पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरी झुम्का बजारदेखि आधा किलोमिटर पश्चिममा पूर्वाञ्चल क्षेत्रीय कारागार पर्छ। त्यही कारागारबाट नहर क्रस गरेर फेरि आधा किलोमिटर उत्तर लागेपछि प्रशस्त खेतीयोग्य जमिन भेटिन्छ। त्यही क्षेत्रभित्र भीम लुईंटेल र उनका भाइ जीवन लुईंटेलले सञ्चालन गरेको ‘लुईंटेल बन्धु कृषि फर्म’ अवस्थित छ।
पुर्ख्यौली सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले १३ वर्षअघि गाईभैँसीपालन सुरु गरेका लुईंटेल दाजुभाइले अहिले फर्मलाई जिल्लामै उत्कृष्ट बनाएर उदाहरणीय बनाएका छन्। यो फर्मले यहाँका स्थानीय बासिन्दालाई समेत प्रेरणा दिएको छ। जसका कारण वरपरका किसानहरूको आर्थिक स्थिति समेत सुधारिएको छ।
२०६८ सालमा सानो स्तरमा सुरु गरिएको यस फर्म अहिले ९ बिघा क्षेत्रफलमा फैलिएको छ। यहाँ ६० वटा गाई भैँसी, १५० वटा बाख्रा–खसी, ७,५०० लेयर्स जातका कुखुरा, साथै हाँस र टर्की समेत पालिएका छन्।
फर्मको मुख्य उत्पादन दूध हो। यहाँको ब्राउन सुईस जातको गाईले दैनिक ४५ लिटरसम्म दूध दिन्छ भने अरू गाईले २० लिटरभन्दा माथिको उत्पादन गर्छन्। भैँसीले पनि १० लिटरभन्दा बढी दूध दिन्छन्। फर्मबाट दैनिक २०० लिटर दूध बजारमा पुग्ने गर्छ।
तर, दूधको उचित मूल्य नपाएकोमा भने भीमले गुनासो गरे। फर्ममा उत्पादित दूध प्रतिलिटर ६५ रुपैयाँमा बिक्री भए पनि बजारमा गाईको दूध ८० र भैँसीको ९० रुपैयाँसम्ममा बिक्री हुने उनले बताए।
फर्ममा बोयर, जमूनापारी र खरिजातका बाख्रा–खसी पालिएको छ। १०३ किलोको बोयर जातको खसी बिक्री भएको जानकारी दिँदै भीमले गत वर्ष १२७ किलोको खसी बिक्री गरेको सुनाए। यस्ता खसीबाख्राको मूल्य २० हजारदेखि ४५ हजार रुपैयाँसम्म पुग्ने उनी बताउँछन्।
फर्ममा रहेका ७,५०० लेयर्स जातका कुखुराले दैनिक ६,३०० अण्डा उत्पादन गर्छन्। जीवनका अनुसार कुखुराको पालन खर्च कटाएर दैनिक २५ हजार रुपैयाँ नाफा हुन्छ। तर, कुनै रोग लाग्दा ठूलो नोक्सानी बेहोर्नु पर्ने जोखिम रहेको उनी बताउँछन्।
लुईंटेल दाजुभाइले ठूलो लगानी र मिहिनेत गरे पनि सरकारी सहयोगको अभावमा निराश छन्। ‘सरकारले नीति बनाए पनि सही कार्यान्वयन नगर्दा लाभ लिन सकेका छैनौं,’ भीमले भने। उनले ‘झोले’ कृषि फर्महरूले ठूलो रकम अनुदानमा लिने गरेकोमा गुनासो गरे।
१७ जना कामदारलाई रोजगारी दिइरहेको यस फर्मले लुईंटेल परिवारको सामाजिक योगदानलाई पनि बलियो बनाएको छ। इटहरी–१७ मा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका लुईंटेल परिवारले भादगाउँ सिनुवारी कलेजलाई १० कट्ठा जमिन उपलब्ध गराएका छन्। यसै जमिनमा कलेज भवन निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा छ।
प्रकाशित: २ मंसिर २०८१ १४:२६ आइतबार