अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: अन्तर्राष्ट्रिय उडानका लागि सधैंको हारगुहार

.

<br>

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको झन्डै दुइवर्ष हुन थालेको छ। यो अवधिमा विमानस्थलबाट नियमित आन्तरिक बाहेक जम्मा आठवटा अन्तर्राष्ट्रिय उडान भएका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको पहिलो दिनदेखि नै पोखरेलीले पोखरालाई सिधै अन्तर्राष्ट्रिय बजारसम्म जोड्न पाइने भन्दै खुसी थिए। तर, उनीहरुको त्यो खुसी उडान नभएपछि हराएको छ।  

अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा सबैभन्दा दुखी पर्यटन क्षेत्र छ। त्यसैले हरेक पल्टका प्रधानमन्त्रीका भ्रमणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उडान संचालन गर्नेगरि भ्रमण एजेन्डा बनाउन प्रधानमन्त्रीसँग व्यावसायीले हारगुहार गर्ने गरेका छन्।

अघिल्लोपटक तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जाँदा पनि पोखरेली व्यावसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान गर्नेगरि भ्रमण एजेन्डामा राख्न प्रधानमन्त्रीसँग गुहार मागेका थिए। त्यो बेलाका प्रधानमन्त्री दाहालले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा उडान हुनेबारे आफू आशावादी रहेको बताएका थिए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तत्कालिन प्रधानमन्त्री दाहालले नै उद्घाटन गरेका थिए।

‘भारत भ्रमणका बेलामा पनि हवाई उडानबारे कुरा भएको हो। पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्नेबारे सबैतिर कुरा भइरहेको छ,’ प्रधानमन्त्री दाहालले त्यो बेला संचारमाध्यमसँग भनेका थिए, ‘चीन भ्रमणमा पनि आफुले विमानस्थलकै विषय उठाउने छु।’  

तत्कालिन प्रधानमन्त्री दाहालले त्यो बेला व्यावसायीलाई आश्वासन दिए झैं चीन भ्रमणबाट फर्केपछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा महत्वपूर्ण छलफल भएको जानकारी दिएका थिए।

यतिसम्मकी उडान संचालनका लागि आन्तरिक रुपमा पनि केही तयारी गर्नुपर्ने देखिएको उल्लेख गर्दै तत्कालिन प्रधानमन्त्री दाहालले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताएका थिए। तर, त्यो बेला दाहालले आश्वासन दिएपनि अहिलेसम्म उडानको कुनै संकेत पोखराले पाउन सकेको छैन।

अहिले फेरि प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन्। चीन भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री ओलीलाई भेटेर पोखराका व्यावसायीले फेरि हारागुहार गरे। व्यावसायीको हारगुहार पुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनदेखि सिधा उडानका लागि पहल होस भन्नेमा रहेको छ। पर्यटन व्यावसायी धर्मराज पन्थी भन्छन, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएदेखि नै पोखराले नियमित अन्तर्राष्ट्रिय उडानको माग भएको हो। तर, अहिलेसम्म जति नै हारगुहार गरेको भएपनि ठोस प्रगति भएको छैन।’

प्रधानमन्त्रीको भ्रमणमा एजेन्डामा समेट्न सकेको खण्डमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संचालन हुने अपेक्षा भएकोले पनि हारगुहार गर्न नछाडेको उनले बताए। ‘अहिले पनि हाम्रो हारगुहार उस्तै। तरपनि सुनुवाई भएको छैन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन हरेक पटक प्रधानमन्त्रीहरुका एजेन्डा बन्ने गरेका छन, तर, पार लागेको छैन,’ उनले भने।  

अहिले पनि प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै गर्दा आशावादी भएर नै त्यही एजेन्डालाई लिएर गएको उनले बताए। चीनले सन् २०२५ मा चिनियाँ पर्यटकका लागि नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहँदा अहिलेका प्रधानमन्त्रीको भ्रमणबाट यो सम्भव हुनसक्ने देखिएको उनले बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष तारानाथ पहारी पनि प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदैगर्दा फेरि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडानकै एजेन्डा लिएर गएको बताउँछन्।

‘हाम्रो माग पुरा भएको भए यो हारगुहार आवश्यक थिएन। तर, दुइवर्ष हुनै लाग्दा पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको टुंगो भएन,’ उनले भने, ‘कुनै एकजना प्रधानमन्त्रीको कार्यकालमा यो समस्या समाधान भएको भए अर्काे कार्यकालका प्रधानमन्त्रीकहाँ जानैपर्ने थिएन । तर, समस्या जहाँको तही भएपछि पटकैपिच्छे जानुको विकल्प रहेन।’

व्यावसायी मात्र रोइकराई गरेर केही नभएपछि प्रधानमन्त्री गुहार्नुको विकल्प नरहेको उनले बताए। ‘हामीले हारगुहार गर्न कोसँग बाँकी राख्यौ र ? पोखरा आएका पर्यटनमन्त्रीसँग पनि यही कुरा राखेको राख्यै छौं। प्रधानमन्त्रीको भ्रमण एजेन्डामा पनि पारेकै छौ। तरपनि समस्या समाधान भएन । पोखराको बारेमा कोही गम्भिर देखिएनन,’ पहारीले भने।

अहिले पोखरा विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय हवाई कम्पनिलाई सरकारले छुट दिएपनि त्यसमा हवाई कम्पनि तयार नभएको अवस्थामा पुन दवावका लागि प्रधानमन्त्री ओलीको भ्रमणमा एजेन्डा पार्नुपरेको उनले बताए। ‘कुटनीतिक पहल गर्नका लागि हामीले अनुरोध गर्ने हो। हाम्रो पहलमा मात्र कुटनीतिक पहल सम्भव हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेपछि केही हुन्छ की भन्ने भएर आशावादी भएका हौ। पहिले नभएपछि अहिले हुन्छ की भन्नै पर्यो।’ प्रधानमन्त्री र पर्यटन मन्त्री बाहेक पोखरा आउने उच्च राजनीतिक दलका नेतासँग पनि बारम्बार गुहार गर्नुपरेको उनले बताए। ‘प्रदेशका मुख्यमन्त्रीसँगको गुहारको त लेखाजोखा नै छैन। अब हाम्रो पहलले मात्र हुँदैन। राजनीतिक संयन्त्र लाग्नुपर्ने हो। त्यो नभएसम्म सम्भव छैन।’

गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष श्रीकान्त खतिवडा पनि पोखराले कुनैपनि नेतासँग हारगुहार गर्न बाँकी नराखेको बताउँछन्। ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन कुनै न कुनै समस्या छ भनेर सबैले थाहा पाएकै हुन। कुनै पनि दलका नेताहरु यो बारेमा अनभिज्ञ छैनन,’ उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान जति ढिला संचालन हुन्छ, त्यसको भार बढ्दै जाने थाहा सरकार र सबैलाई भएकै हो। सरकारमा रहेका दलले पनि त्यो कुरा स्वीकारेका छन।’  

नेपालले छिमेकी मुलुकसँग कुटनीतिक क्षमता बिस्तार गर्न नसक्दा यो अवस्था आएको उनले बताए। ‘इकोनोमिक डिप्लोमेसी’का बारेमा वकालत गर्न सक्ने नेपालका नेतृत्वसँग रहेन। त्यसको मारमा पोखरा परेको होे,’ उनले भने, ‘सरकार संचालन गर्दा आर्थिक हिसाबले कुटनीतिक नेतृत्व बलियो हुनुपर्छ। तर, इकोनोमिक डिप्लोमेसीमा सरकार कमजोर भयो । त्यसले गर्दा बारम्बार पोखराले गुहार माग्नुपरेको।’

विमानस्थल संचानलमा ल्याउनका लागि अन्तर्राष्ट्रिय ब्यापारको रणनीति बनाउन नसकेको पनि उनले बताए। ‘पोखरा पर्यटकको गेटवे बन्न सक्छ भन्नेमा सरकारले छिमेकी मुलुकलाई भन्न सकेन। त्यसबाहेक आलोपालो सरकारको नेतृत्व गरेपनि आर्थिक विकासमा सबै राष्ट्रसँग सम्बन्ध बिस्तार गर्न सरकार चुकेकै हो,’ उनले भने।

पोखराले पनि अन्तर्राष्ट्रिय बजारलाई बिस्तार गर्न नसकेको उनले बताए। ‘निजी क्षेत्रले पनि बजार बिस्तारका लागि छलफल गरेको छैन। अब त पोखरा आफैले पनि विभिन्न मुलुकसँग सम्बन्ध बिस्तार गरेर पर्यटक भित्र्याउन पहल गर्नुपर्छ। पोखरामा सिधै पर्यटक झार्नका लागि बजारीकरण गर्न निजी क्षेत्र सक्षम रहेको देखाउनुपर्छ,’ उनले भने।  

प्रकाशित: ६ मंसिर २०८१ १५:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App