अर्थ

‘निर्णायक आन्दोलन’ भन्दै सडकमा सहकारी पीडितको गुहार(तस्बिरहरू)

‘निर्णायक आन्दोलन’ भन्दै सहकारी पीडितहरू काठमाडौंका सडकमा उत्रिएका छन् । बुधवार सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा सहकारी पीडित सडकमा उत्रिएका हुन् । 

राजधानीका विभिन्न ठाउँबाट आएका आन्दोलनकारी सहकारी पीडित यति बेला माइतीघर मण्डलामा जम्मा भएका छन् । पीडितले आन्दोलनमा आफ्नो बचत रकम फिर्ताको माग गर्दै नाराबाजी गरिरहेका छन् ।

आन्दोलनमा देशभरिका सहकारी पीडित एक हौँ, निर्दयी नेता र सरकार मिलेमतो र रमिता, दुःखको कमाई, भयो सञ्चालकको रजाइँ, सहकारी बचतकर्ताको तीन खर्ब रुपैयाँ लुटियो गुहार–गुहार जस्ता नारा लगाइएका छन् । विभिन्न नारा जडित प्लेकार्ड र ब्यानरमा उत्रिएर माइतीघरमा प्रदर्शन भइरहेको छ । 

सहकारी पीडित आफूसँग सरकारले गरेका पटक–पटकका सहमति कार्यान्वयन गर्न माग गरिरहेका छन् । ‘हामीले यस पटकको आन्दोलन निर्णायक भनेका छौँ । सरकारले हामीसँग गरेका सम्झौता अब राजपत्रमा प्रकाशित गरेर कार्यान्वयनमा नलगेसम्म विश्वास गर्दैनौँ,’सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलब केसीले भने,‘त्यसैले यो आन्दोलन हाम्रा सम्पूर्ण माग सुनुवाइ नभएसम्म जारी रहन्छ ।’

प्रकाशित: ५ मंसिर २०८१ १४:०९ बुधबार

#co_oprative_Scam Co_Operatiove_Victim_Protest