लागि रोजगारीका अवसर सिर्जना हुन्छ।

चलचित्रहरू पर्यटकीय प्रवद्र्धनको प्रमुख हिस्सामध्ये एक मानिन्छ। चलचित्रमा देखाइने विज्ञान र विकास, जीवनशैली, प्रकृतिका मनमोहक दृश्यले अन्तर्राष्ट्रिय रूपमै कुनै पनि मुलुकको पर्यटनलाई परिचित गराउँछन्। तिनले पर्यटकलाई ठूला पर्दाबाट चिनेका गन्तव्यतर्फ जान आकर्षित गराउँछन् र आफूलाई चलचित्रको कथामा मुग्ध पार्छन्। नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि ‘कागबेनी’, ‘सानो संसार’, ‘कालो पोथी’, ‘कब्बडी’, ‘चिसो मान्छे’, ‘गाउँ आएको बाटो’, ‘शाम्बाला’ जस्ता चलचित्रले हिमाली क्षेत्र मुस्ताङको नौरीकोट, कागबेनी, जोमसोम, मार्फा, स्याङ, मुक्तिनाथ तथा मुगु, भोजपुर, बाजुरालगायतका ठाउँको प्राकृतिक र सांस्कृतिक पक्षको विश्वव्यापी प्रचार–प्रसार गरेका छन्।

अरूभन्दा चलचित्रमा देखाइने गतिविधि, विषयवस्तु तथा स्थानलाई दर्शकले प्रयोग गर्न रुचाउने भएकाले चलचित्र पर्यटन प्रवद्र्धनको सशक्त माध्यम भएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए।

अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा नेपाली चलचित्र रहेमा एकैपटक ठूलो संख्यामा नेपालबारे थाहा हुने बताउँदै निर्देशक लामिछानेले भने, ‘अहिले नेपालबाट शाम्बाला फिल्म ओस्कारमा गएको छ। त्यति ठूलो प्लेटफर्ममा नेपाली चलचित्र जाँदा विभिन्न देशका लाखौं मानिसले एकैपटक नेपालको नाम थाहा पाउँछन्; नेपालबारे थाहा पाउँछन् र त्यसमा समेटिएका प्रत्येक विषयवस्तु र ठाउँका बारेमा उनीहरू परिचित हुन्छन्’, उनले थपे, ‘यसले मुलुकका बारेमा अन्तर्राष्ट्रिय रूपमा गर्नुपर्ने करोडौं रूपैयाँको प्रचारप्रसार एकैपटक निःशुल्क गर्दिन्छ र विदेशीलाई नेपालबारे बुझ्न तथा यहाँ आउन प्रेरित गर्छ।’

 चलचित्रले प्रोत्साहन गरेका ठाउँहरूले एक्सपोजर पाउने हुँदा त्यहाँ आउने आगन्तुकको संख्या बढ्ने तथा पर्यटक गन्तव्यस्थलका रूपमा परिणत हुने उनले बताए।  

प्रकाशित: ९ मंसिर २०८१ ०७:१३ आइतबार

#Promotion of tourism through movies