अर्थ

मनोमानी कर विरुद्ध आजपाद्धारा काठमाडौंमा प्रदर्शन

<br>

आम जनता पार्टी (आजपा) ले सरकार विरुद्ध शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ। भ्रष्टाचार विरुद्ध आजै मधेस प्रदेशमा मधेस यात्रा सुरु गरेको आजपाले सरकारको मनोमानी कर विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको हो।

आजपाको काठमाडौँ उपत्यका विशेष कमिटीको आयोजनामा ‘सरकारको मनपरी कर आतंक विरुद्ध प्रदर्शन’ कार्यक्रम काठमाडौंको शान्तिबाटिबाट सुरु भई पुनः सोही ठाउँमा पुगेर समापन भएको हो । 

जनताले तिरेको कर कहाँ छ ?, भ्रष्टाचार गरि सके छ, ‘कर ज्यादती विरुद्ध एक होऔँ, मनोमानी कर खारेज गरौँ, सरकारको अनावश्यक कर हटाऊ, उद्योग, व्यवसाय चलाउने वातावरण बनाऊ, दल तन्त्रको अन्त्य गरौँ, जनताको लोकतन्त्र बहाली गरौँ, लुटेरा सरकार मुर्दावाद,आम जनता पार्टी जिन्दाबाद, कर आतंक बन्द गर लगायतका प्लेकार्ड बोकेर प्रदर्शनकारीले प्रदर्शन गरेका छन्। 

आजपाका वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सभासद तिलक थापाले तीनै तहको सरकारले मनपरी कर वृद्धि गर्दै आम जनताको ढाड भाँच्ने र लुट मचाउदै राज्यको ढुकुटी लुटिरहेकाले आजपा सडकमा उत्रिनुपरेको बताए।

सरकार कुम्भकर्ण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको बारेमा जानकारी गराउनका लागि पार्टीले काठमाडौँ सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गरेको उनले बताए। मुलुकमा भ्रष्टाचार कुशासन, अनियमितता बढ्दै गइरहेको बताउँदै उनले सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेर राज्यको ढुकुटी लुटेको आरोप उनले लगाए।

‘तिनै तहको सरकारले मनोमानी कर लगाउने र आम जनतालाई लुट्ने अहिले प्रतिस्पर्धा चलेको छ।यहाँको उद्योग, व्यापार चौपट छ। तर सरकार करमाथि कर लगाउने र जनतालाई लुट्ने बाहेक अरु केही देख्दैन’

आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘प्रधानमन्त्री भ्रष्टाचार शून्य, सुशासनको कुरा गर्नुहुन्छ तर यहाँ भ्रष्टाचार बढ्दै गइरहेको छ। कुशासन छ, करमाथि कर छ । जनता मारमा परेका छन्, व्यापारीले आफ्नो व्यापार बन्द गर्दैछन्। युवा रोजगारका लागि खाडी मुलुक जान बाध्य छन्, यहाँ रोजगार छैन्। तपाई नै भन्नुस् यो सरकारको के काम रु जनताको हुन नसकेको यो सरकारको अन्त्य हुन आवश्यक छ।’

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, मनोमानी कर, महँगी, बेरोजगारी, वैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आवाज उठाउँदै आएको छ। मुलुकमा बढ्दै गइरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महँगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ।

सोही विषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा भ्रष्टाचार विरुद्ध मधेस यात्रा सुरु गरेको आजपा स्थायी कमिटीका सदस्य रवीन्द्र सिंहले जनाएका छन्।

प्रकाशित: १ मंसिर २०८१ १५:१९ शनिबार