अर्थ

उखुको समर्थन मूल्य तोक्न सरकारको ढिलाइ, अन्योलमा किसान

.

.

सरकारले यस वर्षको उखुको समर्थन मूल्य तोक्न ढिलाइ गरेको छ।

सामान्यतया कात्तिक मसान्तसम्म तोकिसक्नुपर्ने उखुको समर्थन मूल्य यो वर्ष सरकारले अझै निर्धारण गर्न सकेको छैन।

उखु क्रसिङ्ग सुरु भइसकेको भए पनि मूल्य तोक्न नसक्दा किसानहरू अन्योलमा परेका छन्। उखु किसानहरूले सरकारको ढिलाइप्रति असन्तुष्टि जनाउँदै, ‘उखुको कुन मूल्य पाउने हो भन्ने स्पष्ट नभएकाले आर्थिक योजना बनाउन कठिन भएको’ बताएका छन्।

यस विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरि बहादुर केसीले मङ्सिर मसान्तसम्म मूल्य तोकिने जानकारी दिए।

उनले भने, ‘सामान्यतया कात्तिक मसान्तसम्म मूल्य निर्धारण हुने भए पनि यसपटक केही ढिलाइ भएको हो। मन्त्रालयले मङ्सिर मसान्तभित्रै समर्थन मूल्य तोक्ने तयारी गरिरहेको छ।’

सरकारको ढिलासुस्तीले उखु किसानहरूको आय र व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने देखिएको छ। विगतका वर्षझैं उनीहरु यसपालि पनि उखु उधारोमै बेच्न बाध्य छन् ।

उद्योगीहरूले भने यही मेसो पारेर गत वर्षकै मूल्यमा किसानसँग उखु लिएर क्रसिङ गरिरहेका छन्।

प्रकाशित: ५ मंसिर २०८१ १५:३७ बुधबार