अर्थ

किन हराउँछन् पर्यटक ?

पोखरा – चैत पहिलो साता अन्नपूर्ण आधारशिविर (एबिसी) घुमेर पोखरा फर्कदै गर्दा कोरियाली पदयात्री जी आईले बाटो बिराइन् । चल्तीको बाटो छाडेर जंगल र खोंचमा पुगेकी उनको आठ घन्टापछि उद्धार भयो।

मोबाइल फोनको सहायताले उनको उद्धार सम्भव भयो ।अघिल्लो साता पदयात्रामा रहेका दुई पर्यटक धौलागिरी पदमार्गमा लडेर घाइते भएपछि प्रहरीले उद्धार गर्‍यो । चेक रिपब्लिकका कामिल मोरोभिक र जिरी कालाविन पदयात्राका क्रममा लडेर घाइते भएका थिए । तीमध्ये कामिलको खुट्टा भाँचिएको छ । अर्काको अवस्था सामान्य छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ आलबारीस्थित खोंचमा खसेर ती पर्यटक घाइते भएका थिए।

गत फागुन पहिलो सातादेखि अन्नपूर्ण क्षेत्रमा हराइरहेकी नेदरल्यान्डकी कोर्नेली भान भेगेलको पनि अवस्था अज्ञात छ । मर्दी हिमाल हिँडेकी उनले फागुन ८ मा परिवारसँग अन्तिम सम्पर्क गरेकी थिइन् । नेपाल बस्न पाउने गरी भिसा अवधि भए पनि उनी कतै सम्पर्कमा छैनन् ।गत फागुन २२ गते भारतीय नागरिक राजेश अग्रवाल श्रीमतीलाई फोन गरेर आफू पोखरामा रहेको खबर गरेपछि सम्पर्कविहीन भएका थिए । उनको अहिलेसम्म अत्तोपत्तो छैन।

फागुन १९ गतेदेखि अन्नपूर्ण फेरोमा फ्रेन्च नागरिक निकोलास फिन गार्डामिनो हराएका छन् । निकोलास बेपत्ता भएपछि परिवारका सदस्यले चिन्ता जनाउँदै खोजी गरिदिन आग्रह गरेका छन् ।–इजरायली नागरिक अमित मोस्चे रिचम्यान डेढ वर्षदेखि मर्दी हिमालको पदयात्रा रुटमा सम्पर्कविहीन छन् । मर्दी (५५५३ मिटर) को पदयात्रामा गएका रिचम्यान २०१६ अक्टोबर १७ देखि सम्पर्कविहीन छन् ।

अन्नपूर्ण क्षेत्रमा विदेशी पर्यटक हराएका यी केही प्रतिनिधि घटना हुन् । नेपालको पदयात्रामा रम्न दूरदराजदेखि आएका उनीहरु पदयात्रा क्षेत्रमा हराउँछन् । कतिपय पर्यटकले त ज्यानसमेत गुमाएका छन् । आखिर कहाँ गए त यी पर्यटक ? टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दिपकराज अधिकारी भन्छन्, ‘थाहा छैन ! पदयात्रामा एक्लै गएर उनीहरुले जोखिम उठाए।’

अधिकारीका अनुसार पछिल्लो समय पदयात्रा क्षेत्रमा विदेशी हराउने घटना चिन्ताजनक ढंगले बढेको छ । ‘एक्लै जाँदा जोखिम छ तैपनि पर्यटक सुटुक्क अनुमतिपत्र बोकेर उकालो लाग्छन्,’ अधिकारीले भने, ‘हामीले एक्लै पदयात्रामा नजाऊ भनेर बारम्बार भन्दै आएका छौं । टानमा आवद्ध व्यवसायीले एक्लै जान निरुत्साहित गरिरहेका छन्। तर, पर्यटक टेर्दैनन्।’

अधिकारीका अनुसार विदेशीहरु व्यक्तिगत रुपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को अनुमति लिएर पदयात्रा जान्छन् । ‘एक्लै जानेले पनि टिम्स र एक्यापको शुल्क तिरेर अनुमति लिन्छन्, तर साथमा पोर्टर र गाइड लैजाँदैनन्,’ उनले भने, ‘गाइड वा पोर्टर लैजाँदा कतिपयले यात्रा खर्चिलो हुने ठान्छन् भने केही एक्लै हिँड्न रुचाउने हुन्छन्।’

पदयात्रामा पदायात्री हराउँदा त्यसको झन्झट पर्यटन व्यावसायीलाई पर्ने गरेको छ । ‘कसैलाई खबर नगरी उकालो लाग्छन्, हराएपछि हामीमा झन्झट आइपुग्छ,’ उनले भने, ‘कम्पनीमा आवद्ध भएर गएको भएमात्र सहज हुने हो । एक्लै हिँड्नेसँग केही लागेन ।’ पर्यटक सम्पर्कविहीन भएपछि मात्र सम्बन्धित मुलुकका दूतावास, परिवारका सदस्यले खोजी गर्न थालेपछि सूचना पाउने उनले बताए।

‘गाइड वा पोर्टर लिएर जाऊ भनेको भन्यै छौं, कसैले टेर्दैन,’ अधिकारीले भने । एक्लै हिँड्दा जंगली जनावरको आक्रमणमा पर्ने, लुटिने, आक्रमणमा पर्ने, बाटो बिराउने खतरा रहेको उनले बताए । अधिकारीका अनुसार कतिपय बाटो बिराएर भीरपखेरामा लड्दा उद्धार नै पाउँदैनन्, केही जंगली जनावरको आक्रमणमा पर्न सक्छन् । त्यसबाहेक प्राकृतिक प्रकोपको मारमा परेर पनि पर्यटकले ज्यान गुमाएका छन्।

व्यक्तिगत रुपमा जाँदा यस्ता घटना बढेका छन्,’ अधिकारीले भने, ‘गाइड र पोर्टरबिना हिँड्न नदिए यस्ता घटनाबाट जोगाउन सकिन्छ ।’ पर्यटक हराएपछि नेपालको पदयात्रा क्षेत्र असुरक्षित ठहर्छ । त्यही भएर पदयात्री पर्यटकलाई गाइड र पोर्टर अनिवार्य गर्नुपर्ने अधिकारीको सुझाव छ।

एक्यापकी पर्यटन अधिकृत रश्मी आचार्य पनि एक्लै गएका पर्यटक हराएपछि आफूहरुले अनेक झन्झट बेहोर्नुपर्ने बताउँछिन् । बाटो भुलेर हराउने क्रम बढेको आशंका गरेर एक्यापले पदमार्गको सबैजसो ठाउँमा बाटो देखाउने ‘साइनबोर्ड’ राखेको उनले बताइन् । ‘पर्यटक हराउने क्रम बढ्यो । त्यसमा बाटो देखाउने संकेत बोर्ड नभएर हो कि भनेर हामीले अध्ययन गर्‍यौं । अनि झुक्किन सक्ने ठाउँमा साइनबोर्ड राख्यौं,’ आचार्यले भनिन्, ‘तर पनि समस्या सुल्झेको छैन।’

उनका अनुसार एक्यापले जहिले पनि ग्रुप ट्रेकिङलाई प्राथमिकता दिँदै आएको छ । ‘कम्तीमा साथमा गाइड वा पोर्टर लिएर जाऊ भन्छौं । गाइड वा पोर्टर साथमा हुनु नै सुरक्षित उपाय हो,’ उनले भनिन्, ‘समूहमा जाँदा जस्तोसुकै समस्यासँग पनि जुध्न सकिन्छ । एक्लै नजाऊ भन्ने हो । तर टेर्दैनन् ।’ व्यक्तिगत रुपमा पदयात्रामा जानै नदिने गरी सरकारले कडाइ गर्न सक्ने उनले बताइन्।

आचार्यका अनुसार अहिले पनि उपल्लो मुस्ताङ र मनाङको नार र फू लगायत क्षेत्रमा एक्लै जान पाइँदैन । समूहमा जानुपर्ने बाध्यकारी नियमले त्यहाँ यस्ता घटना घटेका छैनन् । ‘वर्षमा एक लाखभन्दा बढी विदेशी अन्नपूर्ण पदयात्रामा जान्छन् । तीमध्ये एकाध घटना हुन्छन् । सीमित घटनाले पनि पदयात्रा क्षेत्रको सुरक्षाबारे प्रश्न उब्जाएको छ,’ आचार्यले भनिन् ।
पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्षसमेत रहेका टेकिङ व्यवसायी सोम थापा पर्यटकमा रहेको ‘ओभर कन्फिडेन्स’का कारण पनि यस्तो समस्या आएको बताउँछन् । ‘पर्यटक एक्लै जाँदा पनि सुरक्षित छु भनेर ढुक्क हुन खोज्छन् ।

तर, एक्लै जाँदा जोखिम निम्तिन सक्छ,’ थापाले भने, ‘एक्लै जाँदा असुरक्षित भइन्छ । त्यसैले गाइड साथमा अनिवार्य हुनुपर्छ भनेर बाध्यकारी बनाउने हो भने हराउने घटना रोक्न सक्न्छि । त्यसको कडाइ गर्ने जिम्मा सरकारको हो।’

प्रकाशित: २७ चैत्र २०७४ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App