अर्थ

त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो स्थानान्तरण गर्दै निगम

आयल निगम र इन्जिनियरिङ संस्थानबीच सम्झौता

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ। अहिलेको इन्धन डिपो ५० वर्ष पुरानो, भण्डारण क्षमता कम, डिपो विमानस्थलको ट्याक्सी वेबाट नजिक रहेको लगायतका कारणले सार्न लागिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले तयार गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गुरु योजना तथा अन्तर्राष्ट्रिय परामर्शदाताको अध्ययन सुझाव अनुसार विमानस्थलबाट उत्तर पश्चिम गुुहेश्वरीतर्फ डिपो सार्न निगमले प्रक्रिया अघि बढाएको छ।

विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्स नजिकै रहेको गुह्येश्वरीतर्फको नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने ५० रोपनी जग्गामा डिपो सार्ने निर्णय गरेको निगमले जनाएको छ। नयाँ हवाई इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगल र त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

अहिलेको डिपोमा भण्डारण क्षमता पाँच दिनका लागि मात्र रहेको, डिपो ५० वर्ष पुरानो, ट्याक्सी वेबाट नजिकभएकाले पनि सार्नु परेको नेपाल आयल निगम हवाई इन्धन डिपो सिनामंगलका प्रमुख प्रदीप यादवले बताए। बुधबार सम्झौता भएको छ, संस्थानले डिपिआर उपलब्ध गराउना साथ निर्माण कार्य सुरु गरिने उनले बताए। ‘हवाई इन्धन प्रज्वलनशील पदार्थ भएकाले अन्तर्राष्ट्रिय मापदण्ड पालना गर्नुपर्छ,’ प्रमुख यादवले भने, ‘सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखेर अत्याधुनिक प्रविधिको नयाँ डिपो निर्माण गर्न लागेका हौं।’

 २०८४ मंसिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढेको यादवले बताए । सन् २०१८ मा गरिएको अध्ययन अनुसार डिपो सार्न करिब ६ अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक लागत अनुमान गरिएको थियो। गत साउन ९ गते विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि डिपोको जोखिमबारे सतहमा कुरा आएपछि मन्त्रीपरिषद्को बैठककले एक वर्षभित्र हवाइ इन्धन डिपो सुरक्षित र सुविधायुक्त स्थानमा सार्न समेत निर्देशन दिएको थियो। मन्त्रीपरिषदको निर्णय अनुसार हवाई इन्धन डिपो सार्न लागिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक डा.चण्डिकाप्रसाद भट्टले बताए। ‘डिपोका लागि क्यानले जग्गा उपलब्ध गराएको छ,’ भट्टले भने, ‘अन्तर्र्राष्ट्रिय मापदण्ड अनुसार नयाँ डिपो बनाउछौं।’

डिपोको एकातर्फ विमानस्थलको टयाक्सी वे र अर्कोतर्फ बस्ती नजिकै रहेको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले पनि डिपो सार्न आयल निगमलाई ताकेता गर्दै आएको छ। अहिलेको डिपो विमानस्थलको धावनमार्गबाट नजिक रहेकाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अनुसार नरहेको क्यानले जनाएको छ।

‘हवाई इन्धन डिपोको अधिकांश क्षेत्र ट्याक्सी वेमा पर्ने भएकाले विमानस्थल सुरक्षा, उडान सुरक्षाको दृष्टिकोणले वाञ्छनीय छैन,’ आयोजना निर्देशक दिपेन्द्र श्रेष्ठले निगमलाई लेखेको पत्रमा भनिएको छ, ‘डिपोबाट वरपरका घनाबस्तीमा समेत ठूलो जोखिम उत्पन्न हुने देखिन्छ।’

आइकाओले तोके अनुसार विमानस्थलको मापदण्ड पूरा हुन नसक्दा सेफ्टी अडिटको समयमा कमीकमजोरी औंल्याउने हुँदा अन्तर्राष्ट्रिय जगत्मासमेत विमानस्थलको र मुलुकको छवि राम्रो नहुने प्राधिकरणले बताउँदै आएको छ।

मुलुकमा हवाई इन्धनको माग हरेक वर्ष बढ्दै गएको छ। आयल निगमको इन्धन भण्डारणको सुरक्षा मापदण्ड सामान्य अभ्यासभन्दा फरक रहेको छ। सामान्यतया आपत्कालीन प्रयोगका लागि तीन देखि पाँच दिन र नियमित माग अनुसार आपूर्ति गर्न पाँचदेखि सात दिनका लागि इन्धन भण्डारण गर्ने गरिन्छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान भर्ने बिमानलाई सेवा दिनका लागि सिनामंगलमा सञ्चालित हवाई इन्धन डिपोमा भने करिब पाँच दिनलाई पुग्ने इन्धन मात्र भण्डारण गर्न सकिन्छ।

प्राधिकरणको गुरु योजनाअनुसार मुख्य धावनमार्गको केन्द्रदेखि ट्याक्सी वेबीचको दूरी १७२.५ मिटर कायम गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ। सो ट्याक्सी वे निर्माण गर्दा अहिले रहेको निगमको हवाई इन्धन डिपोको करिब आधा क्षेत्रफल हटाउनुपर्ने अवस्था रहेको छ।

पाँच दशक पुरानो सिनामंगल हवाई इन्धन डिपोको भण्डारणा क्षमता सात हजार ६ सय ६० किलोलिटर मात्र छ। अहिले दैनिक सरदर चार सय किलोलिटर हवाइ इन्धन बिक्री वितरण हुँदै आएको छ। दसैंको समयमा हवाई उडानमा चाप भएको बेला नौ सय किलोलिटरसम्म बिक्री भएको थियो। यो डिपोमा एक हजार ६ सय किलोलिटरका तीन वटा, सात सय ६० किलोलिटरका तीन वटा र ७० किलोलिटर क्षमताका आठ वटा इन्धन भण्डारण ट्यांकी रहेका छन्।

नयाँ निर्माण हुने डिपोमा तीन हजार किलोलिटर क्षमताका पाँच वटा भण्डारण ट्यांक रहनेछन्। नयाँ डिपो आधुनिक प्रविधिसहितको हुने प्रमुख यादवले बताए। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक करिब चार दर्जन अन्तर्राष्ट्रिय उडान र एक सय ६० घरेलु उडान हुने गरेका छन्। दैनिक करिब पाँच लाखदेखि अधिकतम नौ लाख लिटरसम्म हवाई इन्धन बिक्री हुन्छ। निगमका १० वटा बाउजरले जहाजमा इन्धन भर्ने गरेका छन्।

इन्धन सम्बन्धी सम्पूर्ण व्यवस्थापन, बिक्री वितरण गर्न सरकारको एकाधिकार र स्वामित्व प्राप्त संस्था आयल निगम भएकाले डिपो भत्काउने, नयाँ स्थानमा निर्माण गर्ने सम्पूर्ण कार्य निगमकै कार्य क्षेत्र र जिम्मेवारीभित्र पर्ने विषय भएको भन्दै क्यानले पत्राचार गर्दै आएको थियो।

सन् १९६४ मा त्रिभुवन विमानस्थलको नाम परिवर्तन गरी अन्तर्राष्ट्रिय विमानस्थल नामकरण भएर उडान सुरु भएका थिए। तत्कालीन अवस्थामा सबै जहाज सानादेखि मझौला थिए। तत्कालीन आवश्यकता अनुसार पूर्वाधार निर्माण भएका थिए।

सन् १९८९ पछि ठूला जहाज आउन थालेको र आइकाओको मापदण्ड अनुसार पूर्वाधार स्तरोन्नति गर्नुपर्ने दायित्व रहेको प्राधिकरणले जनाएको छ। निगमको डिपो अहिले ३७ रोपनी फैलिएको छ। त्यसमा ३२ रोपनी निगमको नाममा जग्गा रहेको छ भने पाँच रोपनी जमिन क्यानको भाडामा लिएर प्रयोग गर्दै आएको थियो।

प्रकाशित: ६ मंसिर २०८१ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App