चौधरी ग्रुपअन्तर्गतका कम्पनीहरूले एक वर्षमा सरकारलाई करिब साढे १८ अर्ब रूपैयाँ राजस्व तिरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको चौधरी ग्रुपले जनाएको छ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक वर्षमा राजस्वमा पुर्याएको योगदान दुई अर्ब ३८ करोड रूपैयाँले बढी हो। आर्थिक वर्ष २०७९/८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो।
गत पाँच वर्षको अवधिमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रूपैयाँ कर तिरेको जनाएको छ। आर्थिक वर्ष २०७६/७७ मा नौ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरेको जनाएको छ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यावसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको अवस्थामा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ।
आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको अवस्थामा पनि चौधरी ग्रुपको योगदान भने अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा १५ प्रतिशतले वृद्धि भएको छ।
‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकूल वातावरणबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्याउन सकेको चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले बताए। ‘राष्ट्रिय अर्थतन्त्रको बिस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं,’ चौधरीले भने। नयाँ व्यवसाय वृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बताए।
प्रकाशित: ४ मंसिर २०८१ ११:१४ मंगलबार